नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएकोलगायत विषयमा नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलका सांसदहरूले प्रश्न उठाएपछि ऊर्जा मन्त्री दीपक खड्काले जबाफ दिएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सबै प्रतिपक्षी दलहरूका तर्फबाट भन्दै घिसिङमाथि ऊर्जा मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको र शून्य नम्बर दिएकोबारे सरकारको जबाफ माग गर्दै रूलिङ मागेपछि सभामुख देवराज घिमिरेले रूलिङ गरेका थिए।
ऊर्जा मन्त्री खड्काले बिहीबारको प्रतिनिधि सभा बैठकमा झन्डै आधा घन्टा लगाएर नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक घिसिङबारे उठेका कुराहरू प्रष्ट पार्न खोजेका थिए।
उनले घिसिङ एक जनाले मात्र लोडसेडिङ अन्त्य नगरेको उल्लेख गर्दै ४५० मेगावाट विद्युत त्यसबेला भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारत सरकारलाई यसको श्रेय जाने पनि बताए।
घिसिङले कानुन नमानेको र सरकारलाई नटेरेको पनि उनको भनाइ छ।
साथै मन्त्री खड्काले घिसिङलाई काँधमा बोकेर नहिँड्न पनि सांसदहरूलाई आग्रह गरेका छन्।
भिडिओ: