राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग केही समयदेखि सम्बन्ध चिसिएकी सुमना श्रेष्ठले अन्तत: सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुअघि नै श्रेष्ठले राजीनामा दिएकी थिइन्। तर यो कुरा बाहिर आएको थिएन।
उनले सभापति लामिछानेलाई नै सम्बोधन गरेर राजीनामा दिँदै स्वीकृतिका लागि आग्रहसमेत गरेकी थिइन्। तर पार्टीले चैत २३ गतेदेखि चितवनबाट 'जनयात्रा' सुरू गर्न लागेको र त्यसअघि राजीनामाले पार्टी र कार्यकर्तामा राम्रो सन्देश नजाने भन्दै थमौती गरेको थियो।
तथापि सुमना भने राजीनामाकै अडानमा थिइन्। उनको राजीनामाबारे बिहीबार मात्र समाचारहरू आए।
यसबारे बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै सुमनाले रिफर्मका लागि आफूले राजीनामा दिएको बताइन्। उनले आफूले केही समयअघि नै राजीनामा दिएको र गलत समयमा बाहिर ल्याइएको पनि प्रतिक्रिया दिइन्।
उनले केन्द्रीय समितिको बैठकअगाडि 'मिडिया ट्रायल' गर्ने नियतका साथ राजीनामा र त्यसका अन्तरवस्तु बाहिर ल्याइएको पनि बताइन्।
‘सभापति रवि लामिछानसँग कुरा गरेर मैले उहाँलाई नै राजीनामा बुझाएको हो, स्वीकृत गर्नु भनेको थिएँ, स्वीकृत गरिएन तर अहिले मिडिया ट्रायल गर्ने हिसाबले बाहिर ल्याइयो। आज केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ छलफल गर्छु,’ सुमनाले राजीनामाको अन्तरवस्तुबारे बताउँदै भनिन्, ‘यो पार्टी रिफर्मका लागि हो, सभापतिले पनि रिफर्मको कुरा गर्नुभएको थियो। मेरो मूल्य मान्यतामाथिको विश्वासका आधारमा नयाँ अधिवेशनको मिति तोकेपछि ठाउँ खुला छ भनेर मानिसहरूलाई अग्रसर बनाउन हो।’
आफ्नो राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुनै बाँकी रहेकोले यतिन्जेल सार्वजनिक नगरिएको उनको भनाइ छ।
‘यो प्रस्ताव केन्द्रीय समितिमा छलफल भएको छैन। गलत समयमा सार्वजनिक गरिएको छ। मिडिया ट्रायल गरिएको छ। मैले पार्टीमा पनि उही मान्छे हाबी हुने र सदनमा पनि उही मान्छे हुने भएकाले दलहरूले काम सही ढंगले गर्न सकेनन् जसका कारण बजेटको वितरण पनि त्यहीअनुसार निर्वाचन क्षेत्र केन्द्रित भयो भन्ने मेरो विश्लेषण हो। मैले पार्टीको राष्ट्रिय भेलामा पनि पुस्तान्तरणको प्रस्ताव गरेको थिएँ। तर पार्टीमा विभिन्न कानुनी चुनौतीहरू आइपरे। पार्टी हाम्रो यथास्थितिमा गयो, त्यसैले नेतृत्व विकास गर्नपर्ने भएको छ। त्यसका लागि जे चाहिन्छ गर्नुपर्यो,’ उनले भनिन्।
सभापति रवि लामिछानेले पनि आफ्नो धारणामा सहमत हुँदै पार्टी ‘रिसफल गरौं’ भनेको उनले बताइन्।
‘तर जसरी रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरियो, त्यो हामीले अनुमान गरेका थिएनौं। हामीले जनयात्रामा जाने लगायतका योजना बनाएका थियौ,’ उनले भनिन्।
सुमनाले यसो भने पनि उनको सम्बन्ध भने सभापति लामिछानेसँग चिसिएको घटनाक्रमहरूले देखाउँछ। यो श्रृंखला बुझ्न रवि लामिछाने पक्राउकै समयतिर पुग्नुपर्छ। गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछाने पक्राउ परेका थिए। च:मतिस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई कास्की लगिएको थियो।
पक्राउ पर्नुअघि नै रास्वपाले सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध गरेको थियो र आन्दोलनमा जाने संकेत देखाइसकेको थियो।
