पूर्वसांसद र पूर्वराजदूत यी दुई ‘पूर्व’ पद कमल कोइरालाको नामका पछाडि सधैं जोडिएरै आउँछन्। लामो राजनीतिक जीवनमा उनले प्राप्त गरेका ती जिम्मेवारीहरूले उनलाई सम्भवतः कहिल्यै छाड्ने पनि छैनन्।
उनलाई यी पदीय चिनारीले छाडेनन्। उनले भने केही काम कहिल्यै छाडेनन्। वर्तमानमा ‘विन्दास’ बाँच्ने उनलाई त्यही स्वभावले केही काम छोड्नै दिएन।
लेखपढमा सदा रमाइरहने कमल जीवनको अन्तिम घडीसम्म पनि लेखिरहेका थिए। अखबारी लेखनमा निरन्तर प्रकट भइरहने उनी पछिल्लो समय आत्मकथा लेखनमा पनि केन्द्रित थिए।
त्यसो त कमल कोइराला आफ्नो समयका कहलिएका वकिल पनि थिए। भरतमोहन अधिकारी र उनी मिलेर चलाएको विराटनगरको ‘कोशी ल फर्म’ पञ्चायतकालमा धेरै प्रजातान्त्रिक योद्धाहरूका पक्षमा कानुनी लडाइँ लडिदिने भरपर्दो संस्था थियो। तर, वकालत पेसालाई पनि उनले निरन्तरता दिएनन्। २०३७ पछि उनले वकालत पनि छोडिदिए।
‘लेखपढ र मान्छे भेटिरहने काम भने उहाँले कहिल्यै छाड्नु भएन,’ कमल कोइरालाका पुराना साथी प्राध्यापक कृष्ण पोखरेल उनको सम्झना गर्छन्, ‘विराटनगरमा होस् अथवा काठमाडौंमा कमल दा’ लेखपढ गरिरहने, मान्छेहरू भेटिरहने गर्नुहुन्थ्यो।’
साताअघि घरैमा ढलेर पक्षघातले सताइनुअघिसम्म पनि उनी लेखिरहेकै थिए। साथीभाइहरूलाई भेटिरहेकै थिए। यही सक्रियताकै बीच आइतबार साँझ ८७ वर्षको उमेरमा उपचारकै क्रममा उनी बितेका छन्।
सम्वत २०१० को दशकका प्रारम्भिक दिनहरूमै कमल कोइराला राजनीतिक वृत्तमा चर्चाको चुलीतिर लम्किरहेका थिए। त्यसबेला उनका बुवा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए। बुवा नेतृत्वको सरकारविरोधी गतिविधि गर्दै सडकमा आएका उनी २०११ सालमा पक्राउ परेका थिए।
विराटनगरको कोइराला परिवारका सदस्य, प्रधानमन्त्रीका छोरा कमल पक्राउ परेपछि स्वदेशको राजनीतिक मञ्चमा उनको चर्चा स्वाभाविक भइदियो। त्यो घटनाले अन्तर्राष्ट्रिय चर्चासमेत बटुलेको थियो।
२०११ माघ ५ को अंकमा अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले कमल कोइराला पक्राउ परेको समाचार नै प्रकाशित गरेको थियो।
आफ्नै पिताको शासन ढाल्न खोजेको आरोपमा नेपालका प्रधानमन्त्रीका छोरा पक्राउ परेको सो खबरमा उनी ‘अवैध कम्युनिस्ट संगठनको बैठकमा सहभागी भएको’ उल्लेख थियो।
त्यसबेला कोइराला परिवार र कांग्रेस पर्याय जस्तै मानिन्थ्यो। बुबा मातृकाप्रसाद अनि काकाहरू बिपी र गिरिजाप्रसाद कोइरालाहरू कांग्रेस राजनीतिका मियो नै थिए। त्यही परिवारका सदस्य कमल भने कम्युनिस्ट बन्न पुग्दा त्यो धेरैका लागि विष्मयकारी खबर बनेको थियो।
राजनीतिमा चाख भएका विराटनगरका तन्नेरीहरूका लागि उनी रहस्यका यस्ता पात्र थिए, जसबारे धेरै रोमाञ्चक किस्साहरू उनीहरूले धेरैपटक सुनिसकेका थिए।
विराटनगरसँग साँध जोडिएको भारतीय बजार जोगबनीको रेलवे स्टेसनमा उनी पत्रिका ओछ्याएर सुत्छन्। सम्भ्रान्त परिवारका सदस्य उनको बसउठ गरिबहरूसँगै बढी हुन्छ, प्रायः गरिबकै झुपडीहरूमा बढी भेटिन्छन्।
हरदम भेष बदलेर हिँड्ने उनी प्रहरीलाई सजिलै ‘चक्मा’ दिएर उम्किन सक्छन्। कहिले जोगीको भेषमा अनि कहिले अर्कै कुनै आवरणमा गाउँबस्तीमा पुगिरहन्छन्। कमल कोइरालाबारे यी र यस्ता थुप्रै किस्सा सुन्नेहरूमै पर्थे केशव गौतम र प्राध्यापक पोखरेलहरू।
कमल कोइरालाबारे जतिजति यस्ता कुरा सुन्दै जान्थे, उनीप्रतिको कौतूहल अरू बढ्थ्यो। त्यसमध्ये पनि सबभन्दा धेरैले सोध्ने प्रश्न भने एउटै हुन्थ्यो, कोइराला परिवारका सदस्य कमल कसरी कम्युनिस्ट बन्न पुगे?
