सन् २०१२ को हिउँदमा झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट काठमाडौंतिर लाग्दा अशोक गुरूङले सोचेका थिए — अब शिविरे जिन्दगी सकियो!
अशोक आफ्नो परिवारसँग केही दिनमै अमेरिका उड्दै थिए। धेरैले परिवारका साथमा उड्ने मौका नपाएको त्यो बेला अशोक भने भाग्यमानी साबित भए।
सानै छँदा आमाबाबु बितेकाले दुई दाजु र तीन दिदीको संरक्षणमा हुर्किएका थिए उनी। एक जना दिदीको भारतमा बिहे भएको थियो। उनीबाहेक बाँकी सबै जना तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका जाँदै थिए।
नेपालदेखि अमेरिकाको जर्जियासम्मको यात्रामा उनका दाजु र दिदीहरू बारम्बार आशावादी कुरा गर्थे।
'हामीलाई अब चाहिँ दुःखका दिन सकिएला कि भन्ने ठूलो आस थियो,' अशोकले सम्झिए, 'अमेरिका कल्पना गर्दा नै मज्जा आउने नाम थियो। म सपरिवार संसारको शक्तिशाली देश जान पाउँदै थिएँ।'
मन–मस्तिष्कभरि यस्तो आशा बोकेर 'सपनाको देश' उडेको १३ वर्षपछि अशोक फेरि बेलडाँगीको उही शरणार्थी शिविर आइपुगेका छन्।
यसपटक शिविर आइपुग्दा उनी दुई–दुईवटा देशबाट डिपोर्टमा परे। पहिले अमेरिकाले डिपोर्ट गरेर भुटान पठायो। त्यसपछि भुटानले पनि फकाउँदै र धम्क्याउँदै नेपाल पठाइदियो।
अशोकको जन्म ३३ वर्षअघि तिमाइ शरणार्थी शिविरमा भएको थियो। उनी त्यहीँको स्कुलमा तीन कक्षासम्म पढे। त्यसपछि पढाइ छाडेर मजदुरी गर्न थाले। मिस्त्री–मजदुरी गर्दा गर्दै अमेरिका उड्न पाएका उनी यसपटक भने त्यही मजदुरी पनि गर्न नपाउने अवस्थामा शिविर आइपुगेका छन्।
अमेरिकाले डिपोर्ट गरेर भुटान पठाउने भनेपछि उनी आफ्नो मातृभूमि भुटानमै बस्न पाइने भयो भनेर खुसी भएका थिए। तर पारो विमानस्थलमा ओर्लिएको केही बेरपछि नै भुटानका सुरक्षा अधिकारीहरूले उनलाई त्यहाँबाट लखेट्ने चाँजो मिलाउन थाले।
तीन दशकअघि उनका आमाबुबा र दाइ–दिदीहरूलाई पनि भुटान सरकारले रातारात लखेटेर नेपाल पठाइदिएको थियो। यसपटक उनले भने भुटानबाट निकालिँदा राम्रो खातिरदारी र बाटोखर्चसमेत पाए।
भारतको सिलिगुढीमा ल्याएर भुटानी पक्षले छाडिदिएपछि उनी प्रहरीको आँखा छल्दै र जोगिँदै बेलडाँगी पुग्ने हतारोमा थिए। त्यसका लागि काकडभिट्टा नाकाभन्दा १३ किलोमिटर उत्तरको बाहुनडाँगीबाट मेची तरे।
उनीसँगै डिपोर्टमा परेका अरू तीन जना शिविरबाट त्यसअघि नै पक्राउ परिसकेका थिए। फोन र अन्य सूचना संयन्त्रबाट टाढा अशोकले यो कुरा थाहा पाउन सकेनन्। बाहुनडाँगीबाट बेलडाँगी जाँदै गर्दा उनलाई प्रहरीले चैत १९ मा बाटैमा समात्यो। त्यसपछि २५ दिन लामो थुना बसाइपछि शुक्रबार उनी फेरि शिविर आइपुगेका हुन्।
