अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सैन्य सहायता अचानक रोकेपछि अमेरिकाको विश्वसनीयता घट्ने मात्रै नभएर उसको हतियार व्यापारमा समेत फरक पर्ने देखिएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले पछिल्लो समयमा युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता रोकेका छन्।
युक्रेन वार्तामा बस्न तयार नदेखिएको जनाउँदै युक्रेनलाई दबाब हाल्न भन्दै उनले युक्रेनसँग बाँडिरहेको खुफिया सूचना रोकेका छन्। त्यतिमात्रै नभएर युरोपेली देशले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई दिइरहेको प्राविधिक सहायता पनि रोकेका छन्।
ती लडाकू विमान अमेरिकासँग युरोपेली देशले किनेका हुन् र किनेको समयको करार अनुसार अमेरिकाले तिनको सञ्चालनका लागि प्राविधिक सहायता दिनुपर्छ। तर ट्रम्पले एकलौटी रूपमा युरोपेली देशले युक्रेनलाई दिएका लडाकू विमान पनि नचल्ने गरी प्राविधिक सहायता रोकेका छन्।
युरोपेली देशले अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुमति लिएर मात्रै ती विमान युक्रेनलाई दिएका थिए। अहिले ट्रम्पले एकलौटी रूपमा ती विमानलाई प्राविधिक सहायता रोकेकाले युरोपमा अमेरिकी हतियारको विश्वसनीयतामाथि शंका उठेको छ।
अहिले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई प्राविधिक सहायता रोकेको अमेरिकाले भोलि युरोपेली देशलाई चाहिएको बेलामा यसरी नै ती प्राविधिक सहायता रोक्न सक्ने डर जन्माएको छ।
लामो समयसम्म नेटोको सदस्य भएर अमेरिकासँग रक्षा सहकार्य गर्दै आएका युरोपेली देशका विश्लेषकले अमेरिकी हतियार एकैचोटि नचल्ने बनाउने ‘किल स्वीच’ अमेरिकासँग रहेको दाबी गर्थे। अमेरिकाले सो ‘किल स्वीच’ प्रयोग गरेर धोका दिनसक्ने तर्क गर्थे। अहिले ट्रम्पले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई दिइरहेको प्राविधिक सहायता रोकेपछि सो तर्कलाई सहायता मिलेको छ।
अमेरिकाको हतियार व्यापारमा अहिले सबभन्दा ठूलो हिस्सा अत्याधुनिक एफ-३५ लडाकू विमानको छ। उसले नेटो सदस्य र एकदमै बलियो सम्बन्ध भएका केही देशलाई मात्रै एफ-३५ विमान बेच्ने गरेको छ।
ट्रम्पले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई दिइरहेको प्राविधिक सहायता रोकेपछि युरोपेली देशमा एफ-३५ विमान नकिन्न जनताले दबाब दिन थालेका छन्।
ट्रम्पले एकलौटी रूपमा अरू देशसँग गरेको सम्झौता तोडेको उदाहरण दिँदै उनीहरूले एफ-३५ विमान किन्न पहिल्यै गरेको करार समेत तोड्नु पर्ने भन्न थालेका छन्।
यसबारे गम्भीर बहस उठिसकेको भनेर जर्मनीको रक्षा खर्चसम्बन्धी संसदीय समितिको सदस्य रहेका एक सांसदलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले लेखेको छ।
ट्रम्पका कारण अमेरिकाले गुमाएको विश्वासका कारण अमेरिकी हतियार कम्पनीलाई घाटा हुनसक्ने वाल स्ट्रिट जर्नलले जनाएको छ।
ट्रम्पले युक्रेनलाई दिइरहेको सैन्य सहायता रोकेका कारण र उनको पुटिनसँग राम्रो सम्बन्धले गर्दा युरोपेली देशले युक्रेनलाई सहयोग गर्न र आत्मरक्षाका लागि आफ्नो रक्षा खर्च बढाउने घोषणा गरेका छन्।
उनीहरूले त्यसका लागि आगामी दशकमा खर्बौं डलरले रक्षा खर्च बढाउने भएका छन्।
सामान्य समयमा भए त्यसको ठूलो हिस्सा अमेरिकी लडाकू विमान लगायत अत्याधुनिक हतियार किन्न खर्च हुन्थ्यो। तर ट्रम्पका कारण युरोपेली देशमा अमेरिकी हतियार किन्न नहुने कुरा उठ्न थालेको छ।
त्यसै कारणले युरोपेली देशले रक्षा खर्च बढाउने घोषणा गरेपछि युरोपेली हतियार निर्माताको सेयरको भाउ ह्वात्तै बढे पनि ठूला अमेरिकी हतियार कम्पनीको सेयर भाउ खासै नबढेको वाल स्ट्रिट जर्नलले औंल्याएको छ।
पछिल्ला वर्ष रूस र युक्रेनको युद्धको कारण अमेरिकी हतियारको व्यापारमा व्यापक वृद्धि भएको छ। तर ट्रम्पका कारण त्यसमा कमी आउने खतरा बढेको छ।
