नेकपा एमालेका प्रतिनिधि सभा सांसद वसन्त नेम्वाङ १३ महिनापछि संसद आउजाउ गर्न थालेका छन्।
उनको बोली शालीन, सौम्य र भद्र मानिन्थ्यो। त्यो भने अझै उघ्रिइसकेको छैन। सदनमा केही बोल्दैनन्, इसारा पनि गर्दैनन्। ध्यानपूर्वक सुनेझैं देखिन्छन्। चुपचाप। बडो शान्त!
'संसदभित्र बुबा खासै बोल्न खोज्नुहुन्न। आँखा भने चनाखा देखिन्छन्। दायाँबायाँ हेर्न खोजेझैं पनि देखिनुहुन्छ,' छोरा प्रभातले सेतोपाटीसँग भने।
वसन्त पोहोर मस्तिष्कघातबाट थलिएका थिए। केही तंग्रिएपछि संसद छिरेका उनी माघ २४, २५ र २६ गतेको बैठकमा उपस्थित भए। संसदको चालू अधिवेशनका चारवटा बैठकमा उपस्थित भए। त्यसअघिका दुई अधिवेशनमा बिरामीले उनलाई 'गयल' राखिदियो।
आइतबारको बैठकपछि मात्र उनी संसद आउन थालेको चर्चा भएको हो।
उनी मस्तिष्कघातबाट अझै तंग्रिइसकेका छैनन्। शरीरमा असर बाँकी छ। कण्ठबाट टुटेफुटेको वाक्य निस्किन्छ, तर परिवारका सदस्यले समेत पूरै भेउ पाउँदैनन्। औंला र आँखा दुवैले इसारा गरेपछि बल्ल उनले भन्न खोजेको परिवारले बुझ्छ।
यस्तो अवस्थाका उनी संसद बैठक आउन भने मन गर्न थालेको छोरा प्रभात बताउँछन्। उनी परिवारका सदस्यलाई संसद बैठकमा जान संकेत गरिरहन्छन्। उनीहरू रोकतोक पनि गर्दैनन्।
प्रभातका अनुसार संसद गएका दिन वसन्त पुलकित हुन्छन्। अनुहारमा अभूतपूर्व आभा छाउँछ। मस्तिष्कघातबाट त्राण मिलेझैं हुन्छ। यसले मस्तिष्कघातको असर केही दूर होला कि भन्ने आशा परिवारलाई छ।
संसद जान थाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वसन्तको भेट भएको छैन। केही सांसदसँग भने नियमित भेट भइरहन्छ। सांसदहरू भेट्दा निकै आत्मीय व्यवहार प्रकट गर्छन्। औंलाले इसारा गर्दै सबैलाई चिनेको संकेत पनि गर्छन्।
'यस्ता बिरामी भावनात्मक हिसाबले निकै कमजोर हुँदा रहेछन्। बुबा पनि आफ्ना साथी (सांसद), आफूभन्दा माथिल्लो तहका नेतासँग बोल्न खोज्दा, उनीहरू देख्दा रून खोज्नुहुन्छ। आँखा रसाउन थालिहाल्छ,' छोरा प्रभातले भने।
परिवारका सदस्यले वसन्तलाई अहिले नै संसद ओहोरदोहोर गराउन हतार गरिसकेका थिएनन्। चिकित्सकहरूले पनि केही समय स्वास्थ्य लाभ गर्नुपर्ने सुझाएकै थिए। तर संसद जाँदा वसन्तले खुसी अभिव्यक्त गर्ने हुँदा बैठकमा सहभागी गराउन थालेको प्रभातले बताए।
वसन्तलाई अहिले पनि साताको तीन दिन थेरापी लगिरहनुपर्छ। ललितपुरस्थित हात्तीवनमा सपरिवार बस्दै आएका वसन्त त्यहीँबाट मेडिसिटी अस्पतालमा थेरापीका लागि आउजाउ गर्छन्। औषधि र नियमित थेरापीले वसन्तको अवस्था सुध्रिँदै गएको छ।
त्यसो त वसन्त सपरिवार गत मंसिर २ गते गृहजिल्ला पाँचथर पनि पुगेका थिए। आफन्तका अतिरिक्त आफ्ना मतदाता भेट्दा भावुक भएका थिए। त्यहाँका वयोवृद्धहरूले 'अहो! हाम्रो वसन्त त फुर्तिलो भएछन्!' भन्दै आशीर्वाद दिएका थिए।
