जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ।
फागुन फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुने उनले बताए।
त्यस्तै बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए।
यसैबीच सरकारले भूमि अध्यादेश राष्ट्रिय सभामा स्वीकृत गराउन जसपा नेपालको साथ खोजिरहेको छ।
जसपा नेपालले भूमि अध्यादेशका केही प्रावधान आपत्तिजनक रहेको बताउँदै फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ। जसपा नेपालकै कारण सरकारले भूमिसहित ६ वटा अध्यादेश संसदको कार्यसूचीमा राख्न सकेको छैन।
बैठकमा यसबारे पनि छलफल हुने जसपा नेपालले जानकारी दिएको छ।
बैठक बिहान ११ बजे सुरु हुनेछ ।