दुई दशकभन्दा लामो समयदेखि शेरबहादुर देउवालाई निरन्तर साथ र सहयोग गर्दै आइरहेका नेपाली कांग्रेसका नेताहरूको एक समूह शुक्रबार बिहानै बूढानीलकण्ठ पुग्यो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अग्रसरतामा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, बालकृष्ण खाणलगायत देउवा निवास पुगेका हुन्।
यही समूहको आडभरोसामा देउवा कांग्रेसको १० औं महाधिवेशनदेखि तत्कालीन संस्थापनसँग संघर्षमा थिए।
उनै नेताहरूको सहयोगमा देउवा २०७२ फागुनमा १३ औं महाधिवेशनबाट सभापति जिते, २०७८ मंसिरको महाधिवेशनमा पनि पार्टीभित्र आफ्नो प्रभुत्व कायमै राख्न सफल भए।
सभापति देउवाको कार्यकाल सकिन १० महिना बाँकी छ। विधानले नै अब देउवालाई तेस्रो कार्यकाल सभापति पदमा उम्मेदवार हुन दिँदैन।
पाँच वटा महाधिवेशनमा देउवाको नेतृत्वमा रहेका नेताहरूभित्र १५ औं महाधिवेशनमा देउवा समूहबाट को सभापति हुने भन्ने निर्क्यौल भइसकेको छैन। सँगसँगै देउवाले कसलाई आशीर्वाद दिन्छन् भन्ने यी नेताहरूमा पनि सन्देह छ।
एक्लाएक्लै भेटमा सभापति देउवाले भावी सभापतिमा अघि सार्ने व्यक्तिको नाम नलिँदा समूह नै बनाएर पूर्वपदाधिकारीहरू शुक्रबार देउवा निवास पुगे र समूह एकढिक्का बनाउन भूमिका खेलिदिन आग्रह गरेर फर्किएका छन्। तर सभापति देउवाले अबको सभापति उम्मेदवार को हुन्छ भन्नेबारे केही कुरा खोलेका छैनन्।
पूर्वउपसभापति गोपालमान श्रेष्ठले १० औं महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्दै आएका नेताहरू र सभापति देउवाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिएको बताए।
‘पूर्वउपसभापतिहरू, वर्तमान उपसभापतिसहित पूर्वमहामन्त्रीहरू, वरिष्ठ केन्द्रीय सदस्यहरू आज छलफलमा बसेको हो, १० औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म देउवालाई सघाएका नेताहरू छलफल गरेका हौं,’ उनले भने, ‘सभापति र लामो समयदेखि सहयोग गर्दै आइरहेका साथीहरूका बीचमा अन्तर्क्रिया भएको हो।’
बूढानीलकण्ठमा करिब साढे दुई घन्टा भएको छलफलमा देउवा समूहलाई एकढिक्का राख्दै १५ औं महाधिवेशन तयारीमा जुट्नुपर्ने कुरा मुख्य रह्यो।
‘विगतमा हामीले तपाईंलाई सहयोग गरेको हो नि भनेर सभापतिजीलाई सस्मरण गराएको हो,’ श्रेष्ठले भने। नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका बेला सभापति देउवा जेल परेको र त्यसबेला आफूले पार्टी हाँकेको, दु:खमा देउवालाई सहयोग गरेकोले अब देउवाले पनि अबको सभापतिमा आफूलाई सहयोग गर्नुपर्ने श्रेष्ठले बताउँदै आएका छन्।
‘शेरबहादुर देउवा पछि पार्टीका वरिष्ठ नेताहरूबीच छलफल गरेर अब कसरी अघि बढ्ने भन्नेबारे हामी छलफल गरिहाल्छौं नि!,’ श्रेष्ठले भने, ‘मैले देउवालाई १० औंदेखि १४ औं महाधिवेशनसम्म सहयोग गरेको थिएँ, मजस्तै धेरै साथीहरूले उहाँलाई सहयोग गर्नुभएको थियो।’
यो समूहमा देउवापछि वरिष्ठ श्रेष्ठ हुन्। ‘तर यो कुरा सभापतिज्यूले नै भन्नुपर्ने हुन्छ नि,’ उनले कुराकानीको बिट मार्दै भने।
श्रेष्ठले १४ औं महाधिवेशनका बेला पनि सभापति आफूलाई छाड्न देउवालाई आग्रह गरेका थिए तर देउवा नै दोहोरिए। श्रेष्ठ प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ टिकट पाएनन्, समानुपातिकमा नाम भए पनि परेनन्। उनी कांग्रेस राजनीतिमा किनारामा धकेलिएका छन्।
