महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पहिलोपटक अध्यक्ष जितेको छ। नेविसंघकी उम्मेदवार विन्दु पोखरेल एक मतले अध्यक्ष निर्वाचित भएकी हुन्। उनी २५९ मत ल्याएर अध्यक्ष निर्वाचित भइन्।
उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी मनकुमारी बुढाले २५८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
यसअघि महाराजगञ्ज नर्सिङ एमालेनिकट अनेरास्ववियुले जित्दै आएको थियो। पहिलोपटक नेविसंघले जितेको हो।
अनेरास्ववियुले भने विरोध जनाइरहेको छ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले निर्वाचन समितिले धाँधली गरेर नेविसंघलाई अध्यक्षा जिताएको बताएका छन्।
‘प्रत्यक्षतर्फको मत गन्दा हाम्रो उम्मेदवार एक मतले पछाडि हुनुहुन्थ्यो। तर पछि समानुपातिक मत गन्दा त्यहाँ प्रत्यक्षतर्फको मत्रपत्र भेटियो। त्यो मत अनेरास्ववियुलाई आएको थियो। त्यो मत गणना हुँदा दुवै उम्मेदवारको २५९–२५९ हुन्थ्यो। तर निर्वाचन समितिले उक्त मत गणना नगरी एकतर्फीरूपमा नेविसंघ निर्वाचित भएको घोषणा गरेको छ,’ उनले भने।
उनले क्याम्पस प्रमुख निर्वाचन अनुगमन समितिमा बस्न नमिल्ने नीति उलङ्घन भएको पनि बताए।
‘दुवै उम्मेदवारको बराबरी मत आएकाले गोला प्रथा गरेर छिनोफानो गर्नुपर्नेमा एकतर्फी परिणाम घोषणा गरिएको छ,’ उनले भने।
स्ववियु सचिव, कोषाध्यक्ष लगायत पदमा नेवि संघ नै निर्वाचित भएको छ।