पद्कन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवानिकटलाई हराउँदै महामन्त्री गगन थापानिकट उम्मेदवार निर्वाचित भएकी छिन्।
पद्मकन्याको स्ववियुमा थापानिकट भूपी ऐरको प्यानल नै निर्वाचित भएको हो।
टिकट नपाएपछि ऐरको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको थियो। त्यहाँ पार्टी सभापति देउवानिकट पूर्णिमाया परियारको समूहले नेविसंघका तर्फबाट उम्मेदवारी दर्ता गरेको थियो।
पछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर समूहलाई आधिकारिकको मान्यता दिए पनि देउवा पक्षले मानेको थिएन।
महामन्त्री थापा समूहकी ऐरले ७३० मत ल्याएर अध्यक्ष निर्वाचित भइन्। उनकी निकटतमक प्रतिस्पर्धी परियारले ३७९ मत ल्याइन्।
ऐर यसअघि पनि स्ववियु सचिव थिइन्।
सचिवमा ऐर समूहकै सन्ध्या बस्याल निर्वाचित भइन्। उनले ६९५ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ मत ल्याइन्।
कोषाध्यक्षमा पनि ऐर समूहबाट उम्मेदवारी दिएकी संकल्पिका थापा निर्वाचित भइन्। प्रतिस्पर्धी चाँदनी शाहले ४०५ ल्याइन्। प्रतिस्पर्धी सबै नेविसंघका आधिकारिक उम्मेदवार हुन्।
सदस्य पदमा उर्वसी पाण्डे, चेतना नहर्की, अस्मिता विश्वकर्मा, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, यानसु कटुवाल निर्वाचित भइन्। सदस्य निर्वाचित भएका सबै ऐर समूहका हुन्।