यसबारे राजनीतिशास्त्री प्राध्यापक पोखरेलले आफ्नो संस्मरणात्मक पुस्तक ‘फर्केर हेर्दा’ मा विस्तृत रूपमा उल्लेख गरेका छन्।
लामो संगतका क्रममा पोखरेलले कोइरालालाई धेरैपटक प्रश्न गर्थे, ‘घागडान कांग्रेस परिवारको छोरो कसरी कम्युनिस्ट बन्नुभयो कमल दा ?’
जबाफमा कोइराला एउटा हिन्दी सायरीको सहारा लिने गर्थे। त्यो सायरीको सार थियो, ‘बनिबनाएको लिकमा त कि गाडी गुड्छ, कि कायर हिँड्छ। लिक छोडेर हिँड्ने आँट त कि सायरमा हुन्छ, कि सिंहमा कि सपुतमा हुन्छ।’
पोखरेलका भनाइमा कमलले जीवनभरी फरक लिकमा हिँड्ने आँट देखाए।
‘कोइराला परिवार राजनीतिक रूपमा खुला र सुसंस्कृत थियो,’ पोखरेल भन्छन्, ‘त्यसैले उनलाई फरक राजनीतिक आस्थाले पारिवारिक रूपमा ठूलो समस्या कहिल्यै सिर्जना गरेन।’
कमल कोइराला आफै पनि ‘राजनीति विचारले र पारिवारिक जीवन अर्कै हिसाबले चल्ने’ बताउँथे।
प्राध्यापक पोखरेलका अनुसार कांग्रेस परिवारका कमललाई कम्युनिस्ट बनाउने मूख्य भूमिका चाहिँ त्रिचन्द्र कलेजको संगतले गरेको थियो।
त्यसबेला भूमिगत कम्युनिस्ट पार्टी जनसुरक्षा समितिको नामबाट सार्वजनिक गतिविधिमा उपस्थित हुन्थ्यो। २०११ सालमा आइए पढ्दै गर्दा उनी सोही समितिमार्फत् भएका प्रदर्शनहरूमा भाग लिने क्रममै उनी पहिलोपटक पक्राउ परेका थिए।
नेपालमा छँदा आन्दोलनमा लागेर पढाइ बिगार्ने भयो भन्ने चिन्ताले सताएपछि कमललाई बुवा मातृकाले भारतमा लगेर कलेज भर्ना गरिदिएका थिए। त्यहीक्रममा कोइरालाले बनारस हिन्दु विश्वविद्यालयबाट बिए र गोरखपुर विश्वविद्यालयबाट एलएलबी गरेका थिए।
कोइरालाका पुराना मित्र विराटनगरस्थित विष्णुमाया पुस्तकालयका अध्यक्ष समेत रहेका केशव गौतम पुराना वाम कार्यकर्ता हुन्।
कमल कोइरालासँग लामो संगत गरेका उनी आफूलाई ‘पुरानो एमाले’ भन्न रूचाउँछन्।
‘म एमाले नै हुँ तर पुरानो एमाले, अहिले त कम्युनिस्ट हुँ भन्न पनि लाज हुन्छ,’ गौतमले भने, ‘हो, जतिबेला म कम्युनिस्ट हुँ भन्दा गौरव लाग्थ्यो नि, त्यो बेलादेखि नै कमल दाइ हाम्रा लागि रोल मोडल हुनुहुन्थ्यो। जीवनभरी रोल मोडल भएरै रहनुभयो।’
गौतमका अनुसार उनले चिन्तामुक्त जिन्दगी बाँचे। जति बाँचे, शानदार जीवन बाँचे।
कमल कोइरालाले एमालेबाट दुई पटक संसदीय निर्वाचन लडेका थिए। उनी २०४८ मा शैलजा आचार्यसँग पराजित बनेका उनी २०५१ को मध्यावधि निर्वाचनमा भने विजेता बनेका थिए। आफ्नै फुपूकी छोरी शैलजासँग उनी हरेक तिहारमा टीका लगाउँथे।
‘राजनीतिमा व्यक्तिगत महत्वाकांक्षा पनि हुन्छ, कतिपय दलीय बाध्यता पनि आइलाग्छ,’ आफ्नै बहिनीसँग चुनावी प्रतिस्पर्धा गर्ने बेलामा कमल आफ्ना साथीहरू माझ भन्थे।
‘शैलजासँग उहाँ पराजित हुनुभयो तर त्यो चुनावी प्रतिस्पर्धाले उहाँहरूबीचको सम्बन्धमा दरार आएको कहिल्यै थाहा पाइएन,’ गौतमले भने, ‘उहाँहरूको परिवार राजनीतिक रूपले पूरै सुसंस्कृत थियो भन्ने यसले देखाउँछ।’
