राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले नेपाली कांग्रेस जातीय, लैङ्गिक, क्षेत्रीय र सामुदायिक समानताका मुद्दाहरूमा पूर्णतः अनुदार र असहिष्णु रहेको टिप्पणी गरेको छ।
पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सत्तारूढ कांग्रेस हाल क्लासिकल लिबरल्सको स्वरूपमा सीमित रहेको उल्लेख गरिएको हो। पार्टी अध्यक्ष राजेन्द्र महतोले पेस गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ।
‘जसले न बहुसांस्कृतिक सुधारको पक्षपोषण गर्छ, न त सामाजिक न्यायको परिप्रेक्ष्यलाई स्वीकार्छ। यसले अझै पनि एकल सांस्कृतिक राष्ट्र–राज्यको अवधारणा अंगालेर आफ्नो वर्णीय वर्गीय स्वार्थ सुरक्षित राख्न चाहन्छ,’ प्रतिवेदनमा भनिएको छ।
राजनीतिक रूपमा कांग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको, अनुदार कन्जर्भेटिभ दृष्टिकोण अँगाल्दै लोकतन्त्रलाई केवल औपचारिक र सीमित दायरामा सीमित गराएको पनि उल्लेख गरिएको छ।
अर्थ राजनीतिक दृष्टिले कांग्रेस दलाल र नोकरशाही पुँजीवादलाई अँगाल्दै, अन्तर्राष्ट्रिय नवसाम्राज्यवादप्रति झुकेको प्रतिवेदनमा भनिएको छ।
‘यसले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेभन्दा परनिर्भरता सिर्जना गरिरहेको छ। सामाजिक–सांस्कृतिक रूपमा कांग्रेस जातीय, लैंगिक, क्षेत्रीय र सामुदायिक समानताका मुद्दाहरूमा पूर्णतः अनुदार र असहिष्णु छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निष्कर्षतः नेपाली कांग्रेस २१ औं शताब्दीको राष्ट्रिय मुक्तिको प्राथमिक विपक्षी शक्ति हो र यसलाई सोही रूपमा व्यवहार गरिनुपर्छ।’
त्यस्तै, राष्ट्रिय मुक्ति क्रान्तिले नेकपा एमाले राजनीतिक अस्थिरताको कारक रहेको बताएको छ।
एमालेले प्रारम्भमा उत्पीडित जाति–वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि हाल यो नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको पार्टी बनेको राष्ट्रिय मुक्ति क्रान्तिको दृष्टिकोण छ।
‘कम्युनिस्ट वैचारिकताबाट टाढा रहेर पुँजीवाद र अवसरवादको मिश्रण भएको यो पार्टीले स्पष्ट नीति निर्माण गर्न असफल भएको छ। यद्यपि कम्युनिस्ट विचारधारा नै विश्वव्यापी रूपमा असफल सिद्ध भैसकेको छ। एक त असफल विचारधारा अर्को उक्त विचारधाराबाट पनि अलग भएको हुँदा यो गुट सबभन्दा बढी अवसरवादी भएको छ,’ प्रतिवेदनमा भनिएको छ।
एमालेले अवसरवादी चरित्र प्रदर्शन गर्दै आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि नपर्ने पनि उसको विश्लेषण छ।
‘संविधान सभा र राज्यविहीन राष्ट्रका मुद्दामा नकारात्मक भूमिका खेलेपछि यस पार्टीभित्र रहेका उत्पीडित राष्ट्रियताका नेता–कार्यकर्ताले सम्बन्ध विच्छेद गरेका छन्। त्यो सम्भावना अझै व्यापक छ। हाल यो पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ। एमाले, आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण, राष्ट्रिय मुक्तिको लागि सबभन्दा खतरनाक शक्ति हो। यसलाई प्रमुख प्रतिस्पर्धी शक्तिको रूपमा चिह्नित गर्दै, यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ,’ प्रतिवेदनमा उल्लेख छ।