पुराना पञ्च नेता नवराज सुवेदीलाई अघि सारेर राजा स्थापना गर्ने संयुक्त ‘जनआन्दोलन’ घोषणा भएपछि त्यसले जन्माएका क्रिया-प्रतिक्रिया अझै जारी नै छन्।
तर २०४३ सालका राष्ट्रिय पञ्चायत अध्यक्ष ८६ वर्षीय सुवेदीलाई कसले र कसरी अघि सारेको हो भन्ने कुरा अहिलेसम्म अनुत्तरित जस्तै छ।
राजतन्त्रको पैरवी गर्दै आएको र संसदमा पनि उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुवेदीको नेतृत्व अस्वीकार गर्दै आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ।
पूर्वपञ्चहरू कमल थापा, केशरबहादुर विष्ट पनि त्यसबाट अलग भएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि आफ्नै नेतृत्वमा आन्दोलनको घोषणा गर्दैछन्।
‘यी अनुहारहरूले राजा फर्काउँदैनन्, राजाले मान्छे चिन्न सकेनन्’ भन्दै उनले अलग्गै आन्दोलनको घोषणा गरेका हुन्। चैत १५ गते उनले कार्यक्रम पनि गर्दैछन्।
संयुक्त जनआन्दोनको लगाम आखिर सुवेदीको हातमा कसले थमाएको थियो? किन सबैजसो प्रमुख पूर्वपञ्चहरू उनको नेतृत्वमा हुने आन्दोलनबाट टाढिए? अब उनले कसरी आन्दोलन गर्छन्? पूर्वराजासँग उनको सम्बन्ध के हो, पूर्वराजाले नै सुवेदीलाई अघि सारेका हुन्? हामीले यिनै प्रश्न सुवेदीलाई सोधेका छौं;
उनले सुरूमा धेरै कुरा बताउन नचाहे पनि बिस्तारै खुल्दै गए।
‘यसबारे म धेरै कुरा बताउन चाहन्नँ। प्रेसलाई सबै कुरा किन भन्नू! समय आएपछि सबैकुरा बताउँला,’ सुरूमा उनले भने।
त्यसपछि राजसंस्था पुनर्स्थापना गर्ने आन्दोलनमा पूर्वराजालाई अनावश्यक रूपमा जोडिएको उनले गुनासो गरे। जबकि पूर्वराजा ज्ञानेन्द्र स्वयमले फागुन ७ गते सन्देश दिँदै आफूलाई साथ दिन नेपाली जनतालाई आह्वान गरेका थिए।
सुवेदीले पछिल्लो छ महिनामा पूर्वराजा शाहसँग भेट नै नभएको बताए। त्यसबेलाको भेटमा पनि राजसंस्था पुनर्स्थापना गर्ने आन्दोलनबारे कुनै चर्चा नभएको उनले बताए।
‘महाराजसँग ६ महिना भयो भेट भएको छैन। महाराजधिराजले मलाई संयोजक बनाएको पनि होइन। तँ बस्दे भनेको पनि होइन,’ सुवेदीले भने, ‘यही संघ–संगठन (राजसंस्था पुनर्स्थापनावादी) हरूले तैंले भूमिका खेल्दे, एउटा त तँ पदको चाहना पनि गर्दैनस्, अर्को तँ बूढो–पाको मान्छे होस्, तैँले नै हेर्दे भनेको हुनाले म बसेको हुँ। महाराजधिराजलाई यसमा तान्नुपर्ने कुनै आवश्यकता छैन।’
को हुन् नेतृत्व लिन आग्रह गर्ने? क-कसले भेटेर त्यस्तो आग्रह गरेका थिए भन्ने प्रश्नमा जबाफ दिँदै उनले भने, ‘मानिहरूलाई बेकारको चासो परिरहेछ। मैले भनेको कुरा पत्याए भयो नि! एउटा भेला थियो नि अस्ति, त्यहाँ डिल्लीबजारमा। त्यही भेलाले सबैसँग समन्वय गर्दिनुस् भने, मैले हुन्छ भनेँ। त्यत्ति हो, अरू केही होइन।’
