पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ।
निर्वाचन अधिकृत प्राध्यापक डा.रामचन्द्र पोखरेलका अनुसार विहान ८ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सकिनेछ। विद्यार्थीहरूले शान्तपूर्वक मतदान गरिरहेको उनले बताए।
‘निर्वाचन एकदम शान्तिपूर्ण र सौहार्द छ,’ उनले भने, ‘हामीले कम्तिमा पनि ७० प्रतिशत मत खस्ने अनुमान गरेका छौं ।’
उनका अनुसार पिएन क्याम्पसमा ९ हजार २७० जना विद्यार्थी अध्यनरत छन्। स्ववियु उम्मेदवार बन्न २८ वर्ष उमेरहद तोकिएको छ। निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणाली गरी मिश्रित प्रणाली अपनाइएको छ।
चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा मतपत्रमा त्रुटी भएपछि स्थगित भएको थियो। मतपत्रमा अखिल आठौंलाई मतदान गर्ने कोष्ठक मतपत्रमा छुटेपछि निर्वाचन स्थगित गरेर आजका लागि सारिएको थियो।
पिएन क्याम्पस स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। स्ववियु अध्यक्षका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
अध्यक्षकै लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ पनि स्ववियु अध्यक्षमा उम्मेदवार छन ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार, अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट छनौट हुनेछ। उपाध्यक्ष, उपसचिव र ८ जना सदस्य समानुपातिक निर्वाचनबाट छनौट हुनेछ। २१ सदस्यीय स्ववियु समितिको अवधी २ वर्ष हुनेछ।
विगतमा पिएन क्याम्पसका स्ववियु सभापति बनेका विद्यार्थीहरू राज्यका विभिन्न ठाउँमा नेतृत्वदायी भूमिका खेलिसकेका छन्।
पिएनमा स्ववियु सभापति बनेका सोमनाथ अधिकारी ‘प्यासी’ कोशी प्रदेश प्रमुख र एमालेबाट सांसद भइसकेका छन्। एमाले नेता खगराज अधिकारी, स्वर्गीय नेता रविन्द्र अधिकारी र पदम गिरी पटक पटक सांसद र मन्त्री भइसकेका छन्।
२०२१ सालमा पहिलो पटक सर्वसम्मत स्ववियु सभापति बनेका गणेश शेरचनदेखि अन्तिम पटक २०६५ सालमा सभापति बनेका रश्मी आचार्यसम्म २५ जना सभापति भइसकेका छन्। यसवीचमा पञ्चायतकालमा विद्यार्थी गतिविधि रोक्न तत्कालीन सरकारले स्ववियु निर्वाचन रोकेको थियो। २०३६ सालको विद्यार्थी आन्दोलनले फेरी स्ववियुलाई पुनर्स्थापित गरेको थियो।
स्ववियु निर्वाचन नहुँदा विद्यार्थीका हकहित, क्याम्पस र समाजका समस्या उजागर गर्न विद्यार्थीको आवाज कमजोर भएको उम्मेदवारहरू बताउँछन्। उनीहरू आफू निर्वाचित भए क्याम्पस प्रशासन सुधारदेखि सामाजिक र राजनीतिक विषयमा पनि आवाज बुलन्द पार्ने उनीहरूको एजेण्डा छ।
यसैबीच काठमाडौंको अस्कल क्याम्पसमा पनि मतदान भइरहेको छ। त्यहाँ विद्युतीय उपकरणमार्फत् मतदान भइरहेको छ।