बूढानीलकण्ठ पुगेका अर्का नेता हुन्- पूर्वउपसभापति विमलेन्द्र निधि।
‘पार्टी महाधिवेशन र उम्मेदवारीबारे एकतर्फी कुरा आइरहेको छ। यही सन्दर्भमा हामीले सभापति देउवालाई भेटेर हामी विगतदेखि नै तपाईंको साथमा छौं र १४ औं महाधिवेशनमा पनि मैले र प्रकाशमानजीले पनि दोस्रो चरणमा तपाईंलाई साथ दिएको हो, साथमा छौं, १५ औं महाधिवेशनसम्म पनि तपाईंकै साथमा रहिरहनेछौं भनेका हौं,’ निधिले भने, ‘तर तपाई त अब सभापति लड्नु हुन्न, तपाईंले अभिभावकत्व लिनुपर्यो, पार्टीलाई कसरी एक ढिक्का बनाउने त्यो कुरामा जानुपर्यो।’
१५ औं महाधिवेशन पनि समयमै गराउन उनीहरूले सभापति देउवाको ध्यानाकर्षण गराए। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले विधानअनुसार चार वर्ष अन्तरालमा २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन हुनुपर्ने उनीहरूको भनाइ छ।
देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका अर्का नेता हुन्- प्रकाशशरण महत।
उनी अहिले कांग्रेस प्रवक्ता छन्। १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार भए पनि पराजित उनलाई सभापति देउवाले प्रवक्ता बनाएका थिए।
प्रवक्ता महत १५ औं महाधिवेशन तत्काल नहुने बताउँछन्। विधानले सभापतिलाई दिएको अधिकारअनुसार कार्यकाल एक वर्ष थप हुनेमा उनी ढुक्क देखिए। ‘अब २०८३ मंसिर वा त्यसपछि १५ औं महाधिवेशन हुने हो,’ महतले भने।
सभापति देउवाकहाँ पुगेर के कुराकानी भयो त? प्रवक्ता महतले सामूहिक रूपमा सभापतिलाई भेटेर कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी केन्द्रित रहेको बताए।
१५ औं महाधिवेशनका बारेमा पनि छलफल भयो। ‘भावी सभापतिका बारेमा आ-आफ्नो ढंगले साथीहरूले दाबी गरिराख्नु भएकै छ,’ उनले भने, ‘शेरबहादुर देउवा टिमबाट पनि दाबी हुन्छ, तर अहिले धेरै प्रचार नगरेको मात्रै हो।’
महत पनि १५ औं महाधिवेशनमा सभापति पदका आकांक्षी छन्।
तर शुक्रबारको छलफलमा कुनै नेताले पनि आफू सभापति उठ्ने र देउवाले समर्थन गर्नुपर्ने विषयमा मुख खोलेनन्। भावी सभापतिमा यो समूहबाट देउवाले नै नाम तोकिदिने विश्वासमा नेताहरू छन्।
१५ औं महाधिवेशनसम्म देउवा समूहलाई एकढिक्का बनाएर लैजानेमा नेताहरू सहमत देखिए। बालकृष्ण खाण, एनपी साउदलगायत संस्थापनइतर समूहका नेता शेखर कोइराला प्रमुख अतिथि बनेका कार्यक्रमहरूमा सहभागी हुने गरेको र त्यसैका आधारमा गुट परिवर्तनको चर्चा भइरहेका सन्दर्भमा उनीहरूले देउवा समूहलाई नै एकढिक्का बनाउने बताएका हुन्।
‘यो समूह एक ढिक्का हुन्छ, हामी सबै एकै ठाउँमा हुन्छौं,’ महतले भने।
बूढानीलकण्ठ पुगेका अर्का नेता, एनपी साउदले भने छलफलमा भएका कुराबारे जानकारी दिन मानेनन्। प्रवक्ताबाट नै सूचना लिन उनको आग्रह थियो।
साउदले पछिल्लो समय केन्द्रीय सदस्यहरू डिला संग्रौला, अब्दुल सतारसहित विभिन्न जिल्ला पुगेर कार्यकर्ता भेटघाट र अन्तर्क्रिया गरिरहेका छन्। उनी १४ औं महाधिवेशनमा सभापति देउवा समूहबाट महामन्त्रीका दाबेदार थिए तर त्यसबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका प्रदीप पौडेल महामन्त्री उम्मेदवार भएपछि उनी केन्द्रीय सदस्य मात्रै उठे।
