एक वर्षअघिसम्म गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका अधिकांश युवा र वृद्धहरू दिनभर तास खेलेर बिताउँथे। बिहान ११ देखि अपराह्न ३/४ बजेसम्म उनीहरूको काम नै त्यही हुन्थ्यो।
बिहानको कामधन्दा भ्याउनसाथ खाल बनाएर बसिहाल्थे। उनीहरूको सिको गर्दै बालकहरूले पनि त्यही गर्न थालिसकेका थिए।
गाउँका युवाको यस्तो गतिविधि 'हिमाली आमा समूह' ले नियाल्दै आइरहेको थियो। गाउँमा तासका नाममा विकृति फैलिएको र पुरुषहरू इलम–उद्यम नगरी जुवातासमा अलमलिएको भन्दै गुनासोसमेत आमा समूहमा परेको थियो।
'आमा समूह एक्लैले यस्ता गतिविधि रोक्न गाह्रो थियो। त्यसैले वडा र अस्थायी प्रहरी कार्यालयसँग सहकार्य गरेर गाउँलाई जुवातास खेल्न नदिने निर्णय गर्यौं,' आमा समूहकी अध्यक्ष स्मृति गुरूङले भनिन्, 'यसअघि आमा समूह एक्लैले गर्दा गाउँका युवाहरूको ज्यादती सहनुपरेको थियो। त्यसैले यसपटक स्थानीय सरकार र प्रहरीको सहयोग लिने निर्णय गरेका थियौं।'
आमा समूहकी अध्यक्ष गुरूङले गाउँमा विकराल अवस्था लिएको जुवातासको बारेमा प्रहरीलाई र स्थानीय सरकारलाई खबर गरिदिइन्। दुई पक्षले नै साथ दिएपछि २०८१ साउन २ गतेदेखि जुवातास मुक्त गाउँ बनाउन लागिपरेको हो।
उनकाअनुसार पहिला गाउँमा जुवातास खेल्न नहुने भन्दै जनचेतनाको कार्यक्रम गर्यौं। त्यसपछि समूहका महिलाहरूलाई गस्ती टोली बनाएर परिचालन गरिएको छ।
'पहिले करिब महिनामा ४/५ वटा समूहलाई समात्यौं। उनीहरूलाई प्रतिव्यक्ति एक हजार रूपैंयाँ जरिबाना तिरायौं,' उनले भनिन्, 'त्यसपछि दिनहुँ गस्ती गर्न थालेपछि अहिले त्यति देखिँदैन।'
अहिले आमा समूहमा ७० जना आबद्ध छन्।
प्रत्येक दिन ११ देखि ४ बजेसम्म दुई जनालाई गस्तीमा पठाउने गरिएको छ। पठाउन छोड्यो भने फेरि खेल्ने डरले साउन २ गतेदेखि निरन्तर समूहका महिलालाई गस्तीमा खटाइएको उनले बताइन्।
यस्तो काम समूहले सुरूआती दिनमा पनि गरेको थियो। त्यतिबेला २०/२५ जनामात्र सदस्य थिए। स्थानीय तथा प्रहरी साथमा थिएनन्।
त्यसैले तास खेलेको भनेर गाली गर्दा वा नखेल्न भनेर आग्रह गर्दा टेरेनन्। खालमा गएर गाली गरेमा गाउँका युवाहरूले समूहका मान्छेका घरघरमा आएर तास फ्यालिदिने, गाली गर्दै हिँड्दै गर्ने गरेका थिए। त्यसले सुरूआती दिनमा जुवातासलाई नियन्त्रणमा लिन नसकेको उनको भनाइ छ।
यो समूह २०६४ सालबाट सुरूआत भएको हो।
अहिले भने समूहले गस्ती गर्न थालेदेखि त्यसरी खेलेको देखेका छैनन्। उनीहरूले जुवातास खेल्नेलाई मात्र होइन, गाउँमा धेरै कुराहरूमा सुधार गरिएको आमा समूहको दाबी छ।
