प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गरिसक्दा सत्ता पक्षभन्दा विपक्षी सांसदहरू बढी खुसी देखिन्थे। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशीका तीन विपक्षी दलका नेताहरूको अनुहारमा विजेता भाव झल्किरहेको थियो।
'देख्नुभयो त, आज प्रधानमन्त्रीले बोलेको?,' प्रदेश सभा परिसरमा एकीकृत समाजवादीकी एक सांसद आफ्नै दलकी अर्की सांसदसँग खुसी साट्दै थिइन्, 'हामीले त्यत्ति अडान नलिएको भए आज हामीलाई नै सोत्तर पार्थे।'
जबाफमा अर्की सांसद 'हो नि' भनेर सही थाप्दै थिइन्। प्रमुख सचेतक विद्या चाम्लिङ र सांसद खिनु लङ्वाबीचको यो संवादले उनीहरूको 'मुड' झल्काउँथ्यो। माओवादी सांसदहरू पनि यस्तै हर्षित मुडमा थिए।
यी दुई दल मंगलबार बिहानसम्म पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बैठक बहिष्कार गर्ने धम्की दिइरहेका थिए। यस्तो धम्की दिइरहेका उनीहरू ओलीले आफूहरूको सर्त पालना गरेकोमा खुसी बनेका हुन्।
आफूहरूलाई कुनै घोचपेच नगरी बोल्ने भए मात्रै प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा बस्ने नत्र बहिष्कार गर्ने दुई दलको अडान थियो। प्रधानमन्त्रीले कसैलाई पनि घोचपेच नगर्ने विषयको ग्यारेन्टी मुख्यमन्त्री हिक्मत कार्कीले लिएका थिए।
प्रधानमन्त्री ओली विपक्षीलाई 'पुग्ने गरी भन्न सक्ने' नेतामध्ये पर्छन्। विभिन्न तुक्का हालेर होस् वा पौराणिक इतिहासका प्रसंग अघि सारेर, आलोचकहरूलाई बोलेरै 'भित्तामा पुर्याउन सक्ने सामर्थ्य' प्रधानमन्त्रीमा प्रचुर छ। उनको यस्तो वाककलाबाट माओवादी र एकीकृत समाजवादी सबैभन्दा बढी निशानामा पर्दै आएका छन्।
पार्टी कार्यक्रम होस् कि संसदको रोष्ट्रम, ओलीले बारम्बार आफ्नो यो स्वभाव प्रदर्शन गर्दै आएका छन्। सम्भवतः कोशीका विपक्षी दलहरू ओलीले बोलीबाट साध्ने निशानाबाट जोगिन चाहन्थे।
प्रधानमन्त्रीले पनि उनीहरूको सर्त अनुसार नै ज्यादै संयमित बनेर बोलिदिए। जम्मा दुई पटक पानी पिएर एक घन्टा १० मिनेट अर्थात ७० मिनेट लगातार बोलेका प्रधानमन्त्रीले कोशीको भौगोलिक विशेषता र यसका सम्भावनाबारे त बोले नै, कौशिकी ऋषि, विश्वमित्रहरूको पौराणिक कथा हाल्न पनि भ्याए।
पहिलेका ऋषि–महर्षीहरू अहिलेका प्राध्यापकहरू जस्तै हुन् भनेका ओलीले ती ऋषि–महर्षीहरूले कोशी किनारलाई नै मुख्य कर्मथलो बनाएको पनि दाबी गरे। पूर्वीय ज्ञान परम्पराका उम्दा प्रशंसक ओलीले पहिले जस्तै पूर्वीय ज्ञान परम्पराको प्रशंसा पनि दोहोर्याए।
प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा ओलीले कृषि क्षेत्रको सम्भावनाबारे धेरै कुरा गरे। अदुवा, अलैंची र मरिचको सम्भावना उच्च रहेको बताएका उनले ल्वाङको बोट कस्तो हुन्छ तपाईंहरूले देख्नुभएको छ भनेर पनि सोधे।
यसअघि अन्यत्रका प्रदेश सभाहरूलाई सम्बोधन गर्दा भन्दा शान्त र संयम सुनिएका ओली विपक्षीहरूले बैठक बहिष्कार गर्ने भयकै कारण संयमित भएका हुन्?
