नेकपा (एकीकृत समाजवादी) ले तीनकुनेको घटना रोक्न गृह प्रशासन विफल भएको निष्कर्ष निकालेको छ।
एकीकृत समाजवादीका काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक शनिबार बसेको थियो।
उक्त बैठकले तीनकुने, सिनामंगल, मीनभवन, बालकुमारी क्षेत्रमा राजावादीहरूले झन्डै पाँच घन्टा विध्वंस मच्चाउँदा त्यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासन चुकेको निचोड निकालेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
‘बैठकमा हामीले तीनकुनेमा राजावादीहरूले देखाएको उग्रता, चरम अराजकता र विध्वंसबारे छलफल गर्यौं। तीनकुनेमा व्यक्तिका घरमा आगो लगाएको छ। सञ्चारगृहमा आगो झोसिएको छ। छानीछानी पार्टी कार्यालय जलाइएको छ। तर प्रहरीले केही गर्न सकेको छैन। हाम्रो पार्टी कार्यालयमा गुण्डाहरू पसेर लुटपाट गरिरहेका छन्। पार्टीका कागजात सडकमा लैजाँदैछन्। आगजनीको प्रयास भइरहेको छ भनेर पार्टी अध्यक्षले नै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गर्नुभएको छ। मैले, प्रकाश ज्वाला, मोहन गौतमले पटकपटक फोन गरेका छौं। उहाँले मुभ भइसकेको भन्नु भयो। तर पार्टी कार्यालय जलिरह्यो,’ उनले भने।
उनले तीनकुनेमा दिनदहाडै पत्रकारमाथि आगो लगाइरहँदा सञ्चारगृह तोडफोड भइरहँदा, भाटभटेनी लुटिँदा प्रहरी संयन्त्रले त्यसलाई नियन्त्रण गर्न नसक्नुमा गृह प्रशासनकै कमजोरी छर्लंग हुने पार्टीको निष्कर्ष रहेको बताए।
शनिबार गृहमन्त्री रमेश लेखकसहित सुरक्षा अंगका अधिकारीहरू आलोकनगरस्थित पार्टी कार्यालय अवलोकनमा आएको र मन्त्री लेखकले घटनालाई आततायी र आपराधिक गतिविधिको संज्ञा दिएको उनले बताए।
‘तीनकुने घटना आततायी हो र आपराधिक गतिविधि हो भने त्यसमा संलग्नहरूलाई राज्यले त्यहीअनुसार व्यवहार गर्नुपर्यो भन्ने हाम्रो पार्टीको निष्कर्ष हो। प्रहरीसमेतलाई कुल्चने र नरसंहार गर्ने हेतु प्रहरीको डफ्फामाथि दुर्गा प्रसाईंले गाडी दौडाएको छ। उसैले आन्दोलनको कमान्डर हुँ भनेर छाती पिटेको छ। राजावादीको आन्दोलनको नेतृत्व मैले लिएको छु भनेर नवराज सुवेदीले घोषणा गरेको हामीले सुनैकै हौं। कसले तिनीहरूलाई संयोजक र कमान्डर तोकेको हो? कसले भीडमा गाडी दौडाउन उक्साएको हो? व्यक्तिका सम्पत्तिमा आगजनी गर्न र पत्रकारलाई जिउँदै जलाउन कमान्डर तोक्ने को हो? बैठकले खोजबिन गर्न र तीउपर नेपालको कानुनले के कारबाही गर्न भन्छ, त्यहीअनुसार गर्न बैठकले आग्रह पनि गरेको छ,’ उनले भने।
आजगनीबाट ५० लाख बराबरको क्षति
राजावादीहरूले पार्टी कार्यालयमा आगजनी गर्दा ५० लाख बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको उनले बताए।
कार्यालय सचिवकै कार्यकक्ष जलाइएकाले पार्टीका माइन्युट, दस्ताबेज, किताबहरू जलेको उनले बताए।
‘हामीले व्यक्तिको घर भाडामा लिएर पार्टी कार्यालय चलाएका थियौं। दुई–दुई ठाउँमा आक्रमण गरिएको छ। आगो लगाइएको छ। यसको क्षतिपूर्ति कि सरकारले दिनुपर्यो, कि आयोजकबाट भराइनुपर्यो,’ उनले भने,‘बैठकले यसबारे छलफल गरेको छ।’
एकीकृत समाजजावादीले यसबीचमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
आन्दोलनको कार्यक्रमानुसार चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव संकलन, चैत्र २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन गर्ने थियो।
चैत १५ को परिस्थितिपछि यसलाई पुनर्तालिकीकरण गर्ने निर्णय भएको उनले बताए।
जसअनुसार वैशाख २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने गरी तालिका परिवर्तन गरिएको उनले बताए। अरू कार्यक्रमहरू पनि परिवर्तन हुनेछन्।
बैठकले राजावादीहरूले उग्रता प्रदर्शन गर्न थालेको, समाजलाई भड्काउन उद्यत रहेको भन्दै यसलाई नियन्त्रणमा लिन सरकारको ध्यानकर्षणसमेत गराएको छ।
त्यस्तै सदनमा भएका र सदनबाहिर रहेका गणतन्त्र पक्षधरसँग छलफलको अगुवाइ पार्टीले गर्ने निर्णय गरेको पनि उनले बताए।