उनीहरूले जुवातास खेल्नेबाट जरिबाना शुल्क, समूहको बचत, विभिन्न व्यक्तिहरूको सहयोगबाट विभिन्न ठाउँमा गेट, पाटीपौवा बनाउने काम भइरहेको छ।। साथै विदेशी पर्यटक आउँदा आफ्ना कलासंस्कृति देखाउने, स्वागतका कार्यक्रमहरू गर्ने गरिरहेका छ।
प्रत्येक वर्ष देउसीभैलो खेल्ने पनि समूहले गरिरहेको छ। यस्ता विभिन्न कार्यक्रमहरू गर्दा पाएको सहयोगले गाउँमा सुधारको कामहरू भएको अध्यक्ष गुरूङले सेतोपाटीलाई जानकारी दिइन्।
'श्रीमान-श्रीमतीबीचको झगडादेखि गाउँमा जे भए पनि समूहलाई बोलाइन्छ,' अध्यक्ष गुरूङले भनिन्, 'हामीले सक्ने सहयोग गर्दै आएका छौं।'
उनी आमा समूहमा २०६४ सालदेखि छिन्। समूहले गाउँका विभिन्न काममा सघाउँदै आएको छ। तर पछिल्लो समय जुवातास न्यूनीकरणमा भने खटेर लागिपरेको हो।
उनीहरूले गाउँका युवाको खप्कीसमेत खानुपरेको छ। उनीहरूले पुरूषलाई मात्र हरेक कुरामा रोक लगाएको आरोप लगाएका छन्। तथापि यस्ता गालीलाई बेवास्ता गरेर अगाडि बढिरहेको उनी बताउँछिन्।
यस्ता आमा समूह गोरखामा मात्र होइन, अन्य जिल्लामा पनि देखिएका छन्। यहाँ हामीले हिमाली आमा समूह जस्तै गाउँ सुधार्ने काम गरिरहेकाहरू समूहसँग कुराकानी गरेर चर्चा गरेका छौं;
‘विवाह, व्रतबन्धमा अरूले सघाउनु पर्दैन’
स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर ११ को 'मनकामना आमा समूह' गाउँका हरेक क्रियाकलापमा सक्रिय छन्। उनीहरूले पाटी–पौवा मात्र बनाएनन्। गाउँका बिहे, व्रतबन्धमा खाना पकाउने, भाँडा–वर्तन माझ्नेदेखि आवश्यक काम उनीहरूले नै गर्छन्।
उनीहरूको काम देखेर गाउँका हरेक कार्यक्रम हुँदा मनकामना आमा समूहलाई बोलाउने बढेका छन्। त्यसवापत समूहलाई सहयोग स्वरूप केही रकमहरू प्राप्त हुने समूहकी कोषाध्यक्ष मीना पौडेलले जानकारी दिइन्।
'अझ हाम्रो समूह पहिलाको जस्तो सक्रिय छैनौं, तर आवश्यक परेको ठाउँमा सहयोग गर्दै आएका छौं, 'कोषाध्यक्ष पौडेलले भनिन्, 'झण्डै दुई दशकको नजिक पुग्दै गर्दा हाम्रो समूह अलि सुस्ताएको छ।'
मनकामना आमा समूह २०६५ सालदेखि गाउँ सुधार अभियानमा खटिएको हो।
त्यसअघि गाउँका महिलाहरू कालिका आमा समूहमा आबद्ध थिए। कालिका आमा समूहले बजार लक्षित कार्यक्रम र विकासका काम गरेपछि त्यहाँबाट केही सदस्य छुट्टिएर मनकामना आमा समूह निर्माण गरेका हुन्।
उनका अनुसार वडा नम्बर ११ कै २१ वटा टोलका महिलालाई जोडेर समूह बनाइएको हो।
प्रत्येक टोलका दुई महिलालाई आबद्ध गराइएको छ। सुरूआती दिनमा २० जनामात्र थिए। अहिले २८ जना छन्।
