शक्तिशाली राष्ट्रहरूले रक्षा खर्च आधा घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन्।
गत नोभेम्बरमा निर्वाचन जिते पछि ग्रिनल्यान्ड र पनामा नहरमा अमेरिकी स्वामित्व र नियन्त्रण स्थापित गर्न सेना परिचालन गर्ने, क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने जस्ता उट्पट्याङ कुरा गरिरहेका ट्रम्पले रक्षा खर्च कटौती गर्ने कुरा पनि गरिरहेका छन्।
आफ्नो सैन्य वर्चस्व कायम गर्न शक्तिशाली राष्ट्रहरूले हरेक वर्ष खर्बौं डलर रक्षा खर्च गर्छन्। यो खर्च घटाए युद्ध हुने खतरा घट्ने मात्रै नभएर हात-हतियारमा गरिने पैसाले विश्वभरिका गरिबको मानिसको जीवनस्तर उकास्न सकिने भनेर अर्थशास्त्रीहरूले भन्ने गर्छन्।
ट्रम्पले जीवनमा जहिले पनि सौदाबाजीलाई सबभन्दा धेरै महत्व दिएका छन् र उनले आफूलाई अब्बल सौदागर भएको दाबी गर्छन्। यही सौदाबाजीको क्षमता प्रयोग गरेर रूस र युक्रेनको युद्ध रोक्छु भनेर उनले त्यसको प्रक्रिया पनि थालिसकेका छन्।
युक्रेनमा जारी युद्ध अन्त्य गर्नेबारे ट्रम्पले पुटिनसँग फेब्रुअरी १२ मा करिब ९० मिनेट टेलिफोन संवाद गरेका थिए। उनले पुटिनसँग गरेका सबै कुरा सार्वजनिक नभइसकेको भए पनि युक्रेनको युद्ध रोक्नेदेखि बाहेक शक्तिशाली राष्ट्रहरूले रक्षा खर्च कटौती गर्ने कुरा पनि भएको अनुमान गर्न सकिन्छ।
रूसी सरकारी टेलिभिजनसँग सोमबार दिएको अन्तर्वार्तामा पुटिनले रक्षा खर्च कटौती गर्ने विषयमा पनि कुरा गरेका छन्।
'मलाई त्यो कुरा राम्रो लाग्यो। अमेरिकाले ५० प्रतिशत घटाउने छ, अनि हामीले पनि ५० प्रतिशत घटाउने छौं। अनि चीनले चाहे उसले पनि ५० प्रतिशत घटाउने छ,' पुटिनले भने।
त्यो राम्रो प्रस्तावका लागि कुरा गर्न रूस तयार रहेको पनि उनले बताए।
गत वर्ष अमेरिकाको रक्षा बजेट आठ खर्ब २४ अर्ब डलर थियो तर उसले रक्षा बजेटमा नपर्ने समेत गरेर लगभग १० खर्ब डलर रक्षा मामलामा खर्च गरेको मानिन्छ।
चीनको गत वर्षको रक्षा बजेट दुई खर्ब ३१ अर्ब डलर थियो। तर कम्युनिस्ट शासनमा पारदर्शिता नहुने भएकाले अमेरिकासँग प्रतिस्पर्धामा उत्रिएको चीनले रक्षामा अझ धेरै खर्च गरिरहेको हुनसक्ने पश्चिमा विश्लेषक बताउँछन्।
त्यस्तै युक्रेनमा युद्ध लडिरहेको रूसले गत वर्ष करिब एक खर्ब २० अर्ब डलर जति रक्षामा खर्च गरेको मानिन्छ।
ट्रम्पको रक्षा खर्च कटौती प्रस्तावमा आधिकारिक छलफल सुरू नभएकाले यसबारे विस्तृत रूपमा थाहा छैन। तर युक्रेनमा तीन वर्षदेखि युद्ध लड्न रूसले व्यापक खर्च गरिरहेकाले युद्ध सुरू हुनु अघिको रूसको रक्षामा खर्चलाई आधार मानिने अपेक्षा गर्न सकिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)