नेकपा (एमाले) अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन्।
अछाम जिल्लाको नवौं अधिवेशनले उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको एमालेले जानकारी दिएको छ।
नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य थिए।
नवौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्ड्य भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही चयन भएका छन्। जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवातर्फ दसवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना चुनिएका छन्।
त्यस्तै समावेशीतर्फ दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपांगताबाट ११ जना जिल्ला कमिटी सदस्यमा चुनिएका छन्।
एमाले अछामको नवौं जिल्ला अधिवेशनको उद्घाटन शनिबार प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका थिए।