देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको रौनक छ। विद्यार्थीहरूको पर्व मानिने यो स्ववियु निर्वाचनको रौनक २०३० देखि २०६० को दशकजस्तो रापतापयुक्त छैन।
तथापि विद्यार्थीहरूमा उत्साह जगाएको छ। क्याम्पसहरू गुलजार छन्। विजेता संघ–संगठनहरूको र्याली निस्किइरहेको छ।
यो स्ववियु चुनावसँग विद्यार्थी आन्दोलनको 'लिगेसी' छ। खासगरी लोकतान्त्रिक र प्रगतिशील भनिएका विद्यार्थी संघ–संगठनहरूकै स्ववियु चुनावमा प्रभाव देखिन्छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा उनीहरूले नै जित्दै आएका छन्।
तर काठमाडौं उपत्यकाभित्रको आइओई ( त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान) अन्तर्गतको पुल्चोक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठले अध्यक्ष जितेका छन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा तीन हजार ८ सय ७ मतदाता थिए। त्यसमध्ये २ हजार ९ सय ७९ मत खसेको थियो।
विद्युतीय उपकरणमार्फत् भएको मतदानमा एक हजार १०२ मत पाएर स्वतन्त्र उम्मेदवार श्रेष्ठ अध्यक्ष निर्वाचित भए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का रसिक लम्सालले ७१० मत पाए।
सचिव र कोषाध्यक्षमा भने मिश्रित परिणाम आयो।
सचिवमा अखिल क्रान्तिकारी दिवस सापकोटा १०६४ मत पाउँदै निर्वाचित भए। कोषाध्यक्षमा नेकपा (एमाले) निकट अनेरास्ववियुका अल्बर्ट ढकाल १०४२ मत पाएर विजयी भए।
अहिले परिणाम मिश्रित आएजस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु इतिहास पनि मिश्रित नै छ।
२०७३ सालको निर्वाचनमा अखिल क्रान्तिकारीले अध्यक्ष जितेको थियो। त्यसको ६ वर्षपछि भएको निर्वाचनमा अनेरास्ववियुले आफ्नो विरासत फर्काएको थियो। त्यतिबेला विराज अर्याल स्ववियु अध्यक्ष निर्वाचित भएका थिए।
अनेरास्ववियुले अहिले अध्यक्षको उम्मेदवारमा उनै अर्याललाई दोहोर्याएको थियो। अर्याल तिनै हुन्, जसलाई अनेरास्ववियुले स्ववियु काउन्सिल अध्यक्षसमेत बनाएको थियो।
तर त्रिभुवन विश्वविद्यालय सभा सदस्य पनि रहेका अर्याललाई हराउँदै स्वतन्त्र उम्मेदवार श्रेष्ठ स्ववियु अध्यक्ष निर्वाचित बनेका छन्।
श्रेष्ठ अघिल्लो कार्यकाल पनि स्ववियु सदस्य थिए। त्यतिबेला पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका श्रेष्ठले सदस्यमध्ये सर्वाधिक मत पाएका थिए। २०७९ को स्ववियु निर्वाचनमा श्रेष्ठ ७५४ मतसहित सदस्य निर्वाचित भएका थिए।
‘त्यतिबेला परीक्षणको रूपमा उम्मेदवारी दिएको थिएँ। क्याम्पस छिरेपछि ह्वास्सै राजनीतिक गन्ध आउने, अलिअलि विकृति पनि लाग्यो,’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने, ‘विद्यार्थीहरू पार्टी–पार्टीमा विभाजित थिए। त्यसैअनुसार माग र मुद्दा अघि सार्थे। त्यसैलाई चुनौती दिन स्वतन्त्रबाट सदस्यमा उम्मेदवारी दिएको थिएँ। धेरै विद्यार्थीहरूले समर्थन गर्नुभयो। राम्रै मत पाएर चुनाव जितेँ।’