पक्राउ पर्दा पनि पार्टी कार्यालयमा रास्पपाले पार्टी नेता कार्यकर्तालाई जम्मा हुन भनेको थियो। भोलिपल्टदेखि रास्वपाले पोखराकेन्द्रित आन्दोलन सुरू गर्यो। यसरी आन्दोलन गर्न हुँदैन भन्ने पक्षमा सहमहामन्त्री सुमनासहित केही केन्द्रीय सदस्यहरू पनि थिए। तर पार्टी आन्दोलनमा सक्रिय भइसकेकोले उनीहरूको आवाज सुनिएन।
सभापति लामिछानेमाथिको अनुसन्धान प्रहरीले फराकिलो बनाउँदै लग्यो। कास्कीबाहेक अन्यत्र पनि मुद्दा दर्ता हुन थाले। त्यसपछि रास्वपाको पोखराकेन्द्रित आन्दोलन क्रमश: शिथिल हुँदै गयो। त्यसपछि रास्वपाले काठमाडौंकेन्द्रित आन्दोलनको तयारी गर्यो।
गत कात्तिक २५ गते पार्टी केन्द्रीय कार्यालय च:मतिमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले केन्द्रीय समिति बैठक राखेका थिए। केन्द्रीय समिति बैठक चलिरहेको थियो, कार्यालयभित्रै शम्भु सुस्केरालगायत पाँच जनाले धर्ना सुरू गरे।
सभापति रवि लामिछानेको रिहाइको लागि देशभर आन्दोलन गर्नुपर्ने उनीहरूको माग थियो। उनीहरूले आफ्नै नेताहरूलाई ‘कि संकटमा पार्टी सम्हाल कि ठाउँ छोड’ भनेर धर्ना दिएका थिए।
पार्टीका केन्द्रीय सदस्यहरू सम्मिलित सामाजिक सञ्जालको एक ग्रुपमा सहमहामन्त्री सुमना श्रेष्ठले धर्ना कसले गराएको हो भन्नेबारे पछि खुल्दै जाने बताएकी थिइन्।
‘पहिलो पटक हाम्रो पार्टीमा भएको आन्दोलन समानुपातिकका बेला थियो, त्यो आन्दोलनका बारेमा कोशीका महामन्त्री लालबहादुरजीले भनिसक्नुभयो। त्यो तत्कालीन महामन्त्री मुकुल ढकालबाट संयोजन भएको थियो, आज पनि आन्दोलन भयो, आजको आन्दोलन कसले गराएको हो? केही दिन-महिनापछि थाहा पाइन्छ नै कसले गराएको,’ सुमनाले उक्त ग्रुपमा त्यतिबेला भनेकी थिइन्।
उनले जुन प्रकारले संस्थामाथि व्यक्ति हाबी छ भनेर जताउन खोजिएको छ त्यो स्वीकार्य नभएको बताएकी थिइन्।
‘व्यक्ति जोगाउने भन्दै संस्थालाई कमजोर बनाउँदा व्यक्ति जोगिँदैन र संस्था पनि रहँदैन। हाम्रो मूल्यप्रणाली नै यसले प्रहार गरेर झन् कमजोर बनायो। अहिले सबै एकठाउँमा उभिने समय हो। जनताले रास्वपामाथि ठूलो आशा गरेको छ। हामी रहुँला नरहुँला तर यो पार्टी, यो अभियान भविष्यका लागि पनि रहनुपर्छ,’ उनले भनेकी थिइन्।
पोखराकेन्द्रित आन्दोलनमा सुरूमा सहमहामन्त्री सुमना पनि सामेल भएकी थिइन्।
तर आन्दोलनलाई देशव्यापी बनाउने विषयमा उनले असहमति नै राखेको एक नेताले बताए। त्यसबेला सभापति लामिछाानेमाथि अनुसन्धान भइरहेकै बेला आन्दोलन गर्नु हुन्छ कि हुन्न भन्नेमा पार्टीभित्र फरक-फरक मत थियो। सांसद शिशिर खनालले पनि देशव्यापी आन्दोलन गर्न नहुने मत राखेका थिए।
सभापति लामिछानेले भने पार्टीले त्यो आन्दोलनलाई निरन्तरता दिँदै देशव्यापी बनाओस् भन्ने चाहन्थे। आफूनिकट नेताहरूलाई लामिछानेले त्यसको निर्देशन पनि दिएका थिए।
पार्टीका बैठकहरूमा आन्दोलनलाई देशव्यापी बनाउनुपर्ने कुरा सभापति रविनिकट नेताहरूले राख्दै आएका थिए। बैठकहरूमा मतान्तर बढ्दै गएको अवस्थामा सभापति छुटाउन पार्टीले देशव्यापी आन्दोलनको निर्णय लिने हो भने आफूले लिखित रूपमै फरक मत राख्ने सुमनाको अडान थियो। सुमनाको यस्तो अडानले रास्वपा पनि देशव्यापी आन्दोलनको निर्णय गर्नबाट पछि हट्यो।