१५ औं महाधिवेशनमा साउद महामन्त्रीको आकांक्षी रहेको चर्चा हुने गरेको छ।
बूढानीलकण्ठमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री शशांक कोइराला र प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य बालकृष्ण खाण र एनपी साउदलगायत उपस्थित थिए।
यीमध्ये खड्का, श्रेष्ठ, कोइराला र सिंह सभापति पदका आकांक्षी छन्। सिंह १४ औं महाधिवेशनमा देउवाविरूद्ध सभापति नै उठेका थिए तर पहिलो चरणमा कसैले ५१ प्रतिशत भोट नल्याउँदा दोस्रो चरणमा सिंहले देउवालाई नै सहयोग गरे।
देउवा समूहभित्रै रहेका पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाले आलोपालो 'लन्च मिटिङ' गर्दै १५ औं महाधिवेशनकेन्द्रित छलफल गरिराखेका छन्। १४ औं महाधिवेशनमा उनीहरूले यस्तै छलफल गरेर अन्तिममा निधि र सिंह पनि सभापति उठेका थिए तर दोस्रो चरणमा देउवालाई नै सघाएका थिए।
यो पनि: निधि, सिंह र कोइरालाको आलोपालो 'लन्च मिटिङ'
यीमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याएको प्रकरणमा मुछिएपछि राजनीतिबाट किनारा लागेका थिए। केन्द्रीय समिति बैठकमा उपस्थित भए पनि उनले बोलेका थिएनन्। पछिल्लो समय उनी गृहजिल्ला रूपन्देहीमा पार्टीले गर्ने कार्यक्रमहरूमा सक्रिय हुन थालेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाले आफू सभापति उठ्ने र देउवाको पनि साथसमर्थन रहने दाबी गर्दै आएका छन्। अहिले राष्ट्रिय सभामा दल नेता रहेका कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा सभापति उठेर दोस्रो चरणमा देउवालाई सहयोग गरेका थिए भने १४ औं महाधिवेशनमा सभापति उठेनन्। अब के गर्छन् उनले मुख खोलेका छैनन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरणपछि महामन्त्री गगन थापा पनि सभापति देउवानिकट रहेको चर्चा हुन थालेको थियो। तर महामन्त्री थापा शुक्रबार बूढानीलकण्ठको छलफलमा देखिएनन्। महामन्त्री थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केही समयअघि सभापति देउवालाई भेटेर १५ औं महाधिवेशनसम्म पार्टीका कामकाज सञ्चालन गर्न सहयोग गरिदिन र आफूहरू पनि सहयोगका लागि तयार रहेको बताएका थिए।
साथै महामन्त्री थापाले आफूले १४ औं महाधिवेशनका बेला पनि टिम बनाएको र १५ औंमा पनि बनाउने संकेत गर्दै आएका छन्। २०७९ पुस ६ मा कांग्रेस संसदीय दल नेता उठ्दा थापालाई महामन्त्री शर्मा र नेता प्रदीप पौडेलले सघाएका थिए। बरू त्यसबेला संस्थापनइतर समूहकै कतिपय सांसदले थापालाई भोट दिएनन्। आफूलाई साथ दिएका शर्मा र पौडेललाई सँगसँगै लैजाने प्रयासमा थापा देखिन्छन्।
यो पनि: म सिङ्गो कांग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन: गगन थापा
महामन्त्री थापा सांगठनिक काममा व्यस्त छन्। उनले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण नगरेमा त्यस्ता नेता तथा कार्यकर्ताहरू १५ औं महाधिवेशनमा भाग लिन नपाउने बताइरहेका छन्। छिटोभन्दा छिटो क्रियाशील सदस्यता विषय हल गरेर केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिका ल्याउने थापाको भनाइ छ।
