त्रिचन्द्र क्याम्पसमा फेरि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ।
पछिल्लो पटक विद्यार्थी संगठनबीच बुधबार (चैत १३) गते चुनाव गराउने समझदारी भएको थियो।
त्यसअनुसार निर्वाचन समितिले मतदानको तयारी पनि गरेको थियो।
तर केही विद्यार्थी संगठनले क्याम्पसको मूलद्वारमै तालाबन्दी गरिदिएपछि अन्तिम समयमा मतदान स्थगित भएको छ। क्याम्पसले मंगलबार राति सूचना प्रकाशित गरी मतदान स्थगित भएको जानकारी गराएको हो।
निर्वाचन समितिले मतदानको अर्को मिति भने तय गरेको छैन।
त्रिचन्द्र क्याम्पसमा चैत ५ गते चुनाव तय भएको थियो। त्यतिबेला पनि विद्यार्थी संगठनभित्र आन्तरिक विवादका कारण मतदान प्रक्रिया अवरूद्ध बनेको थियो।
‘चैत ५ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्पूर्ण तयारी पूर्ण हुँदाहुँदै पनि तालाबन्दीका कारण स्थगित गर्नुपरेको व्यहोरा सबैलाई अवगत नै छ। उक्त दिन स्थगित मतदान कार्य यही मिति २०८१ चैत १३ गते बिहान ८ बजेदेखि प्रारम्भ गर्ने भनि सूचना प्रकाशित गरिएकामा मतदानका लागि वातावरण नदेखिएको र केही विद्यार्थीहरूले क्याम्पसको मुख्यद्वारमा तालाबन्दी गरेकाले त्रिवि केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति, समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी २०८१ १ चैत १३ गते तोकिएको स्ववियु निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ निर्वाचन अधिकृत अंगदमणि गौतमले जारी गरेको सूचनामा भनिएको छ।
त्रिविका ६२ आंगिकमध्ये ४३ वटामा चुनाव भएको छ। पाटन संयुक्त क्याम्पस र आरआर क्याम्पसमा यही चैत १६ गते मतदान तय भएको छ। नेपाल ल क्याम्पसमा चैत १९ गते चुनाव हुने भएको छ।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको चुनाव भने अझै अनिश्चित छ।