बिहीबार मात्रै सर्वोच्च अदालतले उनीसहितका चार जना शरणार्थीलाई स्थानहद तोकेर बेलडाँगी शिविर वा उपयुक्त स्थानमा राख्न र ६० दिनभित्र अनुसन्धान सक्न आदेश दिएपछि उनलाई अध्यागमन विभागले शिविरमै छाडेको हो।
अशोक गुरूङअमेरिका जानुअघि शिविरमा उनीसँग आफ्नै छाप्रो थियो। छाप्रोमा दाइ, दिदी र तिनका सन्तान थिए। शिविरभित्रको सीमिततामा कैद जिन्दगी अमेरिकाजस्तो फराकिलो सपना देख्न सकिने ठाउँमा पुगेको थियो। नियतिले फर्काएर त्यही शिविरमा ल्याइपुर्याउँदा अशोकसँग न आफ्नो छाप्रो छ, न कोही आफन्त। आफै हुर्के–बढेको शिविर उनलाई बिरानो लाग्दैछ।
उनले आफूसँगै अमेरिकाबाट डिपोर्ट भएर आएका आशिष सुवेदीका बुबा नारायणकुमार सुवेदीको छाप्रोमा आश्रय पाएका छन्। नेपाल सरकारले उनलाई दमक नगरपालिका क्षेत्रभन्दा बाहिर नजान स्थानहद तोकिदिएको छ।
आइतबार दिउँसो नारायणको छाप्रोमा सेतोपाटीसँग कुरा गर्दै अशोकले आफू डिपोर्टमा पर्नुको कारण बताए। अमेरिकादेखि भुटान हुँदै फेरि शिविरसम्मको यात्रा वर्णन सुनाए। अनि अबको ६० दिनपछि आफ्नो अवस्था के होला भन्ने चिन्ता पनि प्रकट गरे।
'खै कतैबाट पनि आशा लाग्ने कुरा होला जस्तो छैन,' कम बोल्ने स्वभावका उनी मसिनो स्वरमा भन्दै थिए, 'अब अमेरिकाले लिँदैन, पक्का हो। भुटानले पनि लिने भए किन पठाउँथ्यो यता। यही शिविरमै भए पनि बस्न पाऊँ भन्ने आशा छ। हेरौं, के हुन्छ?'
'भुटानसँग त यसै पनि आशा कम नै थियो तर अमेरिकाले डिपोर्ट गर्ला भनेर सोचेको थिइनँ,' उनले अगाडि भने, 'जे अभियोगमा मलाई देश निकाला गरियो, त्यो अभियोगमा मैले अदालतले तोकेको जेल सजाय पूरा गरिसकेको थिएँ। तैपनि डिपोर्ट गर्यो। अब अमेरिकासँग कसले बोल्न सक्छ र!'
सन् २०१३ को एउटा घटनाले उनलाई साढे चार वर्ष अमेरिकी जेलमा थुनिन बाध्य पारेको थियो।
त्यसअघि उनी कहिले कुखुराको मासु पसलमा त कहिले पाउरोटी पसलमा काम गर्दै जीविका चलाइरहेका थिए। त्यसै क्रममा उनी र उनका साथीहरूको समूहसँग बर्मिज (बर्माका नागरिक) हरूको झगडा पर्यो। उनको एक जना साथीले एक बर्मिजमाथि धारिलो हतियार प्रहार गर्यो। बर्मिजलाई सामान्य चोट लाग्यो। लगत्तै उनीहरू पक्राउ परे।
केही समय अदालती प्रक्रिया चल्यो। सन् २०१३ को सुरूदेखि २०१७ अन्त्यसम्मै उनले जेलमा बिताए। जेलबाट निस्केर फेरि पुरानै काममा जोडिएका थिए। दाइ र दिदीहरूकहाँ पालो गर्दै बस्थे।
अदालतले तोकेको जेल सजाय काटेर निस्केको आठ वर्षपछि घरैमा सुतिरहेका बेला अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको उनी बताउँछन्।
'२०२५ मार्चमा (दिन सम्झना भएन) पेन्सिलभेनियामा रहेको दिदीको घरमा सुतिरहेका बेला पुलिस मलाई लिन आइपुग्यो,' उनले भने, 'मलाई पुलिसले नै अब तिमी डिपोर्टमा पर्दैछौ भनेको थियो।'
उनले सोधेका थिए, 'किन डिपोर्ट गर्न लागेको?'