पुल्चोक सिद्धहस्त इन्जिनियरहरू उत्पादन गर्ने थलो हो। देशको 'इन्जिनियरिङ' गर्ने कुशल जनशक्ति उत्पादन गर्ने स्थलकै रिइन्जिनियरिङ गर्नुपर्ने उनलाई पनि लाग्थ्यो।
रचनात्मक सुझाव र सिर्जनात्मक हस्तक्षेपका लागि स्ववियु उपयुक्त माध्यम बन्न सक्ने उनको विश्वास थियो।
स्ववियुमा छिरेपछि त्यसको भूमिका बुझ्ने मौका पाए।
‘सदस्यको कार्यकारी भूमिका त हुँदैनथ्यो। सुझाव भने दिन सकिन्थ्यो। मैले पहल गरेकै हुँ,’ उनले भने, ‘त्यतिबेलाको मेरो भूमिका, पहलकदमीलाई अझ बुलन्द तुल्याउन अध्यक्षमा उम्मेदवारी दिएको थिएँ।’
स्ववियु सदस्यका रूपमा विद्यार्थीमा पारेको प्रभाव र अध्यक्षका रूपमा अघि सारेको योजनालाई विद्यार्थीले अनुमोदन गरिदिएको उनले बताए।
विद्यार्थी आन्दोलनको विरासत बोकेको स्ववियुलाई राजनीतिले गाँजेको उनको भनाइ छ।
विश्वविद्यालय, त्यसअन्तर्गतका आंगिक क्याम्पसहरू जीर्ण बन्दै जानु, त्रिभुवन विश्वविद्यालय, त्यसअन्तर्गतका शैक्षिक संस्थान, अनुसन्धान केन्द्रहरू कमजोर हुनु, विश्वविद्यालय शैक्षिक क्यालेन्डरअनुसार चल्न नसक्नु र त्यसैको परिणाम स्वरूप विद्यार्थीहरूमा विकर्षण भाव पैदा हुनुमा कतै नै कतै विद्यार्थी संघ–संगठनको भूमिका देख्छन् स्वयं।
विश्वविद्यालय सुधारको आवाज उठाउनुपर्ने, प्राज्ञिक उन्नयनमा जोड दिनुपर्ने र त्यसका लागि सिर्जनशील हस्तक्षेप गर्ने सामर्थ्य राख्ने विद्यार्थी संगठनहरू मातृ पार्टीको विचार बोक्ने र उनीहरूको गतिविधिको माध्यममात्रै बनिरहेका छन्।
यसैलाई चिर्न क्याम्पसको स्ववियु वास्तवमै स्वतन्त्र हुनुपर्ने आवाज उठाउँदै आएको श्रेष्ठ बताउँछन्। विद्यार्थी संगठनको सिन्डिकेट तोडेर आफू अध्यक्षमा निर्वाचित भएको उनले बताए।
‘क्याम्पस पढ्न आएको विद्यार्थी कुनै न कुनै संगठनमा आबद्ध भएकै हुनुपर्ने, तब मात्रै लाभ पाउनसक्ने अवस्था छ। जुन संगठनले स्ववियु जित्यो, त्यही संगठनले आफ्ना सदस्य रहेका विद्यार्थीलाई सुविधा दिने अवस्था पनि छ। यसैलाई चिर्न मैले स्वतन्त्र उम्मेदवारी दिएको थिएँ,’ उनले भने, ‘आफ्नो दलको भ्रातृ संगठनले स्ववियु जितेको भएमात्र मन्त्री, प्रधानमन्त्रीले क्याम्पसलाई स्रोत–सुविधा दिने अवस्था पनि देखिन्छ। यो चिर्न जरूरी छ।’
क्याम्पसको प्रशासनिक काममा स्ववियुको भूमिका हुँदैन। क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक सुधार, प्राज्ञिक उन्ननय आदिमा स्ववियुले रचनात्मक सुझाव दिनसक्छ।
सिभिल इन्जिनियरिङतर्फ स्नातक अन्तिम वर्षमा अध्ययनरत श्रेष्ठले स्ववियुको सीमालाई बुझेकैले तदनुरूप नै प्रतिबद्धता अघि सारेको बताए।
स्वतन्त्र विद्यार्थी युनियनको स्ववियुले नै त्यसको भाव बोकेको श्रेष्ठ बताउँछन्।
आफूले अघि सारेको स्ववियुको मर्म अन्तर्गत् ‘स्व’को अर्थ स्वस्थ शैक्षिकता,‘वि’को अर्थ विश्वसनीयता र ‘यु’को अर्थ युग निर्माण रहेको श्रेष्ठले बताए। अहिले निर्वाचित भएको पुल्चोक इन्जिनियरिङको स्ववियुले यही स्व.वि.युको मर्मलाई आत्मसात गर्दै काम गर्ने पनि उनले बताए।