अर्का महामन्त्री शर्माले पनि अब कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन्।
तर १४ औं महाधिवेशनमा सभापति पदमा देउवालाई टक्कर दिएका नेता शेखर कोइरालाले जिल्ला दौडाह जारी राख्दै १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने बताउँदै आएका छन्। कोइरालाले समयमै महाधिवेशन गर्नुपर्ने दबाब पनि दिँदै आएका छन्। आफू र महामन्त्री थापा एकै समूहमा रहेको उनको दाबी छ। नेता सुजाता कोइरालाले पनि शेखरलाई १५ औं महाधिवेशन सभापति उम्मेदवारमा समर्थन गर्ने जनाएकी छन्। जबकि १४ औं महाधिवेशनमा उनी प्रकाशमान सिंह प्यानलबाट उपसभापति उठेर पराजित भएकी थिइन्।
कांग्रेसमा नेताहरू एक महाधिवेशनदेखि अर्को महाधिवेशन र एक चुनावदेखि अर्को चुनावमा मात्रै केन्द्रित हुँदा पार्टीका नियमित काम र कार्यकर्ता तथा जनतासँगको सम्बन्ध सुदृढ हुन नसकेको चर्चासमेत सुन्ने गरिएको छ।
साथै १५ औं महाधिवेशन २०८४ को आमचुनावपछि गर्न सकिने अभिव्यक्तिले पनि कांग्रेस तरङ्गित छ। पूर्वमहामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य नारायण खड्काले ०८४ को आमचुनावपछि महाधिवेशन गरे पनि हुने अभिव्यक्ति दिएका थिए।
यो कुरा शुक्रबार बूढानीलकण्ठमा पनि उठ्यो। सभापति देउवाले पूर्वमहामन्त्री शशांकलाई यो विषयमा प्रष्ट पार्न भनेका थिए।
‘आमचुनावभन्दा दुई वर्षअगाडि महाधिवेशन भयो भने जाति हुन्छ, आमचुनावको मुखमा भयो भने चुनावलाई नकरात्मक असर पर्छ त्योभन्दा आमचुनावपछि गरे पनि हुन्छ भनेर मैले भनेको हुँ,’ पूर्वमहामन्त्री शशांकले चितवनमा केही समयअघि दिएका आफ्ना अभिव्यक्तिबारे सभापति देउवालाई प्रष्टीकरण दिए।
तर महामन्त्री गगन थापाले ढिलोमा पनि ०८४ को आमचुनावअघि नै महाधिवेशन हुने बताइरहेका छन्। सभापति देउवाले पनि समयमै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भनिरहेका छन्।
गत असार १७ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ७ बुँदे सहमति भएको थियो। त्यो सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। आमचुनाव गराउने गरी २०८३ असारमा ओलीले देउवालाई प्रधानमन्त्री छाड्ने सहमतिमा उल्लेख छ।
२०८२ मंसिरमा १५ औं महाधिवेशन गराउँदा आफू सभापति हुन नपाउने र संसदीय दल नेता पनि परिवर्तन हुन सक्ने भय सभापति देउवामा देखिन्छ। त्यसैले उनले आफू प्रधानमन्त्री बनेपछि मात्रै १५ औं महाधिवेशन गराउन खोजेको चर्चा कांग्रेसभित्र हुने गर्छ। १४ औं महाधिवेशन गर्नुअघि पनि देउवाले नियमित कार्यकाल सकेर करिब डेढ वर्ष कार्यकाल लम्ब्याएका थिए।
आलोपालो प्रधानमन्त्रीका लागि ओलीसँग सम्झौता गरिसकेकोजस्ता कारण देखाएर उनले यसपालि पनि कार्यकाल थप गर्छन्। केन्द्रीय समितिमा देउवा पक्षका ८२ प्रतिशत सदस्य छन्, जसका कारण सजिलै विधानको अधिकारअनुसार उनले थप एक वर्ष सभापति कार्यकाल लम्ब्याउन सक्छन्।
१५ औं महाधिवेशनका लागि प्रारम्भिक काम क्रियाशील सदस्यता वितरणको कार्य भर्खर चलेकोले कांग्रेस महाधिवेशन आउन धेरै समय लाग्ने देखिन्छ। वडादेखि केन्द्रीय कार्यसमितिसम्मको अधिवेशन गर्दै आउन कम्तिमा पनि एक वर्ष लाग्छ। त्यसैले अहिले नै १५ औं महाधिवेशनमा कुन समूहबाट को सभापति पदका उम्मेदवार हुन्छन् भन्न धेरै छिटो हुनेछ।