एमाले सांसदहरू प्रश्न सुनेर हाँसे।
झापाकै एक सांसदले टिप्पणी गरे, 'हाम्रो अध्यक्षको आजको भाषणमा के पुगेन, के पुगेन जस्तो लागिरहेको छ।'
प्रधानमन्त्रीलाई प्रदेश सभामा अरू बेलाभन्दा संयम तुल्याउने पृष्ठभूमि केही दिनयता तयार भएको थियो। प्रधानमन्त्री ओली पछिल्लो समयमा प्रदेश सभाहरूलाई सम्बोधन गर्दै हिँडिरहेका छन्।
यही सिलसिलामा कोशी सरकारले पनि प्रधानमन्त्रीको सम्बोधनको मिति तय गर्यो। र, सभामुखलाई जानकारी गरायो। यसबारे विपक्षी दलहरूले ढिलो गरी थाहा पाए। औपचारिक जानकारी नआएको भन्दै उनीहरूले बहिष्कारको धम्की दिए।
मुख्यमन्त्री कार्कीसँग विपक्षी नेताहरू इन्द्र आङ्बो र राजेन्द्र राईको त्यति हार्दिक सम्बन्ध छैन। त्यसैले विपक्षका दुई नेताको संसदमा हुने सम्बोधन मुख्यमन्त्री कार्की सधैंजसो छल्छन्।
आइतबार आङ्बोले बोल्दा पनि कार्की संसदमा थिएनन्। त्यसपछि आङ्बो क्रुद्ध बने। प्रधानमन्त्रीको सम्बोधन बहिष्कारको चेतावनी उनले प्रदेश सभाकै बैठकमा दिए। आङ्बोलाई राजेन्द्र राईले पनि साथ दिए।
मंगलबार दिउँसो दुई बजेका लागि तय भएको प्रधानमन्त्रीको प्रदेश सभाको सम्बोधन अघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीले 'यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधन बैठक बहिष्कार गर्ने' धम्की दिए।
विपक्षीको यस्तो धम्कीपछि मुख्यमन्त्री कार्कीले विपक्षीका दुई सर्त मान्ने प्रतिबद्धता जनाए। दुई दलले मुख्यमन्त्रीले विपक्षीलाई बेवास्ता गरेको भनेर चित्त दुखाएपछि मुख्यमन्त्रीले 'आत्मालोचना' गरे। अनि विपक्षीकै माग बमोजिम 'प्रधानमन्त्रीले प्रदेश सभामा तितो र घोचपेच गरेर नबोल्ने' ग्यारेन्टी मुख्यमन्त्रीले लिए।
यी दुवै दलका नेताहरूले मुख्यमन्त्रीलाई थप सर्त राखेका थिए, 'यदि हामीलाई घोचपेच गरेर प्रधानमन्त्रीले बोले, हामी बीचैमा सभा छाडेर बाहिरिने छौं।'
दुइटा वाम दलले यसरी मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई अँचेट्न खोजिरहेका बेला अर्को विपक्षी राप्रपाले पनि आफ्नो सर्त अघि सार्यो।
'यदि प्रधानमन्त्रीले राजाको नाम लिएर विरोध गरे हामी नियमापत्ति गर्ने छौं। उठेर विरोध जनाउने छौं,' राप्रपा प्रमुख सचेतक सविना बजगाईंले एमाले प्रमुख सचेतक विदुर लिंथेपमार्फत पठाएको सन्देश यस्तो थियो।
प्रदेश सभामा प्रधानमन्त्रीले बोल्दै गर्दा विपक्षीले बहिष्कार गरे अहिलेको समयमा राम्रो सन्देश नजाने भन्दै प्रदेशका नेताहरूले ओलीसम्म खबर पुर्याएको र त्यसलाई प्रधानमन्त्रीले मनन गरेको एमाले नेताहरू बताउँछन्।
माओवादी र एकीकृत समाजवादीलाई पूर्वसर्त अनुसार कुनै घोचपेच नगरेका प्रधानमन्त्रीले राप्रपालाई पनि धेरै चिढ्याएनन्। तर मुलुक अब पछि फर्किन नसक्ने अडान दोहोर्याएर उनले राजावादीहरूलाई गुलियो सपना नदेख्न सन्देश भने दिए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताए। जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकता अनुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि उनले उल्लेख गरे।
'यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्था विरोधी आवाज उठाउन आवश्यक छैन,' उनले भने, 'संविधानसम्मत शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिन्छ। बनाइन्छ।'
ओलीले थपे, 'हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौं। गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौं। समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ।'
प्रधानमन्त्री ओलीले अगाडि भने, 'नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौं। रोजगारीका अवसरमा सिर्जना गर्न चाहन्छौं। त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुपरेको छ। त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो। संविधान बमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ।'
मंगलबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोल्ने कार्यक्रम तय थियो। प्रचण्डले संसदलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री ओली हेलिकप्टर चढेर मोरङको गोठगाउँबाट विराटनगरतिर उड्दै थिए।
विमानस्थलमा केहीबेर कार्यकर्ताको स्वागत थापेर ओली देवकोटा चोकस्थित प्रदेश सभा भवन आइपुग्दा प्रचण्डले काठमाडौंमा आफ्नो सम्बोधन टुंग्याइसकेका थिए। त्यस क्रममा प्रचण्डले 'प्रधानमन्त्री ओलीमा घमण्ड बढेको हो कि संस्कारहीनता' भनेर सोधेका थिए।
उसो त सत्ता सहकार्य टुटेपछि प्रचण्ड ओलीसँग कहिल्यै खुसी छैनन्। प्रचण्डको बेखुसीको ग्राफ बढाइदिन प्रधानमन्त्री ओली पनि सिपालु छन्। हरेकजसो मञ्चमा प्रचण्डविरूद्ध तिखो प्रहार गर्ने प्रधानमन्त्रीले पछिल्लो महिना दिनभित्र प्रचण्डका दुइटा संसद सम्बोधन छलिसकेका छन्।
मंगलबार पनि माघ २४ कै जस्तो घटना दोहोरियो। मुख्य विपक्षी नेता प्रचण्डले संसदलाई सम्बोधन गरिरहँदा ओली भने कोशी प्रदेशका विभिन्न कार्यक्रमहरूमा व्यस्त थिए।
त्यसैले प्रचण्डले मंगलबार फेरि सोधे, 'प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि संस्कारहिनता हो कि कुण्ठा हो? त्यसको जबाफ पनि आफै खोज्नुहोला।'
प्रचण्डको आग्रह अनुसार ओलीले जबाफ खोज्लान् कि नखोज्लान् त्यो उनै जानुन्। तर प्रचण्डको दल र ओलीका सदाबहार 'विरोधी' माधव नेपालको दलका कोशी प्रदेशस्थित सांसदहरू भने 'ओलीलाई सीमाहीन भएर बोल्न नदिएको' मा खुसी भइरहेका छन्।
प्रधानमन्त्रीलाई पहिल्यै वाचाबद्ध बनाएर घोचपेच गर्न पाइन्न भन्ने सर्त राख्नु कति जायज हो?
सेतोपाटीको प्रश्नमा पूर्व मुख्यमन्त्री एवम् एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने, 'ओली कमरेड सीमाहीन भएर, मर्यादा नाघेर गाली गर्नुहुन्छ। त्यही भएर यस्तो सर्त अघि सार्न बाध्य भयौं। शेरबहादुर देउवा, प्रचण्ड वा अरू कोही नेता भएको भए यस्तो सर्त राख्दैन थियौं।'
प्रधानमन्त्रीको सम्बोधन अघि यस्तो सर्त राखेका राईसँग ओलीले सम्बोधन सकेपछि भने प्रदेश सभाभित्रै हात मिलाएर छोटो गफ गरेका थिए।
सम्बोधन सकेर ओलीले सभामुख आसन छोड्दै गर्दा राई सहितका सबै सांसद उठे। मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई भेट्न राईलाई बोलाए। उनी ओली छेउमै पुगे अनि नमस्कार गर्दै भने 'म पनि यहीँ छु कमरेड।'
भेटबारे राईले सुनाए, 'उहाँले देख्दैछु भन्नुभयो। हाँस्यौं।'