गत आइतबार काठमाडौंमा राजावादीहरूले पूर्व राजाको स्वागत–सत्कारका नाममा सडक र्याली गरे।
गणतन्त्र घोषणापछि राजावादीले उल्लेख्य संख्यामा समर्थक, शुभेच्छुक र व्यवस्था विरोधी शक्ति उतारेपछि गणतन्त्रवादीहरू नेताहरूबाट यसको प्रतिक्रिया स्वरूप विभिन्न धारणा आइरहेको छ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यस सवालमा मौनप्रायः छ।
पार्टी सभापति रवि लामिछानेले यसबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन्। तर गत फागुन २६ गते रूपन्देही जिल्ला अदालतको आदेश पुनरावेदन गर्न बुटवल पुगेका लामिछानेले त्यहाँ जे भने, सायद त्यसले रास्वपाको मनोदशा झल्काउँछ।
सुरूमा उनी 'बोल्ने बेला आइसकेको छैन' भन्दै सञ्चारकर्मीको जिज्ञासाबाट उम्किन खोजे।
त्यसपछि मुख खोले।
राजावादीको प्रदर्शनलाई रास्वपाले कसरी लिएको छ भनेर सञ्चारकर्मीले जिज्ञासा राखेका थिए।
'सरकार दुई तिहाईको छ। यो प्रश्न मलाई भन्दा सरकारलाई सोध्न जरूरी हुन्छ,' जबाफमा सभापति लामिछानेले भने।
सञ्चारकर्मीले 'राजावादीहरूले प्रदर्शन गरिरहेको र लोकतन्त्रको सुन्दर फूलबारी बनेर आएको रास्वपाजस्ता शक्तिहरूको दायित्व पनि व्यवस्था जोगाउने होइन र तपाईंहरू नबोल्ने' भन्दै अर्को जिज्ञासा राखेका थिए।
त्यसमा लामिछानले जे बोले, त्यसले केही संकेत गर्छ।
'नबोल्ने भनेकै छैन। हामी निरन्तर बोलिरहेका छौं। हाम्रो पार्टी बोलिरहेकै छ। छलकपट गरेर संसदमा मलाई रोकेका छन्। तर बाटो सजिलो छैन,' उनले भने, 'म एउटा कुरा चाहिँ भन्छु– मलाई पुर्न भनेर सरकारले जत्रो खाडल खन्यो, सानो मलाई पुर्न मिल्ने मात्रै खनेको भए त मलाई मात्रै पुर्न मिल्थ्यो। तर यति ठूलो खाल्डो खन्यो कि यी सबै जना यही खाल्डोमा जाकिन्छन्।'
लामिछाने बाहेक रास्वपाका अरू शीर्ष नेताहरू झनै बोलेका छैनन्।
त्यसले रास्वपाभित्रै पनि स्वाभाविक रूपमा चासो जन्माएको छ। राजावादी शक्तिको प्रदर्शनबारे मौनता साधेकोप्रति रास्वपाका कतिपय केन्द्रीय नेताहरूलाई चित्त बुझेको छैन। उनीहरूले सार्वजनिक रूपमा मुख खोलेका छैनन्, तर पार्टी केन्द्रीय सदस्यहरूको समूहमा यसबारे प्रश्न उठाएका छन्।
राजावादी शक्तिहरूले प्रदर्शन गरेकै दिन रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, निशा डाँगी लगायतले राजावादी शक्तिहरूको बृहत प्रदर्शनलाई कसरी लिने भनेर नेतृत्वबाट जबाफ मागेका थिए।
'पुरानो पार्टीहरूको बेथितिका कारण जनतामा छाएको निराशाको प्रतिनिधित्व पुरातन शक्तिहरूले गर्ने खतरालाई आजको प्रदर्शनीले कतै न कतै इंगित गर्छ। यस्तो परिस्थितिमा पार्टीका रूपमा हामी कहाँ छौं? पुराना पार्टीहरूको अकर्मण्यताका कारण देशमा अस्थिरता बढ्ने खतराको व्यवस्थापनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी गर्छ?,' एक केन्द्रीय सदस्यले भाइबर ग्रुपमा नेताहरूलाई सोधे।
अहिलेको अवस्थामा रास्वपाको राजसंस्थाप्रतिको धारणा के हो भन्ने प्रश्न थप पेचिलो बनेको एक केन्द्रीय सदस्यले बताए।