‘यसमा धेरै अर्थ लुकेको छ। क्याम्पसभित्र स्वस्थ शैक्षिकता हुनुपर्छ। शान्त, सुसंस्कृति वातावरणमा विद्यार्थीले पढ्न पाउनुपर्छ। क्याम्पसले दिने शिक्षा गुणस्तरीय हुनुपर्छ। त्यसका लागि स्ववियुले भूमिका खेल्नुपर्छ,’ उनले भने।
विद्यार्थीहरू नयाँ चेतनाको संवाहक भएकाले उनीहरूलाई स्वतन्त्र निर्णय गर्न दिइनुपर्ने र अमुक राजनीतिक विचारधाराको कार्यकर्ता मात्रै बनाउन नहुने आफ्नो दृष्टिकोण रहेको उनले बताए।
कक्षा दस सम्मको शिक्षा वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा लिएका र त्यसपछि कक्षा १२ सम्मको पढाइ प्रसादी एकेडेमीमा सिध्याएका श्रेष्ठको पृष्ठभूमि लामो छैन। तथापि उनी सामाजिक गतिविधिमा भने सक्रिय छन्। लियो क्लब काठमाडौं गोंगबुको उपाध्यक्ष रहेका श्रेष्ठले विद्यार्थी कालभरि कुनै पनि राजनीतिक विचारधारासँग नजिक नहुने बताए। स्ववियुलाई दलीय छायामुक्त राख्न भरमग्दुर प्रयत्न गर्ने बताए।
‘क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको मानसिक स्वास्थ्य स्वस्थ राख्न विभिन संघ–संस्था समन्वय गर्छु। विद्यार्थीको स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउँछु। क्याम्पसको शैक्षिक वातावरण समय सापेक्ष बनाउन प्राध्यापक–विद्यार्थीबीच नियमित अन्तरक्रिया गराउँछु। अध्यापक–प्राध्यापकहरूलाई नियमित तालिमको व्यवस्था गर्न आवाज उठाउँछु। क्याम्पसको भौतिक अवस्था सुधारमा मेरो भूमिका हुनेछ। यसबाहेक अमुक दलको राजनीतिक विचारसँग नजिक हुने, दलीय गतिविधिमा जाने मेरो कुनै इच्छा छैन,’ उनले भने।
श्रेष्ठले विद्यार्थी संगठनको सिन्डिकेट तोडेको बताए पनि पुल्चोककै विद्यार्थी नेताहरू भने उनलाई नेविसंघको एउटा पक्षले सघाएको दाबी गर्छ।
‘नेविसंघको एउटा समूहले सघाएको देखिन्छ,’ अखिल क्रान्तिकारीका एक नेताले सेतोपाटीसँग भने, ‘त्यसैले स्वतन्त्रले जित्ने अवस्था बन्यो।’
अनेरास्ववियुका पूर्वक्याम्पस कमिटी अध्यक्ष विशाल घिमिरेले भने स्वयंको लोकप्रियता अरू उम्मेदवारको भन्दा निकै माथि रहेको बताए।
‘उहाँले पहिले पनि अरूभन्दा धेरै मत ल्याएर स्ववियु सदस्य जित्नुभएको थियो। अहिले पनि विद्यार्थीमाझ लोकप्रिय हुनुहुन्छ। विद्यार्थीबीच घुलमिल र परिचित हुने हो भने विद्यार्थी संगठनबिना नै चुनाव जित्न सकिन्छ भन्ने उहाँ उदाहरण पनि हो,’ उनले भने।
पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा दुई स्वतन्त्रसहित ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अनेरास्ववियू मैदानमा थिए।
अनेरास्ववियुका उम्मेदवार विराज अर्यालले ६३९ मत ल्याए। नेविसंघका ऋषभ गिरीले ४८१ मत ल्याए। स्वतन्त्र उम्मेदवार दीपक जोशीले २४ मत प्राप्त गरे। त्यस्तै अनेरास्ववियूका आयुष सापकोटाले ६ मत ल्याए।