उनले ६ महिनाअघि राजासँग भएको कुराकानीको प्रसंग पनि धेरै खुलाउन चाहेनन्। त्यसबेला आन्दोलन गर्ने वातावरण नभएकाले अरू नै कुराकानी भएको उनको जिकिर छ।
‘६ महिनाअघि राजासँग के कुरा भयो, त्यो मैले प्रेसलाई भन्ने कुरा आउँदैन। त्यो बेला यो सब कमिटी बनाउने, यस्तो गर्ने वातावरण नै उठ्या थिएन। अरू नै कुरा भयो उहाँसँग,’ उनले भने।
आन्दोलन गर्ने तपाईंको नेतृत्वको समितिमा नबस्ने भनेर धैरै नेता अलग भएका छन् नि? भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गरे।
आफू आन्दोलनको तयारीमा रहेको र राजावादी घटक सबैसँग कुरा भइरहेको उनले बताए। यो सबै टुंगिन बढीमा एक साता लाग्ने पनि उनले दाबी गरे।
‘एक–दुई दिन, बढीमा हप्ता दिन लाग्ला। मेरो नेतृत्वको संयुक्त जनआन्दोलनबारे सबै थाहा हुन्छ। आन्दोलनको स्वरूप स्पष्ट भएर आइहाल्छ, यो सबैले देख्नुहुन्छ,’ उनले भने।
आफूले संयोजन गरिरहेको आन्दोलन पारदर्शी भएको उनले बताए। यसको स्वरूप, आयाम र प्रभावबारे सबै स्पष्ट भएकाले केही नलुकेको उनको दाबी छ।
‘यो आन्दोलन पारदर्शी आन्दोलन हो, राष्ट्रिय आवश्यकता र आन्दोलन हो। राष्ट्रवादीहरूको अठोट हो। त्यसैगरी अगाडि बढ्छ,’ उनले भने।
सुवेदी पञ्चायतको ‘किङ मेकर’ मानिन्छन्। २०१९ सालमै राष्ट्रिय पञ्चायत सदस्य भएका सुवेदी ३० वर्ष अनवरत त्यही भूमिकामा रहे। त्यतिबेला ३० वर्ष लगातार राष्ट्रिय पञ्चायत सदस्य हुने उनी र बालाराम घर्तीमगर मात्रै हुन्।
उनी प्रधानमन्त्री बनेनन्। तर बाँकी लाभमा कतै छुटेनन्।
त्यसो त उनी आफूलाई राजा महेन्द्रको चेला भन्न रूचाउँछन्। महेन्द्रबाटै राजनीतिक लाभ मात्र नलिई, उनकै निगाहबाट आफूले घरबास जोडेको उनले ‘इतिहासको एक कालखण्ड’ नामक आफैले लेखेको आत्मकथामा स्वीकार गरेका छन्।
२०४६ सालको परिवर्तनपछि कुनै पनि राजनीतिक मञ्चमा देखा नपरेका र राप्रपाको कुनै पनि कार्यकारी भूमिकामा नदेखिएका सुवेदी एकाएक राजसंस्था फर्काउने आन्दोलनको कमान्डर कसरी बने? कसले उनलाई त्यो भूमिकामा उभ्यायो भन्ने चासो छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवल शम्शेर राणालाई यसअघि दिइएको आन्दोलन परिचालन समितिको संयोजकको भूमिका खुम्च्याउँदै आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गरेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै नेतृत्वमा आन्दोलन गर्ने घोषणा गरेका छन्।
सुवेदीलाई हामीले तपाईंको नेतृत्वमा हुने आन्दोलनमा उनीहरू कसरी आउँछन्? भनेर सोध्यौं। उनले यसको चिन्ता अरूले धेरै लिनुनपर्ने जबाफ दिए।