त्यसैले पनि होला, सभापति देउवाले अब कसलाई सभापति उम्मेदवार बनाउने मुख खोलेका छैनन्। आफू निकटका पदाधिकारी र पूर्वपदाधिकारी घरमैमा आएर समूह एक ढिक्का बनाएर १५ औं महाधिवेशनमा जान दिएको सुझाव स्वीकार गरेका सभापति देउवाले भावी सभापतिमा कसलाई अघि सार्ने पेटबोलीमै छाडेका छन्।
देउवाले १५ औं महाधिवेशनमा अहिले आफ्नो समूहमा रहेका विगतदेखि सघाएका नेताहरूलाई मौका दिन्छन् कि १४ औं महाधिवेशनमा फरक प्यानलमा रहेकालाई साथ लिन्छन् भन्ने भेउ उनीनिकट नेताहरूले अझै पाएका छैनन्।
प्रवक्ता प्रकाशशरण महतले सभापति देउवाले अहिले नै महाधिवेशनबारे केही नभनेको बताए। ‘सभापतिले समय आएपछि म भनिहाल्छु भन्नुभएको छ,’ उनले भने। सभापति देउवाले पार्टीमा काम गरेका र आफूलाई सहयोग गरेका वरिष्ठ नेताहरूलाई 'बाइपास' नगरिनेमात्रै बताएका थिए।
बूढानीलकण्ठमा यसबाहेक पार्टीका अरू विषय र सरकारका कामकारबाहीका विषयमा पनि कुराकानी भएको थियो।
पोखरामा माघ २२ र २३ गते जिल्ला सभापतिहरूलाई प्रशिक्षण दिइएको थियो। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रमको उद्घाटन सत्रमा पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई खबर नगरिएकोमा पनि नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।
यो पनि: कांग्रेसको मञ्चमा किन दुई जना मात्रै?
रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्रशिक्षण प्रतिष्ठान प्रमुख भएका बेला सबै नेताहरूलाई यस्ता कार्यक्रममा बोलाउने गरेको कुरा पनि उनीहरूले राखेका थिए। ‘यसपालि निम्ता गरिएन, हामीलाई राम्रो लागेन। आपत्ति छ भन्ने कुरा भयो,’ निधिले भने, ‘फागुन १९ गते क्षेत्रीय सभापतिहरूको भेला छ, त्यसमा सबैलाई बोलाउनु भनेर सभापति देउवाले उपसभापति खड्कालाई भन्नु भएको छ।’
सभापति देउवाले पार्टीका वरिष्ठ नेताहरूलाई यस्ता कार्यक्रममा 'बाइपास' नगरिने जबाफ दिएका थिए।
पार्टीको १५ औं महाधिवेशनका लागि सभापतिमा शेखर कोइराला र गगन थापाको मात्रै चर्चा सुनिएको तर देउवा समूहमा नेताहरू नै छैनन् कि भन्नेजस्तो देखिएकोले नेताहरूले सभापति देउवालाई यसतर्फ पनि ध्यान दिन आग्रह गरेका हुन्।
साथै कतिपयको क्रियाशील सदस्यता नवीकरण नभएको विषय पनि उनीहरूले सभापति देउवालाई सुनाएका थिए।
निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने कुरा पनि बूढानीलकण्ठमा उठेको थियो। ‘अब आमचुनाव गर्दा पहिले संसद, त्यसपछि प्रदेश अनिमात्र स्थानीय तहको चुनाव गर्ने कुरा मसहित साथीहरूले राख्यौं,’ पूर्वउपसभापति निधिले भने, ‘कानुन वा संविधान जे संशोधन गर्नुपर्छ गरौंभन्दा सभापतिले यो राम्रो कुरा हो छलफल गर्दै जाऔं भन्नुभयो।’
साथै सरकारले ल्याएका सहकारीसहित ६ अध्यादेश माघ १८ गते नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरे पनि जसपा नेपाल र लोसपाले अस्वीकार गर्ने भनेपछि राष्ट्रिय सभामा बहुमत नपुग्ने भयले निर्णयार्थ पेस हुन सकेको छैन।
भूमि अध्यादेश फिर्ता लिने वा प्रतिस्थापन विधेयकमा सच्याएर लैजानेजस्ता विभिन्न विकल्पहरूमाथि छलफल भइरहेको पनि बूढानीलकण्ठमा कांग्रेस नेताहरूले बताएका थिए।