स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानले (सिप्री) आइतबार जारी गरेको प्रतिवेदन अनुसार सन् २०२० देखि २०२४ सम्मको पाँच वर्षमा अमेरिकाको हतियार निर्यात अघिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतभन्दा धेरैले बढेको छ।
रूसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेका कारणले पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय हतियार व्यापारको ४३ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको भनेर सिप्रीको प्रतिवेदनलाई उद्दृत गर्दै विभिन्न पश्चिमा मिडियाले लेखेका छन्।
रूससँग लड्न अमेरिकाले आफ्ना हतियार दिएको र युरोपेली देशहरूले पनि धेरै जसो अमेरिकी हतियार नै किनेर दिएकाले अमेरिकी हतियारको व्यापार बढेको हो। त्यस्तै अरूबेलाको विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रूसको सबै हतियार युक्रेनमाथि प्रहार गर्न नै खर्चेको कारण पनि रूसले अरू देशलाई हतियार बेच्न पाएन। त्यसैले पनि अमेरिकी हतियारको व्यापार हिस्सा यो अवधिमा बढेको हो।
सिप्रीको प्रतिवेदन अनुसार सो अवधिमा युक्रेन सबैभन्दा ठूलो हतियार आयातकर्ता रह्यो। अमेरिका लगायत पश्चिमा देशले दिएको सहायता रकम पनि ठूलो परिमाणमा हतियार किन्न खर्चेकाले पछिल्लो पाँच वर्षमा उसको आयात १०० गुणाले बढेको छ। युरोपेली देशहरूले पनि १५५ प्रतिशतले हतियार आयात बढाएका छन्। रूसले युक्रेन कब्जा गरे अरू युरोपेली देशमा पनि हमला गर्ने डरले समेत उनीहरूले आफ्नो सुरक्षाका लागि हतियार धेरै किनेका हुन्। त्यस्तै उनीहरूले कतिपय हतियार किनेर युक्रेनलाई दिएकाले पनि यो परिमाण बढेको हो।
युक्रेनलाई अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको सैन्य सहायताको कडा आलोचना गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दलिललाई पनि यो प्रतिवेदनले केहि हदसम्म गलत देखाएको छ। पछिल्लो समय युक्रेनलाई सबै खाले सैन्य सहायता गरेका ट्रम्पले सित्तैमा युक्रेनलाई हतियार दिएर अमेरिकालाई घाटा भएको दाबी गर्छन्। तर यो प्रतिवेदनले भने युक्रेन युद्धका कारण अमेरिकी हतियार उत्पादकलाई फाइदा भएको देखाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले दिएको सैन्य सहायताले अमेरिकालाई पनि फाइदा भएको बताउने गर्छन्। अमेरिकाले दिने सबै हतियार अमेरिकी नै भएकाले सो सैन्य सहायताले अमेरिकी अर्थतन्त्रलाई नै मद्दत गर्छ भन्दै उनले बाइडेनकै कार्यकालको बेला पनि तर्क गर्थे। यो प्रतिवेदनले उनको सो तर्क सही भएको देखाएको छ।
अर्कोतर्फ रूसले आफ्ना हतियार युक्रेनसँग खपत गरेकै कारण फ्रान्सले रूसलाई उछिनेर दोस्रो ठूलो निर्यातकर्ता बनेको पनि सो प्रतिवेदनले देखाएको छ।
सो अवधिमा रूसको हतियार निर्यात अघिल्लो पाँच वर्षको तुलनामा ६४ प्रतिशतले घटेको छ। फ्रान्स दोस्रो ठूलो निर्यातकर्ता भए पनि अमेरिकाको तुलनामा उसको नरियात एकदमै थोरै छ। अमेरिकाले फ्रान्सकोभन्दा चार गुणा भन्दा धेरै हतियार बेचेको देखिन्छ।
युक्रेनमाथि हमला गर्नु अघिका दुई वर्षमा पनि रूसको हतियार निर्यात घटेको सो प्रतिवेदनले देखाएको छ। यसको मुख्य कारण रूसी हतियारको सबभन्दा ठूला ग्राहक चीन र भारतले बिस्तारै रूसी हतियार कम किन्न थालेकाले पनि हो।
भारतले पछिल्लो समय विस्तारै अमेरिका लगायत पश्चिमा हतियारको आयात बढाउन थालेको छ। चीनले भने पछिल्ला वर्षमा आफ्ना लागि चाहिने हतियार आफै बनाउन थालेको छ। त्यसैले पनि सो अवधिमा चीनको हतियार आयात ६४ प्रतिशतले घटेको छ। रूसले युद्ध लडिरहेका कारण चीनले चाहे पनि रूसले हतियार बेच्न नसक्ने भएकाले पनि चीनको हतियार आयात घटेको हुनसक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)