अमेरिकी प्रहरीको जबाफ थियो, 'तिम्रो त्यही पुरानो केसका कारण।'
बर्मेलीसँगको झगडामा संलग्न उनका अरू तीन जना भुटानी शरणार्थी साथी पनि थिए। धारिलो हतियार प्रहार गर्ने व्यक्ति पनि भुटानी शरणार्थी नै थिए। ती तीनै जना डिपोर्टमा परेनन्। अशोक एक्लै परे।
'ती सबै साथी अमेरिकाको नागरिक भइसकेका थिए, मसँग ग्रिन कार्ड मात्र थियो,' प्रहरीको भनाइ उद्धृत गर्दै उनले भने, 'तिम्रा साथीहरू यहाँको नागरिक भइसकेकाले जोगिए। तिमी नागरिक भएका छैनौं, त्यसैले डिपोर्टमा पर्यौ।'
यो सुनेर अशोक छाँगाबाट खसेजस्तै भए। दिदीहरू रून थाले।
उनलाई पेन्सिलभेनियाबाट एरिजोना लगेर अध्यागमनको हिरासतमा राखियो। त्यसको महिना दिनपछि भुटान पठाउने भन्दै एयरपोर्ट लगियो।
'अमेरिकाले भुटान पठाउने भनेपछि मेरो मनमा त्यहीँ बस्न पाइएला भन्ने आशा पलाएको थियो। आमाबुबा जन्मेको देशमा बस्न पाए त राम्रो भयो भनेर मन दह्रो बनाएको थिएँ,' उनले भने, 'तर अमेरिकाबाट दिल्ली हुँदै भुटान पुगेपछि त्यो आशा पनि सकियो।'
उनका अनुसार भुटानी सुरक्षा अधिकारीहरूले एक एक जनासँग अलग अलग कुरा गर्दै विभिन्न विषयमा सोधखोज गरेका थिए।
'पहिला परिवारका बारेमा सोधे। मेरो आफ्नै बारेमा भने धेरै सोधेनन्,' उनले भने, 'अमेरिकाले भुटानलाई पहिल्यै सबै कागज पठाइसकेको रहेछ। झगडा गरेको पुरानो केसले डिपोर्ट भएछौ भनेर भुटानीहरूले भने।'
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको एक छाप्रो। तस्बिर: राजु अधिकारी/सेतोपाटीउनका अनुसार भुटानी अधिकारीहरू अंग्रेजीमा मात्र बोल्थे। उनीहरूले सोधे, 'तिमीलाई जोङ्खा भाषा आउँछ?'