‘त्यो राप्रपाको पार्टीको आन्दोलन हो। विभिन्न पार्टीहरू मिलेर मेरो नेतृत्वमा संयोजन कमिटी बनेको छ। पार्टीहरूले आफ्नो–आफ्नो कार्यक्रम त गरिहाल्छन् नि! उनीहरूलाई छुट नै छ। यो संयुक्त रूपमा गरिने आन्दोलनमा सबै शक्तिहरू एक भएर जान्छौं,’ सुवेदीले भने।
उनले यति मात्रै भनेनन्।
गणतन्त्र पक्षधर पार्टीभित्र पनि राजसंस्था समर्थक रहेको दाबी गरे। ती शक्तिहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको उनले बताए।
‘राष्ट्रवादी पार्टीहरू धेरैतिर, सबै ठाउँमा छन्। उनीहरूसँग पनि कुरा भइरहेको छ। अब पनि गर्छौं। राष्ट्रवादी व्यक्तिहरू सबैले साथ दिन्छन् भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यहाँ राष्ट्रवादी शक्तिहरू धेरै छन्। उनीहरूको दिमागमा राष्ट्रको चिन्ता घुमिरहेको हुन्छ। राजा आऊ, देश बचाऊ त मानिसहरूले भनिरहेकै छन् नि! सयौंको संख्यामा। सयौंको समर्थन छ। सबैलाई संयोजन गर्ने, साझा व्यक्तित्व चाहिन्छ नि, हो त्यसैले सबैले मलाई सारेका हुन्।’
उनले आफ्नो काँधमा पुनः एकपटक युगीन अभिभारा आएको बताए। तर यो अभिभारा युवा पुस्ताका लागि बोकेको उनको तर्क छ।
‘मेरो नेतृत्वको आन्दोलनमा सबैले सहयोग गर्नुहुन्छ। मैले आफ्नो निम्ति यो अभिभारा लिएको होइन। युवा पुस्ताका निम्ति लिएको हुँ। म त राजा महेन्द्रको चेलो हुँ बुझ्नुभो। महेन्द्रले जहिले पनि के हुकुम हुन्थ्यो भने- योङ मानिसहरूले गर्नुपर्छ। मलाई २७–२८ वर्षको उमेरमा ११ वटा मन्त्रालय दिएको थियो। म २२ घन्टा काम गर्थें। दुई घन्टा सुत्थेँ। यसरी काम गर्ने युवापुस्ता चाहिन्छ। हामीजस्ता अब पिण्ड खाने बेला भएका मानिसहरूले शासन गरेर हुँदैन। पार्टीवालाहरू किन र्याल चुहाएर बसिरहेका छन्, यी बुढापाका.. म थाहा पाउँदिनँ। युवा पुस्तालाई दिनुपर्छ। त्यसकारण मैले जे गर्न खोजेको हुँ युवापुस्ताका निम्ति हो,’ उनले भने।
यो निष्कर्षमा पुग्नुअघि सबैसँग सल्लाह, परामर्श भएको उनको भनाइ छ। त्यसैले राप्रपाले चारजना प्रतिनिधि पठाएको उनले बताए।
राजेन्द्र लिङ्देन, कमल थापाले आफूहरुसँग सल्लाह नभएको र आफूहरूलाई नसोधि सुवेदी नेतृत्वको समितिमा राखिएको भनेका छन् नि भन्ने प्रश्नमा सुवेदीले भने, ‘उहाँहरू (राजेन्द्र लिङ्देन, कमल थापाले कहिले हामीलाई सोधेको छैन भन्नुभयो? कमल थापाको त उहाँको पार्टीले नै सर्वसम्मत रूपले साथ दिने भनेर पास गरिसक्यो। अब राजेन्द्र लिङ्देनले पार्टीको तर्फबाट चार जना मानिसहरूलाई अभियानमा पठाउनुभएको छ। मानिसहरूमा अहिले कस्तो भएछ भने सबैले आफ्ना-आफ्ना कुरा भन्ने, एउटा कुरा मान्ने, अर्को कुरा ल्याउने। यी सब कुरामा म जान चाहन्नँ।’
