एकीकृत समाजवादीका सांसद प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफूले पार्टीको दबाबमा नियुक्त गरेको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा शुक्रबार प्रेम आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताको दबाबमा नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगममा दुई अधिकारी नियुक्ति गर्नुपरेको बताएका हुन्।
‘मलाई एकपटक मेरो पार्टीबाट चिट्ठी आएको थियो। यो यो मानिसहरूलाई यहाँ नियुक्ति गर्नु भनेर। अब के गर्ने, समाजवादी नयाँ पार्टी पनि भयो। अलिअलि चलायमान पनि बनाउनुपर्यो,’ उनले भने, ‘धेरै दबाबमा, पार्टीका सम्मानित नेता झलनाथ खनाल र अन्य नेताको सिफारिसमा यी दुई अधिकारी नियुक्त गरेँ।’
उनले पार्टीका नेताहरूको दबाबमा वरीयता मिचेर नागरिक उड्डयन प्राधिकरणमा प्रदीप अधिकारीलाई महानिर्देशक बनाएको उनले बताए।
‘वरिष्ठताको आधारमा हेर्दा त्यहाँ १२ औं तहका पाँच जना थिए। प्रदीप अधिकारी ११ औं तहका हुनुहुन्थ्यो। मैले यो हुँदैन भनेँ। तर नियुक्त गर्नैपर्यो,’ उनले भने।
जुनसुकै दलबाट पनि नियुक्ति भएको मन्त्रीले आफ्नो इच्छाले काम गर्न नपाउने उनले बताए।
‘म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिएँ। त्यो मन्त्रालय ८ महिना २१ दिन चलाएँ। मैले चलाइरहँदा धेरै बाधा अड्चनहरू पनि आए,’ उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भइसकेपछि जुनसुकै चिजको सदुपयोग गर्नुपर्छ भनेर आफू लागिपरेको पनि उनले बताए।
‘६ महिना मन्त्री हुने समयमा दिइएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएँ। बस्तीको पानी सबै आइराखेको थियो। मैले त्यहाँका धेरै सरोकारवालालाई सोधेँ– यहाँ पानी किन आयो, नाला भत्कियो? भन्दा जम्मै कमिसनको काम रहेछ,’ उनले भने।
त्यतिबेला आफूलाई कुनै नागरिक समाज, सरोकारवालाहरूले गल्ती भएको, रनवेको उचाइ २० फिट तल रहेको भनेर कसैले नबताइदिएको बताएका थिए।
अहिले सार्वजनिक लेखा समितिमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन समितिमा मन्त्रालय सम्हालिसकेका सांसदहरू राखिएको भन्दै प्रश्न उठेको थियो।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिमा नेकपा एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमाथि प्रश्न उठाएका थिए।
सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए। सांसद झा उक्त उपसमितिका सदस्य हुन्।
त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन समितिमा एकीकृत समाजवादीका सांसद प्रेम आले छन्।
आफ्नो नेतृत्वबारे प्रश्न उठेपछि एमाले सांसद भट्टराईले आलेबारे पनि बताएका थिए। त्यसपछि भट्टराईकै प्रस्तावमा दुवै सांसद छानबिन समितिमा नबस्ने भएका छन्।
यी पनि:
भैरहवा एयरपोर्ट छानबिन समितिको संयोजक योगेश भट्टराईको नेतृत्वमा रास्वपा सांसद मनिष झाले उठाए प्रश्न
राजेन्द्र लिङ्देन उपसमितिको प्रतिवेदन: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको छैन भन्न सकिन्न