राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिमा नेकपा एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमाथि प्रश्न उठाएका छन्।
सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका हुन्। सांसद झा उक्त उपसमितिका सदस्य हुन्। उपसमितिले स्थलगत भ्रमण तथा विज्ञहरूसँग परामर्शपछि प्रतिवेदन तयार पारेको छ।
सांसद झाले लेखा समितिले बेरूजु छानबिन लगायतका विषयमा उपसमितिहरू बनाउँदा सम्बन्धित मन्त्रालय चलाइसकेको व्यक्तिलाई उपसमितिमा नराखिएको उल्लेख गरे।
‘यदि अर्थ मन्त्रालयको बेरूजु फर्छ्यौट गर्दैछ भने जनार्दन शर्मालाई नराख्ने, सञ्चार मन्त्रालयको बेरूजु फर्छ्यौटको बैठकमा गोकुल बास्कोटालाई नराख्ने अभ्यास समितिमा थियो,’ झाले भने, ‘त्यही अनुसार नै बेरूजु फर्छ्यौटका लागि उपसमिति बने। तर विमानस्थल अध्ययनको सन्दर्भमा किन गरिएन भनेर मैले सभापतिसँग प्रश्न उठाएको हुँ।’
लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने सुरूआतमा कसैको पनि ध्यान नगएकाले त्यसरी समिति बन्न पुगेको जबाफ दिएका थिए।
‘भैरहवा विमानस्थल निर्माणको क्रममा योगेश भट्टराई १५ महिनाका लागि पर्यटन मन्त्री बन्नुभएको थियो। अहिले उहाँकै नेतृत्वको टिममा जान मिल्दैन। स्वार्थ बाझिने काम भयो,’ झाले भने, ‘मैले योगेश भट्टराईलाई पनि यो विषयले तपाईंको प्रतिवेदनलाई विवादित बनाउँछ। यदि उपसमितिको प्रतिवेदन विवादरहित बनाउने हो भने यस्तो सिद्धान्त तपाईंले अपनाउनुपर्थ्यो भनेँ।’
नेकपा एमालेका सांसद भट्टराईले प्रश्न उठे आफूले ‘राजीनामा दिने’ जबाफ झालाई फर्काएका छन्।
‘पहिला मन्त्री भएको अहिले छानबिन समितिको संयोजक हुन मिल्दैन भनेर मनिष झाले भन्नुभयो,’ भट्टराईले भने, ‘मैले तपाईं पनि यही उपसमितिमा हुनुहुन्थ्यो। अहिलेसम्म किन प्रश्न उठाउनु भएन भनेर सोधेँ।’
योगेश भट्टराई नेतृत्वको उपसमितिमा मनिष झासँगै अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँण र सराज अहमद फारुकी सदस्य छन्।
‘मैले यदि आवश्यक परे राजीनामा दिन तयार छु भनेर भनेको छु,’ भट्टराईले भने, ‘प्रतिवेदन हामीले अन्तिम गरेर हस्ताक्षर गर्ने चरणमा पुर्याएका छौँ। मनिष झा उपसमितिमै हुनुहुन्छ। कुनै पनि विषयमा विवाद भएको होइन।’
अहिले आएर आफ्नो नेतृत्वमा प्रश्न उठाउनुको कारण भने थाहा नभएको भट्टराईले बताए।
सांसद झाले भने पूर्वमन्त्री नै उपसमितिको संयोजक हुँदा प्रतिवेदन नै उसको नियन्त्रणमा हुने भएकाले आफूले प्रश्न खडा गरेको बताए।
‘छलफलमा कसलाई बोलाउने नबोलाउनेदेखि प्रतिवेदनसम्म संयोजकको नियन्त्रणमा हुने भयो,’ झाले भने, ‘मैले सुरूआतदेखि नै यो प्रश्न उठाएको हुँ।’
योगेश भट्टराईको कारण प्रतिवेदन लेखनमा प्रभाव परेको हो?’ भन्ने प्रश्नमा झाले ‘त्यस्तो नभएको’ जबाफ दिए।
‘आज हामी सँगै बसेका थियौँ। मैले उहाँलाई विवादरहित बनाउन मात्र सुझाव दिएको हो। उपसमितिमा काम गर्ने क्रममा कुनै बहसका कारण प्रश्न उठाएको होइन,’ झाले भने, ‘मैले सैद्धान्तिक प्रश्न उठाएको हो।’
पूर्वाधार निर्माणमा रहेको त्रुटिका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पनि सञ्चालनमा आउन नसेकको भन्ने गुनासोपछि लेखा समितिले गत जेठ २७ गते उपसमिति बनाएको थियो।
उपसमितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।
यो पनि:
राजेन्द्र लिङ्देन उपसमितिको प्रतिवेदन: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको छैन भन्न सकिन्न