'सुरूआती दिनमा पाहुँनालाई आफ्ना कला संस्कृतिहरू देखाएर रकम संकलन गर्यौं, त्यसबाट गाउँमा आवश्यक पर्ने भाँडाकुँडा, टेन्ट, कुर्सी किन्यौं,' कोषाध्यक्ष पौडेलले भन्छिन्, 'सामूहिक शुभकार्यको सामान किनिसकेपछि पाटी–पौवा बनाउन लाग्यौं।'
महिला विशेष कार्यक्रमहरू गर्दै तिहारमा द्यौसी–भैली खेल्दै सामूहिक कामहरू गर्दै अगाडि बढेको हो। सदस्यहरूले मासिक १ सय रूपैयाँ जम्मा गर्छन्। उक्त जम्मा भएको पैसाले पनि ससाना कामहरू भइरहेको उनी बताउँछिन्।
२०६५ देखि २०७९ सम्म कतै पनि दर्ता नभई गाउँकै महिलाहरूको सहमतिमा कार्यक्रम भइरहेको थियो। दर्ता नगरी कुनै पनि बजेट वा गैरसंघसंस्थाको सहयोग नपाउने भएपछि दर्ता गरिएको हो।
'दर्ता गरेपछि प्रदेश सरकारले ६५ हजार रूपैयाँ सहयोग दिएको थियो। त्यसपछि कतैबाट पनि सहयोग आएको छैन,' उनले भनिन्, 'जे जे काम गरेका छौं। त्यो समूहभित्रका व्यक्तिले दिएको सहयोग र विभिन्न कार्यक्रमबाट प्राप्त भएको रकमले गरेका हौं।'
गाउँका दु:खी पीडितहरूलाई आर्थिक सहयोग पनि समूहले गर्दै आएको छ। विकासका कामसँगै वडाका महिलाहरूलाई आत्मनिर्भर बनाउने सीप र तालिमहरू दिँदै आएको उनी बताउँछिन्।
एकसाताअघिमात्र ५० जना महिलाहरू उद्दघोषणको तालिम दिइएको छ। २१ वटा टोलका ४० जना र १० जना समूहका महिलाहरूलाई तालिम दिइएको हो। दुई दिनसम्म दिइएको तालिम एकदम प्रभावकारी बनेको प्रतिक्रिया समूहले पाएको छ।
तालिमपश्चात महिलाहरूले आत्मनिर्भर बनेको र आफ्ना समस्याहरू राख्न सक्ने भएको बताएका छन्। अझ पाँच दिनसम्मको भएको भए प्रभावकारी हुने भनिरहेका छन्। सबै व्यवस्थापन गर्दा दुई दिनमात्र मिल्यो। कुनैदिन अवसर मिलाएर थप तीन दिन तालिम उपलब्ध गराउने समूहले प्रतिवद्धता व्यक्त गरेको छ।
'हामीले लैंगिक हिंसाबारे पनि तालिम दिने भनिरहेका छौं, त्यसको छलफल चलिरहेको छ,' उनले भनिन्, 'समाजमा ससाना कुराले पनि सुधार गर्न सकिन्छ भनेर त्यही अनुसार लागि परेका छौं।'
‘महिलालाई मात्र होइन, बालबालिका पनि दुना टपरी बनाउन सिकाउँदैछौं’
स्याङजा आँधिखोला गाउँपालिका वडा नम्बर ५ का जागृति आमा समूहले पछिल्लो समय महिलालाई मात्र होइन बालबालिकालाई पनि सीप सिकाउन थालेका छ।
उनीहरूले एकसाता अघि सोही वडाको आँधिखोला बोर्डिङ स्कुलका झण्डै सय जना विद्यार्थीलाई दुई दिनसम्म टपरी, दुना गाँस्न सिकएको जागृति आमा समूहकी अध्यक्ष तारादेवी पौडेलले जानकारी दिइन्।
'दुई दिनमा धेरै बालबालिकाले दुना टपरी गाँस्न सिकेँ, 'उनले भनिन्, 'यो हाम्रो पहिलो प्रयास थियो। सफल भयौं।'