समकालीन राजनीतिमा बिर्सिइसकेका अनुहार एकाएक राजा फर्काउने आन्दोलनको कमान्डर बनेर आएपछि उनै सुवेदीले लेखेको आत्मकथा अहिले चर्चामा छ।
२०६९ सालमा जगदम्बा प्रकाशनबाट निस्किएको १३६ पृष्ठको पुस्तकमा पूर्वराजा ज्ञानेन्द्र र पञ्चायतसँग जोडेर लेखिएका दुई प्रसंगले सुवेदीको मात्र होइन राजावादीहरूकै मुख रातो भएको छ।
उनले २०२५ सालमा आफू उद्योग मन्त्री भएका बेला ओमेगा घडीले नेपालमा कारखाना खोल्न चाहेको तर तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले आधा सेयर मागेको प्रसंग राखेका छन्। त्यही कारण ओमेगा घडी नेपाल नआएको उनले विस्तारमा चर्चा गरेका छन्।
अर्को, उनले २०३६ सालको जनमत संग्रहमा निर्दल जिताउन तीन करोड दिने सर्तमा चोथमल जटियालाई सर्पको छाला तस्करी गर्न मिल्ने बनाइदिएको प्रशंग उल्लेख गरेका छन्।
हामीले उनले पुस्तकमा लेखेका यी सन्दर्भबारे पनि कुरा गर्यौं।
आफैले लेखेको यी सन्दर्भलाई गणतन्त्रवादीहरूले अनाहकमा उत्खनन् गरेको उनको टिप्पणी छ। यी दुई प्रसंग अहिले उठाइनुलाई उनले गाडेको शव उत्खनन् गरेकोसँग तुलना गरे।
‘यो पचास वर्ष पहिले गाडेको मुर्दालाई उखेल्ने काम गरेका हुन्। गणतन्त्रवादीहरूको यस्तो छोटो कुराले मेरो र राजासँगको सम्बन्धमा कुनै दखल पुर्याउन सक्दैन,’ उनले भने, ‘मेरो किताबलाई उद्धृत गरेका छन्, मेरो किताबमा यी मात्र कुरा छैनन्। राष्ट्रवादी कुरा पनि छन्। त्यति राम्रा कुरा छन्, ती ल्याउँदैनन्।’
राजा ज्ञानेन्द्रको घडी प्रकरणको सन्दर्भ जोडेर आफूलाई कुनै फरक नपर्ने बताए।
ओमेगा घडी मात्रै होइन, नेपालमा खुलेका उद्योग धन्दामा बिनालगानी हिस्सा खोज्ने ज्ञानेन्द्रको प्रवृत्तिका कारण उनीसँग कहिले पनि सम्बन्ध राम्रो हुन नसकेको आत्मकथामा उल्लेख गरेका छन्।
तर सुवेदी ती इतिहासको कुरा भएको बताउँदै वर्तमानमा त्यस्तो कुनै पनि तिक्तता नरहेको दाबी गर्छन्।
‘खाली राजा ज्ञानेन्द्रको घडीको कुरा ल्याएर मलाई मुछेर के हुन्छ? केही पनि हुँदैन। यो झिना–मसिना कुरातिर नलागौं। यसमा नलागौं। जति लेख्नुछ, जति प्रयास गर्नुछ गरूँन्। अरू कुनै कुरामा मलाई दोष देखाउने ठाउँ भएन। ज्ञानेन्द्रसँग राम्रो थिएन रे! राम्रो छ कि छैन अरूलाई कसरी थाहा हुन्छ? म त राजावादी मान्छे। राजासँग किन राम्रो हुँदैन। म उहाँकै निम्ति उहाँको पुनर्स्थापना हुनुपर्छ भनेर हिँडेको छु। त्यसकारण यस्ता कुराले महाराजधिराजसँगको सम्बन्धमा कुनै दखल पुर्याउँदैन,’ उनले भने।