'आउँदैन,' अशोकले जबाफ दिए।
त्यसपछि भुटानी अधिकारीहरूले जे भने, त्यसले अशोकलाई अचम्भित तुल्यायो।
भुटानी अधिकारीहरू नेपालले तिमीलाई नागरिकता दिनसक्छ भनेर ग्यारेन्टी गर्दै थिए। भुटान प्रहरीको भनाइ उद्धृत गर्दै अशोकले भने, 'तिमीलाई यहाँको भाषा आउँदैन। यहाँ तिम्रो आफन्त कोही छैन। बरू तिम्रा आफन्त नेपालमा हुनसक्छन्। त्यहाँ केही वर्ष बस्यौ भने नागरिकता पनि पाउन सक्छौ। भुटानमै बस्नुपर्यो भने त फेरि जेलमै बस्नुपर्ने हुनसक्छ। नेपाल गयौ भने जेल बस्नुपर्दैन। नेपाल जाँदा बरू हामी तिमीलाई खर्च पनि दिन्छौं।'
अशोकको जस्तै अनुभव आशिष सुवेदीको पनि छ।
यौन हिंसाको आरोपी भएर अदालतले तोकेको दुई वर्ष सजाय काटिसकेपछि उनी डिपोर्टमा परेका हुन्। उनीसँगै भुटान ल्याइएका शरणार्थी १० जना थिए। साथमा अमेरिकी अध्यागमनका १८ जना कर्मचारी थिए।
'उनीहरूले हामीलाई दिल्लीमै भुटानको कर्मचारीलाई बुझाएका थिए। तैपनि उनीहरू पारोसम्म हामीसँगै आए र त्यही जहाजमा दिल्ली फर्किए,' आशिषले भने, 'जहाजमा अरू पनि धेरै यात्रु थिए। उनीहरू सबैलाई ओरालेपछि अन्तिममा हामीलाई ओराले। अनि सिधै बस चढाएर लगे।'
केही बेरअघिसम्म भुटानमा बस्न पाइने आशामा रहेका शरणार्थी त्यसपछि एकाएक आत्तिन थाले। विमानस्थलबाट कसैसँग सम्पर्क हुन नदिई अलग्गै बसमा राखेर दौडाएपछि उनीहरू अब यहाँ पनि थुनिनुपर्ला भन्ने पीरमा परेका थिए।
आशिषले भुटान पुगेपछिको क्षण सम्झिँदै भने, 'भुटान प्रहरीले हामीलाई पारोको एउटा होटलमा पुर्यायो। होटलकै कोठामा सबैलाई एक्ला एक्लै राख्यो।'
भुटानबाट परिवारै लखेटिँदा दुई वर्षका उनी अहिले ३६ वर्ष भइसकेका छन्। नेपालमा हुँदा यातायात मजदुर थिए। अमेरिका पुगेर मासु सप्लाईको काम गरे। सुरूमा नेब्रास्का बसे र परिवारका (बुबाबाहेकका) अरू सदस्य पनि अमेरिका आएपछि सँगसँगै बस्न कहिले ओहायो, कहिले बाल्टिमोर गरिरहे।
पक्राउ परेर डिपोर्ट हुने बेला उनी ओहायोको जेलमै थिए।
बेलडाँगी शिविरमा कक्षा ७ सम्म पढेर छाडेका आशिष २०२४ अगष्ट १७ मा जेलबाट छुट्ने तयारी थियो। त्यसको दुई दिनअघि अगष्ट १५ मै उनलाई जेलबाट उठाइयो र डेढ महिना थुनियो। त्यसपछि अदालतमा पेस गर्दा भुटान वा नेपालमध्ये एकतिर डिपोर्ट गर्न आदेश दिइयो।
'त्यति हुँदासम्म पनि मलाई डिपोर्टबारे पुनर्विचार हुने आशा थियो। मैले आफूमाथि लागेको अभियोगमा सजाय काटिसकेको थिएँ। सबैले डिपोर्ट हुन्न नै भन्थे,' उनले भने, 'रिभ्यूका लागि भन्दै ९०–९० दिन गरेर १८० दिन त अदालतको आदेशपछि नै थुनिसकेको थियो। त्यसैले डिपोर्ट नहोला भन्ने आशा थियो।'
तर अध्यागमनको थुनामै रहेका बेला उनलाई खबर आयो — सामान प्याक गर्नू, अब डिपोर्टको बेला भयो।