यसबीचमा कास्की, काठमाडौं, रूपन्देही, चितवन अदालतले सभापति लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए। लामिछाने माघ २ गते रिहा भएका थिए। त्यसपछि पनि उनी बेलाबेला अदालतमा तारेख धाउने र जिल्ला अदालतहरूका आदेशविरूद्ध पुनरावेदन गरिरहेका थिए भने पार्टीका नियमित गतिविधिमा फर्केका थिएनन्।
सभापति लामिछाने रिहा भए पनि सहमहामन्त्री सुमनासँगको उनको सम्बन्ध भने न्यानो हुन सकेको थिएन। कतिपय घटनाक्रमले उनीहरूबीचको सम्बन्ध थप चिसिएको देखाउँछ। पार्टी सभापतिबारे सुमना श्रेष्ठले गरेका कतिपय टिप्पणीले पनि यो झल्काउँछ।
फागुन २७ गते प्याराडाइम टिभीसँगको अन्तर्वार्तामा नेताहरूबारे फोटो देखाउँदै सोधिएको थियो। सभापति रवि लामिछानेको फोटो ल्याप्टपको स्क्रिनमा देखाउँदा सुमनाले पास भनेकी थिइन्। यतिमात्र होइन, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फोटो देखाउँदा पनि उनले सो भागभङ्गीमा पास नै भनिन्।
फागुन २७ गते प्याराडाइम टिभीसँगको अन्तर्वार्तामा सञ्चारकर्मीले नेताहरूको फोटो देखाउँदै उनीहरू कस्तो लाग्छ भनेर सोधेका थिए।
फोटो देखाउने क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाबारे सोधिएको थियो। उनले ‘पास’ भनिन्। अर्थात् कुनै टिप्पणी गर्न चाहिनन्। लगत्तै रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको थियो। उनले त्यही भावभंगिमामा ‘पास’ भनिन्।
तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो स्क्रिनमा देखाउँदा भने उनलाई ‘युवाहरूको आशा’को उपमा दिएकी थिइन्।
रवि लामिछानेलाई पास भनेकोप्रति रविनिकट रास्वपाका केही नेताहरूलाई निको लागेन। उनीहरूले सार्वजनिक रूपमै यसको आलोचना गरेका थिए।
आफ्नो भनाइलाई पुष्टि गर्ने गरी सुमनाले आफू नेता र पार्टीसमेतको झोले नबन्ने टिप्पणी गरिन्। वैशाख ३ गते नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा सुमनाले ‘कोही पनि झोले बन्नु छ भने देशको झोले बन्नुपर्यो। देशको झोले मात्रै बन्ने हो। कोही पनि व्यक्तिको झोले नबन्ने हो,’ उनले भनेकी छन्, ‘पार्टी, मान्छे अरू सबै गौण हुन्। हामीले देशलाई बीचमा राखेर काम गर्यौं भने धेरै कुरा गर्न सक्छौं। अहिलेको हाम्रो लोकतन्त्रको अभ्यासमा लोक त कतै भएन त, नेता मात्रै अगाडि आयो। नेता खुसी छन्, नियुक्ति सियुक्ति सबै त्यो अनुरूप भयो। उसले मन परेको मानिसले टिकट पायो। त्यो नेता बेखुस छ टिकट नपाउने, काम गर्न सक्ने मानिसलाई काम गर्न नदिने हुन्छ,’ भनेकी थिइन्।
उनको यो अभिव्यक्तिले सुमना रास्वपा र सभापति लामिछानेसँग खुसी छैनन् भन्ने देखाउँछ। उनले २०८० मंसिरको जलेश्वर बैठकबाट पार्टी सहमहामन्त्रीको जिम्मेवारी पाएकी थिइन्। त्यतिबेला उनले नेतृत्वलाई खुसी पारेरै सहमहामन्त्री बनेको रास्वपा नेताहरूको दाबी छ। त्यसपछि उनी पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेकी थिइन्। उनकै अभिव्यक्तिलाई आधार मान्ने हो भने शिक्षामन्त्री हुँदा उनीसँग तीन पद थियो, सहमहामन्त्री छाडेकी थिइनन्।
‘शिक्षा मन्त्री हुँदा उहाँसँग तीन वटा पद थियो, एक व्यक्ति एक पद भन्नेले त्यसबेला किन सहमहामन्त्री नछाडेको?,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने, ‘अहिले विधायिकी भूमिकालाई मात्रै बलियो बनाउँछु, एक व्यक्ति एक पद हुनुपर्छ भन्नुको खासै तुक छैन। यसले उहाँको सभापतिसँगको सम्बन्ध राम्रो छैन भन्नेलाई नै झल्काउँछ।’