उनका अनुसार कक्षा चार, पाँच छका बालबालिकाहरूलाई यो सीप सिकाइएको हो। माथिल्ला तहका बालबालिका एसइई सक्नासाथ थप अध्ययनका लागि पोखरा वा अन्य सहर जाने भएकाले साना बालबालिकालाई दिइएको हो।
यसअघि गाउँघरका महिला तथा युवतीहरूलाई पनि सिकाइएको थियो। उनीहरूले अहिले आवश्यक काजमा बनाउँछन्। गाउँघरमा आवश्यक पर्ने सीपलाई आमा समूहले सबैलाई सिकाउँदै आएको छ।
'आपतविपतमा पनि आमा समूहले साथ सहयोग दिँदै आएको छ,' अध्यक्ष पौडेलले भनिन्, 'गाउँघरको ससाना समस्यालाई समाधान गर्न र महिलाको जीवनस्तर सुधार्न समूह बनाएका हौं।'
महिलाहरू घरकै काममा व्यस्त हुन्छन्। घर परिवार सन्तानलाई मात्र समय दिने हुँदा कुनै पनि सीप सिक्न र आफू आत्मनिर्भर बन्न पाएका हुँदैनन्। त्यसैले १५ वर्षअघि महिला समूह स्थानीय महिलाहरूको सहयोगमा बनाइएको हो।
'त्यतिबेला मासिक एक सय रूपैयाँ बचत गर्ने योजनाले समूह बनाइएको थियो। त्यही पैसाले एकअर्कालाई आवश्यक परेको बेलामा सहयोग गरियो। बिस्तारै समुदायको सुधारका काम र सीपलाई प्रवद्धन गर्दै अगाडि बढेका छौं,' अध्यक्ष पौडेलले बताइन्।
उनका अनुसार अहिले समूहले बचत समूहमात्र चलाएको छैन। उक्त रकमबाट आफ्नो टोलको विकासको र महिलाको क्षमतालाई प्रवद्धन गर्ने काम गरिरहेको छ। समूहभित्रका महिलालाई आवश्यक पर्दा थोरै रकमका लागि कतै जानु पर्दैन।
'गाउँका कसैको शुभकार्य तथा काजक्रियामासमेत आमा समूहले सहयोग गर्दै आएका छौं,' उनले भनिन्, 'पहिलाभन्दा आमा समूह अहिले झनै सक्रिय बन्दै गएका छौं।'
पहिला आमा समूहले के काम गर्छ होला भन्ने सोच्थ्ये। अहिले हरेक ठाउँमा आमा समूहको सक्रियता र काम देखेर गाउँका धेरै मानिसहरूले अवसर दिन्छन्। गाउँका युवाहरू विदेश पलायन हुँदैगर्दा आमा समूहले नै धेरै काम गर्ने अवसर पाइरहेको अध्यक्ष पौडेलले जानकारी दिइन्।
अहिले महिलाले यो/त्यो काम गर्न सक्दैनन् भनेर भन्दैनन्। कुनै पनि महोत्सव तथा सांस्कृति कार्यक्रमहरूमा नृत्य, गीत देखाउने काम पनि आमा समूहले गर्दै आएका छन्।
आमा समूह बनेपछि गाउँका महिलाहरूको सीप र क्षमतामा सुधार ल्याउन सकेको उनको दाबी छ। अहिलेको जागृति समूहमा ४५ जना आबद्ध छन्।
पालैपालो आफ्नो टोल र महिलाको क्षमता विकासका काम भइरहेको छ। एकदुई वर्षदेखि आमा समूह अन्तर्गत् 'स्वास्थ्य समूह' पनि निर्माण गरिएको छ। उक्त समूहले बेलाबेलामा महिलाका समस्याहरूमाथि छलफल र स्वास्थ्य जाँच गर्नेगरेको उनी बताउँछिन्।
