शनिबार बेलुका इसराइलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरे।
रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए। उनीहरूले सरकार विरोधी नाराबाजी पनि गरे।
राजधानी तेल अविभमात्रै होइन, जेरूसलेम लगायत मुख्य मुख्य सहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए।
हात हातमा केही मानिसका तस्बिरहरू प्रदर्शन गर्दै उनीहरूले सरकार र प्रधानमन्त्री बेन्यामिन नेतन्याहूविरूद्ध नाराबाजी गरेका थिए।
इसराइली पत्रिका टाइम्स अफ इसराइलका अनुसार प्रधानमन्त्री नेतन्याहूको आदेशमा गजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका हुन्।
शनिबार मात्रै विभिन्न सहरमा गरी १ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएको टाइम्स अफ इसराइलले जनाएको छ।
सन् २०२३ को अक्टोबर ७ यता पटक-पटक इसराइलीहरू त्यसरी नै सडकमा निस्किएका थिए र सरकारको विरोध गरेका थिए।
आफ्नै सरकारविरूद्ध इसराइलीहरू आन्दोलित हुनुपर्ने अवस्थाको मुख्य कारण हो-हमासले गजामा बन्धक बनाएर राखेका इसराइलीहरू।
अक्टोबर ७ मा हमासले १ हजार २ सय जनाको हत्या गरी २४९ जनाभन्दा बढीलाई इसराइलबाट बन्धक बनाएर गजा पुर्याएको थियो।
त्यसको बदलामा इसराइलले लगातार आक्रमण गर्दै आइरहेको छ। इसराइलीहरूले भने आक्रमणमा भन्दा हमासले कब्जामा राखेको इसराइलीहरूलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने माग राख्दै आएका छन्।
त्यसरी अन्धाधुन्ध आक्रमण गर्दा बन्धकहरूमाथि नै खतरा हुनसक्ने भनेर इसराइली नागरिकहरूले गजामा आक्रमण नगर्न माग राख्दै आइरहेका छन्।
यसअघि युद्ध सुरू भएको ४८ दिनपछि युद्धविराम भएको थियो। त्यतिबेला १०५ जना बन्धकहरू हमासले छाडेको थियो। युद्धविराम भाँडिएर इसराइलले पुनः गजामा आक्रमण थालेपछि त्यतिबेला पनि हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका थिए।
यसपालि तीन चरणमा युद्धविराम हुने भनेर पहिलो चरणको युद्धविराम जनवरी १९ मा सुरू भएको थियो।
पहिलो चरणमा हमासले ३३ बन्धक रिहा गर्ने र इसराइलले त्यहाँका जेलमा रहेका झन्डै २ हजार प्यालेस्टिनीहरूलाई कैदमुक्त गर्ने सम्झौता थियो। पहिलो चरणको युद्धविरामबीच दोस्रो चरणको युद्धविरामबारे छलफल अगाडि बढाउने भन्ने थियो।
दोस्रो चरणमा गजाबाट इसराइली सेना हट्ने र मृत्यु भएका बन्धकहरूको शव हमासले इसराइलको जिम्मा लगाउने भन्ने सम्झौता थियो।
त्यसपछि तेस्रो चरणको युद्धविराममा गजामा पुनः निर्माणको अभियान थाल्ने भन्ने थियो।
तर पहिलो चरणको युद्धविराम सकिएपछि दोस्रो चरणको सुरू गर्न मध्यस्तकर्ताहरूले सहमति जुटाउन सकेनन्।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूवै दूत स्टिभ विटकोफको प्रस्तावमा गजामा पहिलो चरणकै युद्धविराम अवधि थप ४२ दिन लम्ब्याउने र बन्धक र कैदी आदानप्रदान गर्ने प्रस्ताव राखेको थियो।
उक्त प्रस्तावलाई इसराइलले सहजै स्वीकारेपनि हमास तयार भएन। त्यसपछि थालेको हो इसराइलले गजामा हमासलक्षित आक्रमण।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गजामा अझै ५९ जना बन्धक हमासको नियन्त्रणमा छन्। इसराइलले आकाश र जमिनबाट अन्धाधुन्ध आक्रमण गर्दा उनीहरूमा खतरा हुन सक्ने डर इसराइलीहरूमा छ।
यही ४२ दिनको युद्धविराममा हमासले ८ जना बन्धक मृत्यु भएको अवस्थामा इसराइललाई सुम्पेको थियो। जिवित रहेकाहरुको सुरक्षित फिर्तिका लागि पहल गर्नुपर्नेमा अन्धाधुन्ध रकेट र बम हानेर मात्रै समस्या समाधान नहुने भन्दै इसराइलीहरू सडकमा उत्रिएका हुन्।

हबिमा स्क्वायरको मञ्चको ठूलो स्क्रिनमा डिजिटल अक्षरमा देखाइएको थियो - उनीहरूलाई घर ल्याऊ। नेतान्याहू सक्षम छैनन् लगायतका नारा।
प्रधानमन्त्री नेतन्याहूले गुप्तचर संस्था शिनबेटका प्रमुख रोनेन बार र महान्यायाधीवक्ता गलि बहाराव मियारालाई पदबाट हटाएपछि पनि विरोध ठूलो रूप लिएको हो भनेर टाइम्स अफ इसराइलले लेखेको छ।
हजारौंको भिडमा इसराइली झन्डा फहराइएको थियो भने बीच-बीचमा विपक्षी वामपन्थी दल र डोमोक्र्याटिकका झन्डा र ब्यानर देखिएको थियो।
हजारौंको भिडलाई ती दुई पार्टीका प्रमुखहरू यायर लापिड र यायर गोलानले सम्बोधन गरेका थिए।
'इसराइलमा गृहयुद्ध सुरू हुने परिस्थिति निम्त्याउन नेतन्याहू उद्वत छन्,' सम्बोधनका क्रममा लापिडले चेतावनी दिँदै भनेका थिए।