उनलाई त्यहाँबाट न्यू जर्सी लगियो। अरू नौ जनासँग त्यहीँ भेट भयो।
डिपोर्ट हुनुअघि उनले प्रहरीसँग अनुरोध गरे, 'मेरो तीन वर्षकी छोरी छ। श्रीमती छ। नभेटेको धेरै भयो। श्रीमती पनि काम नपाएर हैरानीमा छिन् भन्ने सुनेको छु। कृपया श्रीमती र छोरीलाई भिडिओ कल गराइदिनुस्।'
केही बेरको अनुरोधपछि प्रहरीले उनलाई श्रीमतीसँग कुरा गराइदियो। उनले आफू डिपोर्टमा पर्न लागेको तर कहाँ भन्ने थाहा नभएको सुनाए।
श्रीमती डाँको छाडेर रून थालिन्। तीन वर्षकी छोरी हेरेको हेर्यै भइन्।
'म केही बोल्नै सकिनँ,' बेलडाँगीमा पनि अवरूद्ध गलामा उनले सुनाए, 'श्रीमती, छोरी र आन्टी (सानीआमा) सँग छुटेर यता आइपुगियो।'
आशिषका अनुसार भुटानी अधिकारीहरूले उनलाई पनि भुटानमा नराख्ने, नेपाल पठाउने बताएका थिए।
'हामीसँग भएका अलिअलि पैसा र कागजात सबै भुटानीले लिएका थिए,' उनले भने, 'बिहानको खाजा, खाना खुवाए। बेलुकाको खाना खुवाएर एक रात होटलमै राखे। भोलिपल्ट सुरूमा १० र पछि २० हजार भारू दिएर नेपालतिर पठाइदिए। पानीट्यांकीमा दलाललाई २२ हजार ५ सय रूपैयाँ बुझाएर नेपाल आयौं। शिविरमा आएको भोलिपल्ट बिहान पक्राउ परिहाल्यौं।'
अशोक र आशिषका अनुसार भुटानमा बस्ने भए जेलमा बिताउनुपर्ने नरम भाषाको धम्कीले उनीहरूलाई त्रस्त पारेको थियो। त्यसैले जतिसक्दो छिटो नेपाल जान पाऊँ भन्ने हतारोमा भएको उनीहरूले बताए।
आशिष सुवेदी र उनका बुबा नारायणकुमार सुवेदी।यसरी फेरि एकपटक देशविहीन बनेका यी दुई युवा अब के होला भन्ने चिन्ताले सताइएका छन्।
'अब अमेरिकाले लिँदैन होला, भुटान त जान दिए पनि नजाने,' दुवैको एकै स्वर छ, 'कम्तिमा नेपाल सरकारले शरणार्थीको परिचय दिएर यतै गरिखान पाउने वातावरण मिलाइदिए हुन्थ्यो।'
आशिषको त सानोतिनो व्यापार गर्ने बुबा नारायणकुमार सुवेदी शिविरमै छन्। उनले नै सर्वोच्च अदालतमा मुद्दा हालेर चारै जना शरणार्थीलाई जेलमुक्त तुल्याएका हुन्। अशोक पनि नारायणकै जिम्मामा छन्। नारायण आफै पनि १० वर्षदेखि शिविरमा एक्लै जीवन बिताइरहेका छन्। त्यसमाथि ट्रम्पले फिर्ता पठाइदिएका छोरा र अशोकको दायित्व उनको काँधमा आएको छ।
'अब यिनीहरूलाई शरणार्थीको परिचय दिएर यतै केही गरिखाने बाटो दिनुपर्यो हजुर नेपालले,' आशिषका बुबा नारायणले भने, 'नत्र त देशबिनाको मान्छे भएर छोराहरूको जीवन जाने भयो।'
सुवेदीको छाप्रोमा आश्रय लिएर बसेका अशोक अमेरिकामा बर्मेलीसँग भएको त्यो झगडा सम्झिरहेका छन्।
'मैले झगडामा मिसिएर गल्ती गरेकै हो तर सजाय पनि त काटेको थिएँ नि,' उनी अमेरिकातिर प्रश्न सोझ्याउँछन्, 'डिपोर्ट गरेपछि त ममाथि झनै ठूलो सजाय थोपरियो। परिवार उता, म एक्लै यता। के भन्नू र!'
***
यी पनि पढ्नुहोस्: