सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर मन्त्री चौधरीले राजीनामा पत्र बुझाएका छन्।
आर्थिक लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका हुन्।
सार्वजनिक अडिओमा दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदबाट पारित तथा कार्यान्वयका लागि मन्त्री चौधरीले व्यापारीहरूसँग आर्थिक लाभ उठाउने उद्देश्यले कुराकानी गरेको आरोप छ।
नागरिक उन्मुक्तिबाट निर्वाचित चौधरीले आफ्नो पार्टीका केन्द्रीय नेताहरूदेखि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायतको नाम उल्लेख गर्दै बार्गेनिङ गरेको आरोप छ।
त्यो अडिओ सार्वजनिक भइसकेपछि मुख्यमन्त्री शाहले नै वनमन्त्री चौधरीलाई पदबाट राजीनामा दिन भनेका थिए।
राजनीमा दिनुअघि मन्त्रालयमा पत्रकार सम्मेलन गरेका चौधरीले पनि आर्थिक लेनदेनको आरोप लागेको हुँदा नैतिकताका आधारमा राजीनामा दिएको बताए।
पत्रकारहरूका माझ चौधरीले त्यो अडिओ पुरानो अर्थात भदौ महिनाको रहेको भन्दै आफ्नो बचाउ गर्न खोजेका थिए।
‘म भर्खरै मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका बेला आफ्नै मन्त्रालयमा गरेको कुरा थियो,’ उनले भने, ‘मेरो नियत खराब थिएन, तर मलाई सुरूमा अनुभव थिएन।’
त्यस्तै नाउपाले पार्टी भित्रको आन्तरिक गुटबन्दी कारण आफूलाई फसाउन खोजिएको दाबी गरे।
आफूमाथि आरोप लागेकोले अनुसन्धानमा सहयोग पुगोस भनेरै पदबाट राजीनामा दिएको उनले बताए।
सुदुरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छन्।