सुमना श्रेष्ठले राजीनामा पत्रमा ६ सवाल उठाउँदै भनिन्– मेरो कुरा सुनिएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्।
उनले गत चैत १७ गते नै राजीनामा दिए पनि हालसालै सार्वजनिक भएको हो। उनले सभापति रवि लामिछानेलाई नै सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्।
तर चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देही जिल्ला अदालतको आदेश उल्ट्याउँदै सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनको राजीनामा रोकिएको थियो।
बिहीबार बस्ने केन्द्रीय समिति बैठकअगाडि उनले राजीनामा दिएको सार्वजनिक भयो।
रास्वपाको सांसदसमेत रहेकी श्रेष्ठले राजीनामामार्फत् आफ्नो असन्तुष्टि व्यक्त गरेकी छन्।
राजीनामा पत्रमा उनले ६ सवाल उठाएकी छन्।
'मेरो कुरा सुनिएन'
२०८० मंसिरको जलेश्वर बैठकबाट उनी पार्टीको सहमहामन्त्री चुनिएकी थिइन्। पार्टीको महाधिवेशनको मुखैमा उनले पदाधिकारी पद त्याग गरेकी छन्।
पद त्यागको घोषणा गर्दै गर्दा उनले पार्टीमा आफ्नो कुरा सुनुवाइ हुन छाडेको बताएकी छन्।
गत फागुन ४ गते भारतको ओडिसा राज्यस्थित केआइटी विश्वविद्यालयमा अध्ययन नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकी थिइन्।
उनको रहस्यमय मृत्युको छानबिन माग गर्दा नेपाली विद्यार्थीहरूलाई प्रशासनले निलम्बन गर्दै कलेज छाड्न धम्की दिएको थियो।
नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरूद्ध नेपाल सरकारले कुनै कदम नचालेको भन्दै उनले सदन अवरूद्ध गर्न खोजेकी रहिछन्। उनले त्यो कुरा संसदीय दलमा समेत राखेकी रहिछन्।
तर त्यहाँ सुनुवाइ नभएको उनले राजीनामा पत्रमा बताएकी छन्।
‘संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरूद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखेँ,’ उनले भनेकी छन्।
'पार्टीको निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था आयो'
सुमना श्रेष्ठले पार्टीका निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था रहेको बताइन्। पार्टीको बैठक राखौंभन्दा नराख्ने तर निर्णयचाहिँ अरूबाटै थाहा पाउनुपर्ने अवस्था भएकाले सहमहामन्त्री पद निकै हलुका महसुस गरेको राजीनामा पत्रमा टिप्पणी गरेकी छन्।
‘पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ। कैयौं पटक विभिन्न विषयमा बैठक बसौंभन्दा समेत वास्ता गरिएन। यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु,’ उनले भनेकी छन्।
'एक व्यक्ति, एक पद'
उनले आफूमा पद लोलुपता नदेखियोस् भनेर राजीनामा दिएको उल्लेख गरेकी छन्।
पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा भएको उनको तर्क छ।
संघीय सांसद भएर आफूले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जाने र त्यससँग आफ्नो गहिरो विमति रहेको पनि बताएकी छन्।
‘अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,’ उनको भनाइ छ।
त्यस्तै उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्नेसमेत बताएकी छन्।
‘संघीय सांसदले मूलभूत रूपमा पेस भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेस गर्ने, समसामयिक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ। यसबाहेक संसदीय समितिको भूमिका त छँदैछ,’ उनले भनेकी छन्।
