प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तरको कार्यसूची थियो।
यो नियमित कार्यसूची हो। वर्णानुक्रमानुसार नाम परेका सांसदहरूले अगाडि नै प्रश्न पठाउँछन्। प्रधानमन्त्रीले उत्तरको तयारी गरेर आउँछन्।
आइतबार पनि प्रधानमन्त्री ओलीले १० जना सांसदहरूको प्रश्नको जबाफ दिने कार्यसूची थियो।
९ जनासँग राम्रै प्रश्नोत्तर चल्यो। प्रधानमन्त्री ओलीले आफ्नो स्वाभाविक लय समात्दै उत्तर दिए। त्यसमा केही छेडखानी, व्यंग्य पनि मिसिएकै थिए।
अन्तिम प्रश्न गर्ने पालो थियो, आम जनता पार्टीका अध्यक्षसमेत रहेका सांसद प्रभु साहको।
तर यो स्वाभाविक भएन।
२०७९ को प्रतिनिधि सभा निर्वाचनअगाडि मात्रै नेकपा (एमाले) परित्याग गरेका सांसद साहका प्रश्न सुनेर प्रधानमन्त्री एकाएक झोक्किए।
रिसाएका प्रधानमन्त्री ओलीले प्रश्नको जबाफ दिन उचित ठानेन्।
उनले केही प्रश्नको ‘ओठे जबाफ’ भने दिएका थिए।
तर केही बेर मौन रहेर उनले अन्तिममा ‘धन्यवाद छ उहाँलाई’ भन्दै प्रश्नोत्तर नै बिट मारिदिए।
प्रधानमन्त्री झोक्किएको प्रसंग पूरा गर्नुअघि सांसद साहले के प्रश्न सोधेका थिए भनेर हेरौं।
- नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ? ती अवैध सम्पत्तिहरूलाई राज्यको स्वामित्वमा ल्याउन तपाईंले के–के गर्नुभयो? खुलेआम हुण्डीबाट ती अवैध सम्पत्तिहरू विदेश लैजाँदा रोक्न नसकने तपाईंलाई हामी सक्षम भन्ने कि असक्षम? प्रधानमन्त्रीज्यू! ति अवैध सम्पत्तिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ?
- झण्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम–सम्झौताअनुसार प्रत्येक वर्ष झण्डै ४० खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब मात्र आउने सम्भावना छ। मेरो प्रश्न छ, हाम्रा नेपाली युवाले विदेशमा खुन–पसिना बगाएर कमाएको पैसा हुण्डीमार्फत् खुलेआम कालो धनसँग मिलान भइराख्दा तपाईं किन मौन बस्नु भयो? नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साट्नलाई विदेशमा मरिरहेका छन्? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन?
- वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफनो ट्रेड युनियनको हक पाएका छैनन्। किन ट्रेड युनियनको हक न पाउने गरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१ औं शताब्दीमा नेपाली मजदुरलाई दासताको नारकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनु भएको हो?
- नेपालमा जिडिपीर राजस्वको अनुपात हेर्दा सरकारले जिडिपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ। ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जिडिपी ३० प्रतिशत हुन आउँछ। यसलाई कर आतंक नभन्ने त के भन्ने प्रधानमन्त्रीज्यू? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ?
- तपाईंले सार्वजनिक रूपमा भारत भ्रमण जाँदैछु भन्नुभएको थियो। त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआई किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन?
- यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो। तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन? सत्ता सहयात्रामा रहेका दलले नै अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नुहुन्छ?
- संघीय राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त छन्। तर प्रधानमन्त्रीजीले चारैतिर विकासको चकाचौध मात्र देख्नु हुन्छ। यदी त्यसो हो भने, ती राजमार्गहरुमा तपाई आफै किन यात्रा गर्नुहुन्न ? त्यहाँ, लगातार भइरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?
- आवासविहीनहरूलाई घर बनाउन 'सुरक्षित आवास' भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो? प्रधानमन्त्री जी यसको जवाफ दिनूस्। धन्यवाद!
साहका यी प्रश्नहरू ओलीले धैर्यपूर्वक सुने। उनको अनुहारको भावभंगिमा खासै परिवर्तन देखिएन।
उत्तर दिने बेलामा भने उनी पूरै बदलिए। र, झोक्किन पुगे।
‘उहाँका प्रश्नहरू... उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन्,’ प्रधानमन्त्रीले यति भने।
सांसदको लहरबाट गडगडाहट ताली छुट्यो। ताली बजाउने सत्ता पक्षका सांसद थिए। बढी एमालेका।
ओली त्यतिमै रोकिएनन्। उनले संसद्जस्तो गरिमामय ठाउँमा यति, यस्तोवाला भाषा, कि तपाईंलाई के लाभ भयो? विदेश युवा पठाएर जस्ता.. भाषा भन्दै पुनः आक्रोश पोखे।
यति भनिरहँदा प्रधानमन्त्री अरू क्षुब्ध देखिए।
‘म म्यानपावर कम्पनीको मान्छे हो?,’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गर्दै भने।
प्रधानमन्त्री ओलीले सांसद साहतिर फर्किएर ‘यो अहिले म सरकारमा आएपछि.. ८ महिनाबाट सुरू भएको हो? तपाईंले भन्या ७० लाख ८ महिनामा गएका हुन्?’ भने।
उनी थप आक्रोशित सुनिए।
त्यसपछि अधैर्य बनेका प्रभु साह आसनबाट जुरूक्क उठे। उनले माइक औंलाले ढ्याक्ढ्याक पार्दै थिए। सभामुख देवराज घिमिरेले आफ्नो आसनबाट प्रश्नोत्तरको नियम सम्झाउन थाले।
‘माननीय सदस्य यहाँ आसन ग्रहण गर्नुहोस्। मैले पहिले नै निर्देशन जारी गरिसकेको छु। यसमा दोहोरो, बहस, छलफलहरू हुँदैनन् भन्ने कुराहरू....यसकारण तपाईं आसन ग्रहण गर्नुस्,’ सभामुखको स्वर पनि चर्कै थियो।
त्यतिबेलासम्म ओली पनि चुप नै थिए। अनुहारबाट भने आक्रोश मत्थर भइसकेको थिएन।
‘उहाँले...माननीयजीले गर्नुभएको प्रश्नमा जबाफ दिइरहनुपर्ने छैन। ती सबैको उत्तर आफैले बोकेर आउनुभएको छ। त्यसकारण मैले धेरै उत्तर दिइरहन परेन। उहाँलाई धन्यवाद छ,’ यति भनेर प्रधानमन्त्रीले आफ्नो भनाइ बिट मारे।
सांसद साहको ८ प्रश्नले प्रधानमन्त्रीको आक्रोशबाहेक अरू जबाफ पाएनन्।