पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।
शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा बेलुन उडाउन लाग्दा नजिकैको आगोले बेलुनमा आगो लागेपछि त्यसको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोलेको थियो।
दुवै जनालाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुर अस्पताल पुर्याइएको थियो।
कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन उपचार कक्ष (आइसियु)मा भर्ना गरिएको जनाएको छ।
अस्पतालका अनुसार प्रारम्भिको मूल्यांकन गर्दा दुवै जनाको शरीरको ५/६ प्रतिशत जलेको पाइएको छ।
'तर अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाल उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उपचारमा प्राध्यापक डा. वि.डी झा र डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राध्यापक डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञको टोली, डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली खटिएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवै जनाको उपचार भइरहेको जानकारी दिए।