गत नोभेम्बरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकालका लागि निर्वाचन लड्ने बताउँदै आएका छन्।
आइतबार मात्रै उनले आफू तेस्रो कार्यकालका लागि गम्भीर रहेको बताएका हुन्।
अमेरिकाको संविधानले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकेको छ।
बेलायतबाट अमेरिकालाई स्वतन्त्रता दिलाउने क्रान्तिका नेता र पहिला राष्ट्रपति जर्ज वासिङ्टनले दुई कार्यकालपछि आफै तेस्रो कार्यकाल नलडेकाले अमेरिकामा त्यतिबेलादेखि नै अधिकतम दुई कार्यकालको प्रचलन छ।
तर त्यसलाई सुनिश्चित गर्ने कुनै कानून नभएकाले सन् १९३० को दशकको चरम आर्थिक मन्दीको बेला डेमोक्रयाटिक पार्टीबाट निर्वाचन जितेका फ्रयाङ्कलिन डी रूजवेल्टले सो प्रचलन तोडे। उनले दोस्रो कार्यकालपछि तेस्रो कार्यकाल मात्रै नलडेर चौथो कार्यकाल पनि जितेका थिए।
सन् १९३२ मा चुनाव जितेर दोस्रो विश्वयुद्धको बेला राष्ट्रपति रहेका रूजवेल्टको चौथो कार्यकाल चल्दै गर्दा मृत्यु भएको थियो। १९४४ मा चौथो पटक राष्ट्रपति निर्वाचित रूजवेल्टको विश्वयुद्ध अन्त्य हुनु भन्दा केही महिना अघि अप्रिल १९४५ मा देहावसान भएको थियो।
डेमोक्रयाटिक पार्टीका रूजवेल्टले चौथो कार्यकाल पनि जितेपछि आजित भएको रिपब्लिकन पार्टीले १९४७ मा संसदमा बहुमत पुग्ने बित्तिकै दुई कार्यकालको सीमा राख्न संविधान संशोधनको प्रक्रिया थाल्यो।
सन् १९५१ मा अनुमोदन गरिएको २२ औं संशोधनले, 'कुनै पनि व्यक्ति राष्ट्रपतिको पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन सक्दैन' भन्छ।
ट्रम्प राष्ट्रपति भएको तीन दिनमै टेनेसीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एन्डी ओगल्सले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने प्राबधानलाई संशोधन गर्ने प्रस्ताव ल्याएका थिए।
तर संविधान संशोधन गर्नु त्यति सजिलो छैन। संसदको दुवै सदनमा दुई-तिहाइको समर्थन र ५० राज्यमध्ये ७५ प्रतिशतले त्यसलाई अनुमोदन गर्नुपर्छ जुन अहिलेको अवस्थामा सम्भव छैन। तर पनि रिपब्लिकन पार्टी र ट्रम्प आफै पनि २०२८ पछि फेरि उनी राष्ट्रपति बन्न सक्ने बताउँदै आएका छन्।
ट्रम्पका समर्थक अर्को निर्वाचनमा हालका उपराष्ट्रपति जे डी भान्स राष्ट्रपतिका लागि लडेर ट्रम्प उपराष्ट्रपतिका लागि लड्नुपर्छ भन्छन्। अनि भान्सले राष्ट्रपतिबाट राजीनामा दिए त्यतिबेला ८२ वर्ष पुग्ने ट्रम्प फेरि राष्ट्रपति बन्ने दाबी गर्छन्।
आइतबार त्यसबारे प्रश्न गर्दा ट्रम्पले पनि त्यो धेरै उपायमध्ये एक भएको स्वीकार गरेका थिए।
तर कानून र संविधानविद भने त्यसो गर्न नमिल्ने बताउँछन् भनेर विभिन्न अमेरिकी मिडियाले लेखेका छन्।
राष्ट्रपतिको मृत्यु भए, उनले आफ्नो कार्य सम्पादन गर्न नसक्ने भए वा राजीनामा दिए उनको ठाउँ लिने उपराष्ट्रपतिका लागि पनि त्यही नियम लागू हुने उनीहरूको जिकिर छ। त्यसैले फेरि राष्ट्रपति बन्न अयोग्य व्यक्ति उपराष्ट्रपतिका लागि पनि लड्न नपाउने तर्क गर्छन्।
त्यसैले ट्रम्पले फेरि राष्ट्रपति बन्न अर्को व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएर उपराष्ट्रपतिका लागि लडे मुद्दा पर्न सक्छ। अहिलेको सर्वोच्च अदालतमा ट्रम्पले पहिलो कार्यकालमा नियुक्त गरेका तीन न्यायाधीशसहित रिपब्लिकनको ६-३ को बहुमत छ। तर पनि ट्रम्पले सो मुद्दा हार्न सक्नेछन्।
तर संविधान नमिचिकनै पनि ट्रम्प २०२८ पछि राष्ट्रपति बन्न सक्ने उपाय छ भनेर रिपब्लिकन निकट मानिने द वाल स्ट्रिट जर्नलले लेखेको छ। त्यसो हुनका लागि पहिले त रिपब्लिकन पार्टीको उम्मेदवारले २०२८ मा हुने राष्ट्रपतिय र प्रतिनिधि सभाको निर्वाचन जित्नुपर्छ। अनि नयाँ राष्ट्रपतिले ट्रम्पलाई विदेश मन्त्री नियुक्त गर्ने। त्यसपछि राष्ट्रपति र उपराष्ट्रपति दुवैले राजीनामा दिने।
उपराष्ट्रपतिपछि राष्ट्रपतिका लागि वरीयतामा रहेका सभामुखले पनि राजीनामा दिने। त्यस्तो भएमा सभामुख पछिको वरीयतामा रहेका विदेश मन्त्री ट्रम्प स्वतः फेरि राष्ट्रपति हुनेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)