ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार चर्काचर्की भयो। यसपछि अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहित सबै खाले सहायता बन्द गर्ने खतरा बढेको छ।
कति विश्लेषकले ट्रम्प र युक्रेनको सम्बन्ध सुधार नहुने गरी बिग्रिसकेको भनेका छन्। अरू कतिले जेलेन्स्कीले राजीनामा नदिएसम्म ट्रम्पले युक्रेनलाई सहायता नदिने दाबी गरेका छन्।
केहीले भने अझै पनि ट्रम्प र जेलेन्स्कीको सम्बन्ध सुधार हुनसक्ने ठानेका छन्। यसको सुरूआत जेलेन्स्कीले चर्काचर्कीको केही घण्टापछि वक्तव्य निकालेर गरिसकेका छन्।
ट्रम्प र जेलेन्स्कीको राष्ट्रपति स्तरको संयुक्त पत्रकार सम्मेलन सौहार्दपूर्ण चलिरहेका बेलामा उपराष्ट्रपति भान्स बीचमा पसेर कटुता थपेका थिए। सो पत्रकार सम्मेलनमा एक पत्रकारले ट्रम्पलाई युक्रेन तर्फ कि रूस तर्फ भनेर सोधेका थिए।
ट्रम्पले उनी कसै तर्फ नभएर अमेरिका र संसारको पक्षमा भएको उत्तर दिएर अन्तिम प्रश्न लिने भनिसकेका थिए। तर भान्सले आफूले त्यसमा थप्ने भनेर बोलेका थिए।
भान्सले कडा शैलीमा बोल्दै अघिल्ला राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनहरूमा रूस विरूद्ध आक्रामक शैली अपनाउँदा पनि काम नलागेकाले ट्रम्पले कूटनीति थालेको बताए।
त्यसको प्रतिकार गर्दै जेलेन्स्कीले पुटिनले कैयौं सम्झौता तोडेको फेहरिस्त सुनाउँदै कस्तो खाले कूटनीतिको कुरा गरेको भनेर भान्सलाई सोधेका थिए।।
त्यसपछि राष्ट्रपति स्तरको पत्रकार सम्मेलनको मर्यादा मिचेर भान्स जेलेन्स्कीमाथि खनिए। जेलेन्स्कीले पनि कडा रूपमा प्रतिवाद गरे। अनि ट्रम्प पनि आक्रामक भएर सौहार्दपूर्ण चलिरहेको पत्रकार सम्मेलनमा चर्काचर्की भएको थियो।
चर्काचर्कीका बेला जेलेन्स्कीले शुक्रबार युक्रेनलाई सहयोग गरेकामा ट्रम्पलाई धन्यवाद समेत नभनेको भनेर भान्सले निहुँ खोजेका थिए।
चर्काचर्कीपछि जेलेन्स्कीले निकालेको वक्तव्यमा उनले सबैखाले सहायताका लागि कृतज्ञ रहेको भन्दै ट्रम्प, अमेरिकी संसद र जनतालाई धन्यवाद दिएका थिए। अमेरिकाको सहयोग युक्रेनलाई बाँच्न मद्दत गर्नमा महत्त्वपूर्ण रहेको भन्दै उनले थपे, 'हामीलाई राष्ट्रपति ट्रम्पको समर्थन हुनु महत्त्वपूर्ण छ।'
बेलायती प्रधानमन्त्री कियर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोंले जेलेन्स्की र ट्रम्पको सुलह गराउने प्रयास गरिरहेको देखिन्छ। चर्काचर्कीपछि म्याक्रों लगायत कैयौं युरोपेली सरकार प्रमुखले वक्तव्य निकालेर जेलेन्स्कीको समर्थन गरेका थिए।
तर चर्काचर्कीको २४ घण्टाअघि ह्वाइट हाउसमै ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका स्टार्मरले त्यस्तो वक्तव्य निकाल्नुको साटो तुरून्तै ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका थिए। स्टार्मरले दुई नेतासँग के कुरा भयो भनेर नखुलाए पनि उनीहरूबीच सुलहको प्रयास गरेको अनुमान गरिएको छ।