‘आपसमा कुराकानी र भेटघाट हुन्छ भनेर समूह बनाएका हौं’
पर्वत कुश्मा नगरपालिका- ६ कुश्मामा 'बँगैचा आमा समूह' ले एक महिनाअघि आफ्नो वडामा चार वटा सिसिटिभी जडान गरेको छ। समूहभित्रकै मानिसहरूबाट रकम संकलन गरेर ४ लाख रूपैयाँमा सिसिटिभी जडान गरिएको समूह सचिव संगिता गिरी बताउँछिन्।
'एक स्थानीयको घरमा चोरी भएपछि सिसिटिभी जडान गरेका हौं,' सचिव गिरीले भनिन्, 'जेहोस् कुश्मा बजारका मुख्य चोकमा लगाएका छौं।'
समूहले गरेको यस काममा स्थानीय सरकार तथा समूदायका अग्रजहरूलेसमेत सकारात्मक रूपमा लिएको उनको भनाइ छ।
समूहले ठुल्ठूला कामहरू गर्न नसके पनि ससाना कामहरू गरिरहेका छ।
समूहको आय स्रोत छैन। त्यसैले प्रत्येक सदस्यबाट मासिक ५ सय रूपैयाँ संकलन गरेर कामहरू गरिरहेको हो। समूहभित्र कुनै पनि व्यक्तिलाई आर्थिक सहयोग चाहिएमा त्यही अनुसार सहयोग गरिने उनी बताउँछिन्।
'आफ्ना समूहमा भएका महिलाहरू जुनसुकै सहयोग चाहिए पनि हामीले सहयोग गर्दै आएका छौं,' सचिव गिरी भन्छिन्, 'आर्थिक र भौतिक सहयोग गर्दै आएका छौं।'
उनका अनुसार वडाभित्रको महिलाहरूलाई आपतकालीन समयमा सस्तो ब्याजमा ऋण दिने, कुनै पनि शुभकार्यमा समूहले सहयोग गर्छ। तर काजकिरियामा भने आफ्ना सन्तानबाहेक अरूले उक्त काम नगर्ने भएकाले त्यस्तो काम गर्ने गरिएको छैन।
तर कुनै पनि महिला एक्लै काजकिरियामा बसेकी छन् भने त्यहाँ समूह महिलाहरू गएर साथी बसिदिने काम गरिरहने गरेको उनी बताउँछिन्।
समूहले यही काम गर्ने भनेर योजना बनाएको छैन। तर आवश्यक अनुसारको काम गर्दै गइरहेको छ। समाजमा जे जे अभाव देखिन्छ, ती ससाना कुराहरूलाई समूहले गर्दै आएको छ। प्रत्येक शनिबार समूहले आफ्नो वडाभरि सरसफाइको काम गर्छ। यो तीन वर्षदेखि नियमित रूपमा हुँदै आएको उनको भनाइ छ।
स्थानीय घरहरू नजिक भएपनि एक आपसमा भेटघाट तथा चिनजान नहुने समूह बनाउने योजना बनेको हो।
'एक आपसमा कुराकानी र भेटघाट हुन्छ भनेर समूह बनाएका हौं,' सचिव गिरी भन्छिन्, 'नजिकै घरभए पनि त्यति घुलमिल हुँदैनथेँ। अहिले केही समस्या हुनासाथ सामूहिक छलफल भइरहन्छ।'
समूहलाई कसरी अगाडि बढाउनेदेखि लिएर के-के काम गर्ने भनेर उनीहरूबीच छलफल हुने गरेको छ। सामाजिक सञ्जालमा पनि ग्रुप बनाइएको छ। त्यहाँमा पनि छलफल हुने गरेको उनीहरू बताउँछन्। यसरी एकअर्कोको सुख दु:खलाई नजिकबाट नियाल्ने बानीको विकास भएको छ। साथै एकअर्को व्यक्तिमा आत्मियता बढेको उनको अनुभव छ।
संस्थाले विकासको कामसँगै भावानात्मक रूपमा पनि महिलाहरू जोड्दै लगेको गिरी बताउँछिन्।