त्यसयता उनको अवस्थामा धेरै सुधार आइसकेको छ।
'अहिले त बुबा मजाले १०-१५ पाइला हिँड्न सक्नुहुन्छ। साथी चाहिँदैन,' प्रभातले भने, 'यत्तिको बुबा देख्न पाउँदा हामी अत्यन्तै खुसी छौं। झन् संसद जान थालेदेखि हामीलाई पनि बुबा निको भएको आभास हुन थालेको छ।'
मस्तिष्कघात भएयता पहिलोपटक माघ २४ गते संसद जाँदा उनले आफ्ना सहधर्मीहरूसँग भेटघाट गरेका थिए। एमाले सांसद गोकर्ण विष्ट, योगेश भट्टराई, रघुजी पन्त लगायत नेताहरू वसन्त बसेकै आसनमा भेट्न पुगेका थिए।
'उहाँले त संसद कसरी चलेको छ, गतिविधि के छ भनेर पो चासो राख्न थाल्नुभयो,' सांसद सुहाङ नेम्वाङले भने, 'त्यसपछि पार्टीका नेताहरूले धेरै नबोल्न इसारा गर्नुभयो। बरू उहाँको स्वास्थ्यबारे चासो राख्नुभयो।'
त्यसपछि सांसद गोकर्ण विष्टले 'तपाईं धेरै चिन्ता नलिनूस्, बरू आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्' भनेको सुहाङले बताए।
वसन्त प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिमा छन्। उनलाई धेरै बेर संसद भवन परिसरमा राख्ने गरिएको छैन। सांसद लगायत धेरैसँग घुलमिल गराइएको पनि छैन।
'उहाँको स्वास्थ्य लाभ होस्, एकांकी अनुभूति नहोस् भनेर लाने-ल्याउने गरिएको हो। संसद आएपछि उहाँ खुसी देखिनुहुन्छ,' सुहाङले भने।
वसन्त नेम्वाङ अघिल्लो माघ १७ गते अचानक बिरामी परेका थिए। ताप्लेजुङको जिल्ला सचिवालय बैठकमा अतिथिका रूपमा सहभागी हुन पुगेका वसन्त बसेको ठाउँबाट उठ्न नसकेपछि हतार हतार फुङलिङको होटलबाट अस्पताल पुर्याइएको थियो।
जिल्ला अस्पतालले मस्तिष्कघात भएको बताएपछि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी ल्याएर उपचार थालिएको थियो। उनी ४५ दिन अस्पताल बसेर हात्तीवनस्थित घर गएका थिए।
वसन्त पाँचथरका शालीन र शिष्ट नेता मानिन्छन्। त्यहाँबाट उनी चारपटक सांसद निर्वाचित भए।
पाँचथर सदरमुकाम फिदिममा २०१८ चैतमा जन्मिएका उनी ३० वर्षकै उमेरमा सांसद निर्वाचित भएका थिए। २०४८, २०५६, २०७४, २०७९ सालमा सांसद निर्वाचित भएका उनी संविधानसभाका दुवै चुनावमा उम्मेदवार थिएनन्। २०५१ सालमा पनि पाँचथरबाट उम्मेदवार हुँदा कांग्रेसबाट पराजित भएका थिए।
उनी दुई पटक मन्त्री पनि भए। केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएका बेला २०७६ फागुन ८ देखि २०७७ असोज २९ सम्म मन्त्री बने। त्यति बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका नेम्वाङ २०७८ असारमा पुनः मन्त्री बनेका थिए।
उनले केही दिन सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, कृषि तथा पशुपन्छी मन्त्रालय र खानेपानी मन्त्रालय समेतको जिम्मेवारी सम्हालेका थिए।
पार्टीमा उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्।
***