मोरङका एमाले नेता राजकुमार ओझा बुधबार दिनैभरि विराटनगरमा पार्टी काममा व्यस्त थिए।
एमाले मोरङ अध्यक्षमा भर्खरै पराजित ओझा आफ्नो टिमका साथीहरूलाई धन्यवाद दिने कार्यक्रममा व्यस्त रहेकै बेला उनले एउटा सुखद् खबर सुने।
गृहनगर मोरङकै सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा छोरा एलिस ओझा स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा विजयी भए। छोरा निर्वाचित भएको खबरले उनलाई पुलकित मात्रै तुल्याएन, आफैलाई विद्यार्थी कालमा फर्काइदियो।
उनी 'नोस्टाल्जिक' हुनुको कारण छ।
छोरा जुन क्याम्पसमा स्ववियु अध्यक्ष निर्वाचित भएका थिए, त्यही क्याम्पसमा उनी तीन कार्यकाल लगातार सभापति निर्वाचित भएका थिए।
‘अस्ति आफ्नै चुनावमा खटिएका साथीहरूसँग आज दिनैभरि छलफल थियो। उहाँहरूलाई धन्यवाद ज्ञापन दिनुपर्ने थियो। मेरो एलिससँग भेट भएको छैन,’ राजकुमारले सेतोपाटीसँग भने ‘तर, अब केहीबेरमा घर पुगेपछि भेट होला। उसको जितले खुसी बनाएको छ।’
राजकुमारका छोरा एलिसले २९९ मतान्तरका साथ नेविसंघका विजय ओझालाई पराजित गरेका हुन्। एलिसले ९८५ मत प्राप्त गरे। पराजित बनेका विजयले ६८६ मत प्राप्त गरेका छन्।
कोषाध्यक्षबाहेक सबै पदमा अनेरास्ववियुका उमेदवार निर्वाचित भए।
कोषाध्यक्षमा नेविसंघकी सविना थापा निर्वाचित विजयी बनेकी छन्।
यहाँ एमाले, माओवादी र एकीकृत समाजवादीनिकट अखिलहरूको साझा चुनावी मोर्चा थियो। तीन वाम विद्यार्थी संगठन मिलेर नेविसंघसँग प्रतिष्पर्धा गरेका थिए। सुकुनामा ३ हजार ६८२ जना विद्यार्थी मतदाता थिए।
यसपटकको स्ववियु निर्वाचनमा सभापति पदमा निर्वाचित हुनुअघि एलिस स्ववियुका सचिव थिए।
संयोग कस्तो भने २०४९ मा उनका बुबा राजकुमार स्ववियुका उपसभापति थिए। त्यसपछि २०५१, ०५३ र पछिल्लोपटक २०५५ मा राजकुमार स्ववियु सभापतिमा निर्वाचित भएका थिए। उनले पनि छोराले जस्तै नेविसंघकै प्रतिस्पर्धीलाई पाखा लगाएका थिए।
राजकुमारले सुकुना बहुमुखी क्याम्पसमा आइए, आइएड, बिए, बिएड पढ्ने क्रममा तीन पटक सभापति जितेका थिए। एलिस अहिले बिबिएको आठौं सेमेस्टरमा अध्ययनरत छन्। एलिसका बुबा राजकुमार २०७४ मा कोशी प्रदेश सभा सदस्य बनेर एमालेको सचेतक र केही समय मन्त्रीसमेत भएका थिए।
उनी मोरङ पार्टी अध्यक्ष भने बन्न सकेनन्। संस्थापन पक्षमा मानिएका उनी विनोद ढकाल समूहका उम्मेदवार अजम्बर राई ४४६ मत ल्याएर अध्यक्ष निर्वाचित भए। प्रतिस्पर्धी ओझाले ४०७ मत पाएका थिए।