नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनको कार्यक्रमको तालिका परिवर्तन गरेको छ।
एकीकृत समाजवादीले तल्लो कमिटीलाई परिपत्र गर्दै आन्दोलनको कार्यतालिका परिवर्तन गरेको बताएको छ।
एकीकृत समाजवादीले चैत १ गते पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको थियो।
चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूले उद्दण्डता प्रस्तुत गरेको र एकीकृत समाजवादीको कार्यालयसमेत आगो लगाएका कारण आन्दोलनको कार्यतालिका संशोधन गर्नुपरेको एकीकृत समाजवादीले जानकारी दिएको छ।
संशोधित कार्यतालिका अनुसार आगामी वैशाख १० गते सरकारलाई ज्ञापनपत्र बुझाउने पार्टीका महासचिव घनश्याम भूसालले जानकारी दिए।
वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने कार्यतालिका छ।
वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र २५ गते दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने एकीकृत समाजवादीले बताएको छ।
‘प्रदेश, जिल्ला र पालिका तथा वडास्तरमा पेश गरिने मागपत्रमा सम्बन्धित प्रदेश, जिल्ला, पालिका तथा वडाको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आवश्यक पर्ने मुख्य मागहरू उल्लेख गर्नु पर्ने छ,’ एकीकृत समाजवादीको परिपत्रमा भनिएको छ, ‘प्रदेश सरकारमा पेश गर्ने मागपत्रमा प्रदेशस्तरका रुपान्तरणकारी योजनाहरू सामेल गर्नु पर्ने छ। जसले त्यस प्रदेशमा रोजगारी र सुशासनलाई ग्यारेन्टी गर्न योगदान गर्नेछन्।’
जिल्ला प्रशासन कार्यालयमा पेश गरिने मागपत्रमा त्यस जिल्लाको नागरिक सुरक्षा, विभेदका विषयहरू, प्राकृतिक श्रोतसाधनको सुरक्षा तथा सुशासनका विषयहरू समावेश गर्न निर्देशन दिएको छ।
वडाका अगुवा व्यक्तिहरू सँग समस्या तथा सुझाव सङ्कलन गर्न पनि निर्देशन दिएको छ।
‘यस्तो कार्यक्रमले एकातिर हाम्रो मागपत्रलाई अझै बढी समृद्ध बनाउने छ भने अर्कोतिर हाम्रो आन्दोलनबारे धेरै जनालाई सुसूचित हुने अवसर दिनेछ,’ एकीकृत समाजवादीले भनेको छ।