म्याक्रोंले पनि शनिबार ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका थिए। उनले पनि के कुरा भयो भनेर सार्वजनिक रूपमा खुलाएका छैनन्। तर दुवै जनासँग कुरा गरेपछि जेलेन्स्की अमेरिकासँग वार्ता ब्युँताउन तयार रहेको म्याक्रोंले बताएका छन्।
कतिपय मिडियाहरूका अनुसार ट्रम्प जेलेन्स्कीसँग शुक्रबार भेट्न तयार थिएनन्। जेलेन्स्कीको अनुरोधमा म्याक्रोंले भेटका लागि ट्रम्पलाई मनाएका थिए। जेलेन्स्की ट्रम्पलाई पुटिनले भेट्नुअघि आफूले भेट्न व्यग्र थिए। त्यसैले खनिज सम्झौता गर्ने नाममा जेलेन्स्की अमेरिका पुगेका थिए।
शनिबार ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेपछि म्याक्रोंले अमेरिकालाई युक्रेनी प्राकृतिक स्रोतमा पहुँच दिन जेलेन्स्की खनिज सम्झौता गर्न अझै तयार रहेको बताएका छन्। चर्काचर्कीपछि पनि जेलेन्स्की खनिज सम्झौता गर्न ह्वाइट हाउसमा केही बेर कुरेर बसेका थिए। उनले त्यसपछि निकालेको वक्तव्यमा पनि खनिज सम्झौता गर्न युक्रेन तयार रहेको भनेका थिए।
ह्वाइट हाउसको घटनापछि लामो हवाइ यात्रा गरेर शनिबार सिधै बेलायत पुगेका जेलेन्स्कीलाई स्टार्मरले न्यानो स्वागत गरे। आइतबार लन्डनमा स्टार्मर, म्याक्रों सहित १४ युरोपेली नेताहरू भेला भएर युक्रेनलाई कसरी भरथेग गर्ने भन्ने छलफल गर्ने कार्यक्रम पहिल्यै तय थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि भाग लिने अपेक्षा गरिएको सो छलफलका लागि जेलेन्स्की लन्डन पुगेका हुन्।
स्टार्मरले जेलेन्स्कीलाई शनिबारै भेटेर बेलायतले युक्रेनलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए। साथै उनले छोटो समयमै आइतबार जेलेन्स्कीको बेलायती राजा चार्ल्ससँग भेट पनि मिलाइदिए।
स्टार्मर र जेलेन्स्कीको भेट क्रममा युक्रेनमा हातहतियार बनाउने कारखाना खोल्न बेलायतले २ अर्ब ८४ करोड डलर ऋण दिने घोषणा गरेको छ। सो ऋण जफत गरिएको रूसी सम्पत्तिबाट प्राप्त हुने नाफा प्रयोग गरेर तिरिने छ।
स्टार्मर र म्याक्रों दुवैले गत साता ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका थिए। त्यसैले चर्काचर्कीपछि पनि ट्रम्प र जेलेन्स्कीको सुलह गराउन सकिनेमा उनीहरू आशावादी छन्। चर्काचर्कीपछि ट्रम्प आफैले सामाजिक सञ्जालमा गरेको पोस्टको अन्त्यमा 'शान्तिका लागि जेलेन्स्की तयार भएपछि फिर्ता आउन सक्ने' भनेका छन्। यसले पनि सुलहको ढोका अझै बन्द भइनसकेको कतिले तर्क गरेका छन्।
सुलहबारे फ्रेन्चभन्दा पनि बेलायती अधिकारी अझ धेरै आशावादी देखिन्छन्।
