चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा (एमाले) र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच तालमेल भएको छ।
काठमाडौं उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका तीन आंगिक क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूबीच चुनावी तालमेल भएको हो। उपत्यकाबाहिर एक आंगिक क्याम्पसमा तालमेल भएको छ।
उत्पकाको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, रत्नराज्य (आरआर), त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियूबीच तालमेल भएको छ। मोरङको डिग्री क्याम्पसका पनि अनेरास्ववियु र अनेरास्ववियू मिलेर चुनाव लडेका हुन्।
आरआरमा एमाले अनेरास्ववियुले कोषाध्यक्ष र एउटा सदस्य अनेरास्ववियूलाई दिएको छ। त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा एकीकृत समाजवादीलाई एक प्रत्यक्ष र एक समानुपातिक सदस्य दिएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
मोरङको डिग्री क्याम्पसमा भने एकीकृत समाजवादीनिकट अनेरास्ववियूले स्ववियु अध्यक्ष लिएको छ। बाँकी पदमा अनेरास्ववियुले उम्मेदवारी दर्ता गरेको छ।
तर त्यहाँ विवाद छ। एमाले मोरङ जिल्ला कमिटीले एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबाट अध्यक्षमा निर्मल भण्डारीलाई सघाउने र बाँकी पद अनेरास्ववियुले लिने सहमति गरे पनि असन्तुष्ट खेमाले त्यसलाई मानेको छैन।
अनेरास्ववियु संस्थापन पक्षको त्यो समूहले क्याम्पसमा तालाबन्दी गरेको छ। नेपाली कांग्रेसनिकट नेवि संघले पनि तालाबन्दी गरेका कारण निर्वाचनको कार्यतालिका नै प्रभावित बनेको छ।
यता काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ विरूद्ध सबै वामपन्थी विद्यार्थी संगठन एक भएका छन्।
त्यहाँ एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी (बहुमत), अनेरास्ववियु छैठौं, अनेरास्ववियू (समाजवादी), नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघलगायत विद्यार्थी संगठन एक भएर नेविसंघविरूद्ध चुनाव लडेका हुन्।