'आज राजसंस्थाको समर्थक सडकमा उत्रिएका छन्, त्यसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। हाम्रो पार्टीको राजसंस्थाप्रति धारणा के हो भन्ने प्रश्नलाई पनि थप चासोको विषय बनाएको छ। हाम्रो हजारौं समर्थकहरू सामाजिक सञ्जालमा यसबारे छलफल गरिरहेका छन्। र, कतै हामीलाई असर त हुँदैन भन्ने चिन्ताको विषय बनेको छ,' ती सदस्यले जिज्ञासा राख्दै भनेका थिए।
यस्तो अवस्थामा, पार्टीको मूल एजेन्डा संस्थागत लोकतन्त्र, सुशासन र समृद्धि हो भन्ने सन्देश प्रस्ट हुनुपर्ने उनले बताएका थिए। त्यसका लागि अहिलेको माहोलले रास्वपालाई फाइदा पनि पुग्न सक्ने तर्क उनले गरेका थिए।
'वर्तमान माहोलले हामीलाई केही फाइदा पनि हुन सक्छ। विशेषगरी अन्य दलहरूसँग बलियो वार्ता गर्ने अवसर मिल्न सक्छ। गणतन्त्रका नाइकेहरूसँग प्रभावकारी बार्गेनिङ गर्दै, हाम्रो नीति, दृष्टिकोण र प्राथमिकताहरूलाई स्थापित गर्ने यो उपयुक्त समय हो,' उनले भनेका थिए।
केन्द्रीय सदस्यको सन्देश आदानप्रदान गर्ने भाइबर ग्रुपमा महाधिवेशनको तयारी र सचिवालयको प्रभावकारिताबारे पनि प्रश्न उठेको एक केन्द्रीय सदस्यले बताए।
चैत सुरू हुँदै गर्दा वैशाखको अन्तिममा हुने भनेको महाधिवेशनबारे कुनै तयारी नहनु, सचिवालय यसमा कत्तिको दृढ छ पत्तै नहुनु, महत्त्वपूर्ण विषयमा छलफल पनि नहुनु, पार्टीको तीन–चार महिनामा एकचोटि हुने केन्द्रीय समितिको बैठकमा कोरम पुर्याउन गाह्रो हुनु, केन्द्रीय समितिलाई राखिएको प्रशिक्षण कर्मकाण्डी हुनु, केन्द्रीय समितिकै साथीहरूमा त्यसप्रति आकर्षण नहुनु, पार्टी अफिस अधिकतम समय खाली हुनु जस्ता विभिन्न विषयहरूमा कुरा भएको उनले बताए।
राजावादीको प्रदर्शनबारे चासो राखेका केन्द्रीय सदस्यले नेतृत्वबाट कुनै धारणा र निर्देशन पाउन सकेनन्। तर केन्द्रीय सदस्य गणेश कार्की, पुकार बमले पार्टीले धेरै अघि तयार पारेको दस्तावेज पढ्न सुझाए। उनीहरू त्यही समूहमै त्यस्तो सुझाव दिएका थिए। उनीहरूले सामाजिक सञ्जालमा पनि यसबारे लेखेका छन्।
'रास्वपा र रास्वपाको आधिकारिक नीति, विचार सिद्धान्त र अडानबारे कोही पनि भ्रममा नपर्नुहोला। सबैकुरा स्पष्ट लेखिएको र दस्ताबेजीकरण गरिएको छ। यदि रास्वपाका कुनै पनि सदस्य वा नेतृत्व वर्गले पार्टीको आधिकारिक लाइन विपरीत बुझ्दै, बोल्दै वा लेख्दै हुनुहुन्छ भने, उहाँले पार्टीको दस्ताबेजहरू राम्रोसँग अध्ययन गर्नुभएको छैन। कि त उहाँले रास्वपाको अभियानलाई आत्मसात र स्वीकार गर्नुभएको छैन भन्ने बुझिन्छ,' केन्द्रीय सदस्य बमले सामाजिक सञ्जालमै लेखेका थिए।
केन्द्रीय सदस्य गणेश कार्कीले पनि जलेश्वरको विस्तारित बैठकले पारित गरेको विचार, दृष्टिकोण पढ्न सुझाव दिएका थिए।
प्रत्यक्ष रूपमा नबोल्ने नीति
रास्वपाका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने – अहिले नबोल्ने नीति छ!