युरोपियन युनियन अमेरिकालाई नोक्सान गर्न बनाइएको संस्था ठान्ने ट्रम्प ब्रेक्जिटपछि युरोपियन युनियनबाट बाहिरिएको बेलायत प्रति त्यति वैरभाव राख्दैनन्। ट्रम्पकी आमा स्कटल्यान्डमा जन्मेकाले बेलायत उनको मावली देश हो। र, उनी बेलायती राजपरिवारको शान-शौकतको इज्जत गर्छन्।
त्यही बुझेर अमेरिका भ्रमणको बेला स्टार्मरले ट्रम्पलाई बेलायतको राजकीय भ्रमण गर्न राजा चार्ल्सको तर्फबाट हस्त-लिखित निमन्त्रणा दिएका थिए। बेलायतको राजासँग (वा रानी) दुईपटक राजकीय भेट गर्ने अवसर पाउने ट्रम्प पहिला विदेशी सरकार प्रमुख हुनेछन्।
यी सब कारणले ट्रम्प र जेलेन्सकीको सुलह गराउने मात्रै नभएर, युक्रेन-रूस युद्ध रोक्न ट्रम्पले थालेको वार्तामा युरोपको तर्फबाट स्टार्मर सहभागी हुने भनेर बेलायतीहरू विश्वस्त देखिन्छन्।
युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधि बिना साउदी अरेबियाको राजधानी रियादमा फेब्रुअरी १८ मा अमेरिका र रूसले वार्ता गरेका थिए। ट्रम्पले पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच साउदी अरेबियामा वार्ता हुने घोषणा गरेका थिए। सो वार्तामा युक्रेन र युरोप दुवैको प्रतिनिधित्व हुनुपर्ने भनेर युरोपेली देशहरूले माग गर्दै आएका छन्।
जेलेन्स्कीले सार्वजनिक रूपमा माफी मागे सुलह गर्न तयार रहेको सन्देश ट्रम्पका अधिकारीले युरोपेली देशहरूलाई पठाएको भनेर कति पश्चिमा मिडियाले लेखेका छन्।
ट्रम्प आफैले पनि जेलेन्स्कीलाई तानाशाह भनिसकेपछि 'मैले त्यसो भनेको थिएँ र?' भन्दै आफ्नो आरोप फिर्ता लिइसकेका छन्। त्यसैले जेलेन्स्कीले पनि राष्ट्रहितमा ट्रम्पसँग माफी मागे अचम्म हुने छैन। चर्काचर्कीपछि अमेरिकाका केही ठाउँमा समेत युक्रेनको समर्थनमा प्रदर्शन भएको छ। त्यसैले युक्रेनलाई चटक्कै छाडी नहाल्न थोरै भए पनि ट्रम्पमाथि दबाब हुनेछ।
ट्रम्पले सुलह गरेर युक्रेनलाई सहायता दिइराख्न राजी भए पनि, नभए पनि, केही घण्टापछि लन्डनमा हुने युरोपेली नेताहरूको सम्मेलनमा रक्षा खर्च बढाउन स्टार्मरले आग्रह गर्ने बुझिएको छ।
बेलायतले युक्रेन र समग्र युरोपको सुरक्षाका लागि वैदेशिक सहयोगको बजेट काटेर रक्षा खर्च बढाउने घोषणा गरिसकेको छ। अमेरिकाले साथ छोडे पनि युक्रेनलाई रूससँग लड्न सहयोग गर्न युरोपेली देशहरूले रक्षा खर्च बढाउनुपर्ने तर्क स्टार्मरले गर्ने अनुमान छ।
स्टार्मर र म्याक्रोंले मुख्यतः अमेरिकालाई मनाएरै संयुक्त रूपमा युक्रेनलाई सहयोग गर्नेमा जोड दिने अपेक्षा गरिएको छ। युरोपेली देशहरूले रक्षा खर्च बढाए ट्रम्प प्रशन्न भएर अमेरिकी सहायता जारी राख्न मान्ने सम्भावना अझै बढ्ने स्टार्मरको आशा छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)