उनी प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य पनि हुन्।
उनले पार्टीको सह–महामन्त्रीको रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव नभएकी तर्क गरेकी छन्।
‘यी दुवै पूर्णकालीन पद हुन्। दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउँछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सहमहामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ,’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।
'पार्टीमाथि जनताको ठूलो आस, डेलिभरी दिने क्षमता शून्य'
उनले राजीनामा पत्रमा पार्टीमाथि जनताको ठूलो आस रहेको तर डेलिभरी दिने क्षमता शून्य भएको तर्क गरेकी छन्।
जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो, त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले ठूलो आशा राखेको उनले बताएकी छन्।
‘मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ। तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासोसँग मिश्रित छ,’ उनले भनिन्।
'सहकारी ठगीको लेबल चिर्न सकेनौं'
राजीनामा पत्रमा सुमना श्रेष्ठले पार्टीमाथि लागेको सहकारी ठगीको लेबल चिर्न नसकेको बताएकी छन्।
‘पुराना दलले रास्वपालाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारा मात्र अघि बढायौं,’ उनले भनेकी छन्।
पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले उक्त काम सुरू नगरेको उनको गुनासो छ।
‘यसबाट स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याई छ,’ उनले भनेकी छन्।
'धेरै कर्मकाण्डी प्रक्रिया'
बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिनेभन्दा बढी महत्व दिइएको उनले महसुस गरेकी छन्।
यस्तो संस्कारले 'इनोभेसन' र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने उनको बुझाइ छ।
‘व्यवस्थापन परामर्शदाताका रूपमा विभिन्न प्रकारको सांगठनिक संरचना देखेको छु। वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा फ्लाट हाइरार्की (निश्चित नेतृत्व र सदस्य भएको संरचना) सबभन्दा प्रभावकारी हुने मेरो धारणा छ। जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ। जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्त्व दिएर मनन गरिन्छ,’ उनले भनेकी छन्।
पार्टीले ठूलो आशा, भरोसा गरी दिएको पद त्याग गर्नुलाई आफूले हल्का रूपमा नलिएको बताएकी छन्।
उनले रास्वपाप्रति आफ्नो प्रतिबद्धतामा केही हेरफर हुन नदिने बताएकी छिन्।
‘मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्वसभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन। पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसदको भूमिका अझ सशक्त रूपमा अघि बढाउने छु,’ उनले भनेकी छन्।
पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग नगरेको र आफू एक व्यक्ति एक पदलाई पूर्ण रूपमा अंगीकार गरी सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य पदमा दाबेदारी पेस नगर्नेसमेत घोषणा गरेकी छन्।
रास्वपाको केन्द्रीय समिति बैठक पार्टी कार्यालय चःमतिमा बसिरहेको छ। बैठकमा उनको राजीनामाको विषयले पनि प्रवेश पाएको छ।