मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चैत १५ गते गर्न लागेको प्रदर्शनलाई 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन' समितिका संयोजक नवराज सुवेदीले समर्थन गरेका छन्।
'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन' समितिको सदस्यमा दुर्गा प्रसाईं पनि छन्।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियानका नाममा गतिविधि गर्दै आएका प्रसाईंले चैत १५ गते राजसंस्था फर्काउने भन्दै आन्दोलन गर्दैछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अलग्गै आन्दोलनको तयारी गरिरहँदा सुवेदीले प्रसाईंको आन्दोलनलाई समर्थन गरेका हुन्।
‘नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ। यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयीकृत भएर गइरहेको छ,’ सुवेदीले भनेका छन्।
यसै सन्दर्भमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट आफूलाई संयोजन गरिदिन आग्रह गरेको उनले बताएका छन्।
‘अब उप्रान्त राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रीत सबै प्रदर्शन तथा आन्दोलनहरूमा यस संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहेनछ। त्यसै क्रममा आउँदो शुक्रबार, चैत्र १५ गते राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दु अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थन गर्न हार्दिक अपील गर्दछु,’ उनले भनेका छन्।
उनले देश बचाउने र बनाउने हो भने आन्दोलनबाहेक अर्को विकल्प नरहेको बताएका छन्।