२०५१ को मध्यावधि निर्वाचनमा उनले सफलता पाउँदा उनका सहयोगीहरू सबै खटिएका थिए। त्यसबेला कमल कोइराला सहयोग समिति बनाएर कलेजका प्राध्यापकहरू, वकिलहरू अनि विराटनगरका धेरै बौद्धिकहरू खटिएका थिए। प्राध्यापक पोखरेलले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार त्यसबेला कमल कोइराला चुनावी दौडमा यति व्यस्त थिए कि उनी दिनरात मतदाताको घरदैलोमै हुन्थे। प्रकाश साप्ताहिकका लागि पोखरेलले उनलाई अन्तर्वार्ताको प्रस्ताव गरेका थिए।
‘तपाईं आफैले प्रश्न पनि लेख्नुस्, उत्तर पनि लेख्नुस्’ भनेर उनले पोखरेललाई अनुमति दिए।
‘उहाँलाई कसैगरी संसद्मा पुर्याउनु थियो, मैले अन्तर्वार्ता तयार पारेर प्रकाशमा पठाएँ, छापियो,’ पोखरेलले स्मरण गरेका छन्, ‘त्यो घटना सम्झेर हामी बेलाबेला रमाइलो मान्थ्यौं।’
गौतमका अनुसार कोइराला परिवार र कांग्रेसको उर्वरथलो मानिने विराटनगरमा अहिले पनि विपी पार्क छैन। बिपी चोक वा गणेशमान चोक वा प्रतिष्ठान छैन।
‘तर, उहिल्यै विराटनगरमा पुष्पलाल चोक नामकरण गर्ने काम उहाँले नै गर्नुभएको थियो,’ गौतम भन्छन्, ‘पुष्पलाल स्मारक प्रतिष्ठान पनि उहाँकै अगुवाइमा स्थापना भयो।’
यसको अध्यक्ष पनि गौतम स्वयम् नै छन्।
‘हरेक वर्षको पुष्पलाल जयन्तीमा कमल दा विराटनगर आउनुहुन्थ्यो र कार्यक्रममा सरिक बन्नुहुन्थ्यो,’ गौतमले भने, ‘अब उहाँ नै जानुभयो। हामीले हाम्रो राजनीतिक अभिभावक गुमायौं।’
कमल कोइरालासँग लामो संगत गरेकाहरूका अनुसार उनी परिवारका फरक राजनीतिक आस्थाका सदस्यहरूसँग पनि उत्तिकै निकट थिए।
उनी वाम राजनीतिमा सक्रिय हुँदा नै कान्छा काका गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री बने।
‘उहाँ काका प्रधानमन्त्री बन्दा वा परिवारका सदस्यको सफलतामा खुसी नै प्रकट गर्नुहुन्थ्यो,’ विराटनगरका पुराना पत्रकार मोहन भण्डारी सम्झना गर्छन्, ‘गिरिजाबाबु अन्तिमपटक प्रधानमन्त्री भएका बेला पनि मैले कमल दाइसित अन्तर्वार्ता गरेको थिएँ। फरक राजनीतिक दलको भनेर उहाँ पूर्वाग्रह राख्नुहुन्न थियो। आफन्तको सफलतामा उहाँ खुसी प्रकट गर्नुहुन्थ्यो।’
कमल कोइरालाले दुई दशकअघि नै पत्नी वियोगको पीडा सहेका थिए। पछिल्लो कालमा उनी फेसबुकमा एक जना काल्पनिक प्रेमिकाको कल्पना गरेर रमाइला स्टाटसहरू लेख्थे। प्रेम, जीवन र मदिराबारे उनका रमाइला स्टाटसहरु बाक्लै आइरहन्थे। पत्नी धनदेवी कोइरालाको क्यान्सरले निधन भएपछि उनी छोरी ऋचा कोइरालासँग काठमाडौंमा बस्थे। छोरा डा.कञ्चन कोइराला अमेरिकामा बसोबास गर्छन्। पाँच दाजुभाइमध्येका माहिला कमलका दाजु विमल र भाइहरू विजय, सन्जय र दिदीबहिनीहरु सविता र कविता थिए। उनका दुवैजना दिदीबहिनीको निधन भइसकेको छ।
यदि पक्षघात भएर नलडेको भए कमल यतिबेला अमेरिकामा छोराबुहारीसँगै हुने थिए।
‘उहाँ शुक्रबार अमेरिका जाने तयारी थियो’, गौतमले सुनाए ‘त्यहीबेला उहाँ ढल्नुभयो।’