नेकपा (एमाले) को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र सदस्यहरूबीच सवालजवाफ चल्ने गर्छ। पार्टीका कतिपय निर्णय भइसकेपछि मात्रै पदाधिकारीलाई थाहा हुने गरेको भन्दै सदस्यहरूले असन्तोष पोख्छन्।
आइतबार पनि सचिवालय सदस्यहरूले अध्यक्ष ओलीमाथि असन्तोष पोखे भने अध्यक्ष ओलीले स्वाभाविक विषयलाई कतिपय पदाधिकारीले अनुचित ढंगले सार्वजनिकरूमा टिप्पणी गरेको बताएका थिए।
पदाधिकारीले पनि पार्टी निर्णय भइसकेपछि थाहा पाउने अवस्था रहेको भन्दै नेतृत्वतिरै प्रश्न तेर्स्याएका थिए।
प्रसंग थियो, केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी एमालेकै सांसद विद्या भट्टराईको।
शिक्षा मन्त्री भट्टराईले गत वैशाख ८ गते पदबाट राजीनामा दिएकी थिइन्। उनले स्वास्थ्यको कारण राजीनामा दिएको बताए पनि एमाले नेताहरू त्यसलाई मान्न तयार थिएनन्। प्रधानमन्त्री ओलीको सुरूदेखि असहयोग र अविश्वासको साक्षी बसेका उनीहरूले भट्टराईले स्वास्थ्यकै कारण राजीनामा दिएको भनेर उनीहरूले विश्वास गरून् पनि कसरी!
भट्टराईको ठाउँमा एमाले सांसद रघुजी पन्त शिक्षा मन्त्री भइसकेका छन्। तर एमालेभित्रको बहस अझै सकिएको छैन।
आइतबारको सचिवालय बैठकमा पनि यसबारे कुरा उठेको एक पदाधिकारीले बताए।
बैठकमा अध्यक्ष ओलीले विद्या भट्टराईले आफै शिक्षा मन्त्रीबाट राजीनामा दिएको तर पार्टी जिम्मेवार नेताले प्रधानमन्त्री ओलीले असहयोग गरेको भन्ने ढंगले अभिव्यक्ति दिएको बताएका थिए।
अध्यक्ष ओलीको यो अभिव्यक्ति उपाध्यक्ष अष्टलक्ष्मी शाक्यतर्फ लक्षित थियो।
‘विद्या भट्टराईलाई मैले नै मन्त्री बनाएको हुँ। असहयोग गर्ने भए त बनाउने नै थिइनँ। उहाँले राम्रै काम गरिरहनुभएको हो। शिक्षकहरूसँग राम्रै संवाद अघि बढाउनुभएको थियो। उहाँले गरेकै छलफलको जगमा अस्ति सहमति भएको हो, उहाँले किन राजीनामा दिनुभयो थाहा भएन। तर पार्टीकै जिम्मेवार साथीले प्रधानमन्त्रीले सहयोग गरेन भनेर प्रचार गर्नुभयो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीसँग भने।
अध्यक्ष ओली भट्टराईप्रति लक्ष्य गर्दै उनको योग्यतामाथि पनि प्रश्न उठाउने गरी अभिव्यक्ति दिएका थिए। ‘उहाँको सांसद मात्रै बन्ने योग्यता रहेछ, मैले मन्त्री बनाएँ,’ भट्टराईप्रति लक्ष्य गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले टिप्पणी गरे।
भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट उपाध्यक्ष शाक्यले विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो भन्दै प्रश्न गरेकी थिइन्।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो? विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन? कमरेड विद्याको राजिनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ।कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैं प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी थिइन्।
उनको स्ट्याटसलाई लिएर पार्टी अध्यक्ष ओली क्षुब्ध बनेपछि शाक्यले अहिले त्यो स्ट्याटस हटाएकी छिन्।
अध्यक्ष ओलीले यसरबारे केरकार गर्न भने छाडेका छैनन्।
आइतबारको सचिवालयमा पनि पार्टी नेतृत्वविरूद्ध सार्वजनिक टिप्पणी गरेको बताएपछि शाक्यले उनीसँग सवालजवाफ गरेकी थिइन्।
शाक्यले बैठकमा पार्टी अध्यक्षले पदाधिकारीसँग भेट बढाउनुपर्ने भन्दै टिप्पणी गरेकी थिइन्।
‘अध्यक्षले पदाधिकारीलाई भेट्नुपर्छ। पदाधिकारीसँग पनि परामर्श गर्नुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘पार्टीका कतिपय निर्णय पदाधिकारीलाई थाहा हुँदैन। सूचनाकै अभाव छ। त्यसपछि सार्वजनिक टिप्पणी भइहाल्छ नि!’
यसअघि संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री ओलीले विद्या भट्टराईको राजीनामाबारे नेतृत्वलाई जोडेर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका थिए।
यो पनि:
अष्टलक्ष्मीको प्रश्न– सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले राजीनामा दिनुपरेको हो?
शिक्षक आन्दोलन चर्किरहेका बेला यसकारण दिइन् शिक्षा मन्त्री भट्टराईले राजीनामा