विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष रोहित यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिस्ट्री बनाएको भन्दै बधाइ दिएका छन्।
हुलाकी राजमार्गकेन्द्रित अभियानमा रहेका अध्यक्ष प्रचण्डले महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन परिणामले देशभर सन्देश गएको बताएका छन्।
‘थ्याङ्क् यु रोहित एउटा हिस्ट्री बन्यो। महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको हामीले, एउटा इतिहास बन्यो। देशभरि एउटा सन्देश गइसक्यो। भोलि हामी धेरै राम्रो गर्न सक्छौं,’ अध्यक्ष प्रचण्डले भने।
टेलिफोन कुराकानीमा यादवले अध्यक्ष प्रचण्ड अभियानका क्रममा मोरङ टेकेकै दिन आफूलाई जित महसुस भएको बताएका थिए।
‘तपाईंले यहाँ खुट्टा टेक्दा नै जितको महसुस भइसकेको थियो। पहिले सम्मेलनमा पनि ल्याउन खोजेको थिएँ। त्यतिबेला समय मिलेन,’ स्ववियु अध्यक्ष यादवले भने।
मंगलबार भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका यादव १११८ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसनिकट नेविसंघका प्रज्ज्वल विष्ट (हाक्कु) ले १०७५ मत प्राप्त गरेका थिए। नेकपा (एमाले) निकट अनेरास्ववियुका अनीश बोगटीले २३२ मत ल्याए। अध्यक्ष पदमा स्वतन्त्रसहित ७ उम्मेदवार प्रतिस्पर्धामा थिए।
सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर निर्वाचित भएकी थिइन्। कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान निर्वाचित भएका थिए।
प्रत्यक्षतर्फ सदस्य एक पदमा क्रान्तिकारी निर्वाचित भएको छ। बाँकी सदस्य पदमा नेविसंघ विजयी भएको थियो।
अखिल क्रान्तिकारीले २०६५ पछि महेन्द्र मोरङमा स्ववियु अध्यक्ष जितेको हो। २०६५ मा अखिल क्रान्तिकारीका जयराम सन्दास सभापति निर्वाचित भएका थिए। त्यतिबेला अखिल क्रान्तिकारी नेकपा (एमाले) निकट अनेरास्ववियुसँग मिलेर उम्मेदवारी दिएको थियो।