पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाउनका लागि योगदान दिन सुझाव दिएकी छन्।
‘केपी शर्मा ओली सपना, संघर्ष र संकल्प नामक कृति लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा, उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरिन्।
‘अध्यक्ष ओलीले नेकपा (एमाले) को आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा, उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्छु। साथै भविष्यमासमेत यस किसिमको रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट योगदान पुग्ने नै छ,’ उनले भनिन्।
उनले पार्टीका समस्त नेता तथा कार्यकर्ताको प्रधानमन्त्री ओलीबाट अपेक्षा पनि यस्तै राजनीतिक सिर्जनात्मकतामा रहेको बताइन्।
‘मलाई लाग्छ, पार्टीका समस्त नेता तथा कार्यकर्ताको उहाँबाट अपेक्षा पनि यस्तै राजनीतिक सिर्जनात्मकतामा रहेको हुनुपर्छ। जननेता मदन भण्डारीले अगाडि सार्नुभएको नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको आत्मसात गरेको छ। जबजको मार्गदर्शनमा नेकपा एमालेले आफूलाई एक निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गरी सामाजिक न्यायसहितको सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने संकल्प गरेको छ,’ उनले भनिन्।
मदन भण्डारीले अघि सारेको जबजको प्रभावकारी कार्यान्वयनको लागि नेतृत्व गरेका अध्यक्ष केपी ओलीसहित सिंगो पार्टीको पहलकदमीलाई आफूले प्रशंसा गर्न चाहेको भण्डारीको भनाइ थियो।
आज विमोचित कृति पत्रकार गणेश पाण्डेले सम्पादन गरेका हुन्। कृतिमा विभिन्न व्यक्तित्वले प्रधानमन्त्री ओली राजनीतिक छविबारे धारणा राखेका छन्।