राष्ट्रिय सभा बैठक एक घन्टालाई स्थगित भएको छ। शुक्रबार बैठक सुरू हुनेबित्तिकै नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राजनीतिक नेतृत्वमै संवाद हुनुपर्ने बताएका थिए। सत्तापक्ष र विपक्ष कानमा तेल हालेर बस्दा राष्ट्रिय सभाको कामकारबाही प्रभावित हुने धारणा राखेका थिए।
राष्ट्रिय सभा अध्यक्ष दाहालले सदनको कामकारबाही प्रभावित नगर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरे पनि उनीहरू बसेनन्।
त्यसपछि अध्यक्ष दाहालले बैठक स्थगित गरे।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले संसद्को दुवै सदन अवरूद्ध गर्दै आएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिस्थापन विधेयकहरू पारित गर्ने कार्यसूची छ।