राजावादीको प्रदर्शनबारे नबोल्ने अघोषित नीति पार्टीले लिएको उनले बताए।
त्यही नीति अनुसारै सार्वजनिक रूपमा राजाका कदम र उननका समर्थकले सडकमा गरेको प्रदर्शनबारे नबोल्न नेतृत्वले दिएको निर्देशनको पालना गर्दै उनीहरूले खास टिप्पणी गरिरहेका छैनन्।
'राजावादीको प्रदर्शनलाई कसरी लिने, पार्टीको धारणा के हो, राजसंस्थाबारे पार्टीको दृष्टिकोण के हो भनेर प्रश्न उठेको छ,' रास्वपाका एक नेताले भने, 'तर नेतृत्व पंक्तिबाट अहिले बोल्ने बेला भएको छैन, भोलि जे पनि हुन सक्छ, सत्तासीनहरूले दिइहाल्छन् नि जबाफ, हामीले के बोलिराख्नु भन्ने कुरा आउँछ।'
नेतृत्व पंक्तिले नबोल भने पनि सार्वजनिक रूपमा रास्वपाबारे प्रश्न उठ्ने गरेकै छ। शुक्रबार मार्टिन चौतारीमा 'गणतन्त्र आजको सन्दर्भ' विषयमा विमर्श कार्यक्रम आयोजना गरिएको थियो। वक्ताका रूपमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि निम्त्याइएका थिए।
बोल्ने क्रममा प्रमुख सचेतक परियारले रास्वपा मूलभूत रूपमा पूर्ण लोकतान्त्रिक शासन प्रणाली सहितको बहुलवादमा विश्वास गर्ने गणतन्त्रवादी पार्टी भएको बताए।
'जुन जलेश्वर बैठकबाट पारित दस्ताबेजमा उल्लेख छ,' उनले भने।
पार्टीको आधिकारिक दस्ताबेज बाहेक राजावादीहरूको अहिलेको प्रदर्शनबारे बोल्ने कुरामा रास्वपाका नेताहरूको मुख टालिएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले राजावादीको प्रदर्शन, सरकारप्रति चुलिँदै गएको असन्तुष्टि रास्वपासँग सम्बन्धित विषय नै नभएको बताए।
'यो हामीले जबाफ दिनुपर्ने विषय नै होइन। हामी त, उहाँहरू जुन तरिकाले काम गर्नुहुन्छ, त्यो तरिकाले हुँदैन, यसबाट कहीँ पुगिँदैन, यसर्थ तरिका फेरौं, व्यवस्था यही भए पनि तरिका फेरौं भनेर आएका हौं। हामीसँग योजना छ, अध्ययन छ भन्छौं। उहाँहरू तिमीहरूसँग शहीद नै छैन, तिमीहरूको त रगत नै बगेको छैन भनेर हामीलाई होच्याउनुहुन्छ,' उनले भने, 'अस्ति १७–१८ हजार मानिस जसरी सडकमा निस्किए, त्यसको जबाफ हामीले दिने नै होइन। किनकि हामीलाई प्रश्न सोधेर आएकै होइन। उनीहरूको प्रश्न सत्ता गठबन्धनलाई हो। उहाँहरूले दिने हो जबाफ।'
उनले व्यवस्था विरूद्ध जानुपर्ने अवस्था अहिले नरहेको बताए। आचरण परिवर्तन अहिलेको मुख्य एजेन्डा रहेको उनको धारणा छ।
'सात दशकमा सात पटक संविधान ल्यायौं। सात दशकमा ६ वटा राजनीतिक व्यवस्था परिवर्तन गर्यौं। तर आचरण परिवर्तन भएन। समस्या आचरणमा हो। काम गर्ने तौरतरिका हो। काम गर्नुपर्ने प्रवृत्ति हो। तर हामी जहिले पनि प्रणाली परिवर्तन गरेर बस्यौं। कुन चाहिँ रकेट साइन्स आउनेवाला छ र व्यवस्था परिवर्तन गर्नु!,' उनले भने।
रास्वपाले राजावादीहरूकै प्रदर्शनको दिन पार्टी कार्यालय चःमतिमा पत्रकार भेटघाट राखेको थियो। अन्तिम समयमा स्थगित गर्यो। स्थगित गरेको कारण बताएको थिएन। कार्यवाहक प्रवक्ता झाले राजावादीको प्रदर्शनका कारण सबैको ध्यान त्यतै केन्द्रित हुने भएकाले स्थगित गरेको बताए।
'सबैको ध्यान उता छ। पत्रकारहरू पनि र प्रश्नहरू पनि उतै छन्। विरोध, असन्तुष्टि पनि सत्तातिरै छ। सबैमा असन्तुष्टि, अन्योल, आक्रोशमा भएको बेलामा होलीको सन्दर्भमा भेटघाट उपयुक्त नहोलाजस्तो लागेर सिनियर नेतासँग छलफल गर्यौं। उहाँहरूले पनि अहिले आवश्यक छैन भन्नुभयो। राजनीतिमा कहिलेकाहीँ सान्दर्भिकता हेर्नुपर्छ,' उनले भने।