अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी छिमेकी क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनेबारे आफू गम्भीर रहेको बताएका छन्।
आइतबार राति भएको अमेरिकी फुटबल लिगको फाइनल खेल (सुपर बोल) अघि फक्स न्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा क्यानडालाई अमेरिकामा गाभ्ने उनको कुरा साँच्चै हो भनेर सोध्दा उनले 'हो' भनेका छन्।
'क्यानाडा ५१ औं राज्य भएमा धेरै राम्रो हुनेछ किनभने हामीले क्यानडासँग वार्षिक दुई खर्ब डलर गुमाउँछौं। र म यो हुन दिनेछैन। हामी खासमा क्यानडालाई सहुलियत दिए जसरी किन हरेक वर्ष दुई खर्ब डलर डलर तिरिरहेका छौं?,' ट्रम्पले प्रश्न गरेका छन्।
क्यानडालाई अमेरिकाले सहुलियत दिएको ट्रम्पले दाबी गरे पनि क्यानडालाई अमेरिकाले सहायता दिने होइन। अमेरिकाले प्राकृतिक स्रोतले भरपूर क्यानडाबाट कच्चा तेल र कृषि अनि औद्योगिक उत्पादन किन्ने गर्छ। अमेरिकाको क्यानडासँगको व्यापार घाटा बढेर सन् २०२३ मा ७३ अर्ब डलर पुगेको थियो। यो मुख्यतः ठूलो परिमाणमा पेट्रोलियम पदार्थ किनेका कारण हो।
ट्रम्पले गत नोभेम्बरमा चुनाव जिते लगत्तैदेखि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनुपर्ने टिप्पणी गरिरहेका छन्।
उनले केही साताअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई 'महान राज्य क्यानडाका गभर्नर' भनेर सम्बोधन गरेका थिए।
ट्रुडोलाई उडाउन वा उनीमाथि दबाब सिर्जना गरेर आफू अनुकूल व्यापार सम्झौता गर्न ट्रम्पले यस्तो टिप्पणी गरेको मानिन्थ्यो।
ट्रम्प उदारवादी डेमोक्र्याटिक पार्टीलाई गाली गरेर दोस्रो पटक राष्ट्रपति निर्वाचित भएका हुन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि उदारवादी नेता हुन्। उनीसँग आप्रवासी, जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा ट्रम्पको पहिलो कार्यकालदेखि नै चरम मतभेद थियो।
ट्रम्पले सत्ता सम्हालेको पहिलो दिन नै क्यानडाबाट आउने सामानमा २५ प्रतिशत भन्सार लगाउने धम्की दिइरहेका थिए। सोही धम्की अनुसार उनले फेब्रुअरी ४ देखि लागु हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने फेब्रुअरी १ मा घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।
उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भनेका थिए।
अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागूऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भने पछि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका छन्।
उनले क्यानडा र मेक्सिकोका उत्पादनमा २५ प्रतिशत भन्सार लगाएको भए ती दुई देशमा मात्रै नभएर अमेरिकाकै आर्थिक वृद्धिमा ठूलो असर पार्ने र मूल्यवृद्धि गराउने खतरा थियो। त्यसैले उनको कदमको अमेरिका भित्रै पनि व्यापक विरोध भएको थियो।
अमेरिकी लगानीकर्ता, अर्थशास्त्रीहरू र केही रिपब्लिकन सांसदले समेत विरोध गरेका थिए। ट्रम्पको रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले उनको कदमलाई सबभन्दा मूर्खतापूर्ण व्यापार युद्ध भनेर सम्पादकीय लेखेको थियो।
क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउँदै आएका ट्रम्पको हेपाहा व्यवहार र २५ प्रतिशत भन्सार लगाउने घोषणा पछि क्यानडामा अमेरिका विरोधी राष्ट्रवादी लहरको उभार आएको छ।
ट्रम्पलाई जबाफ दिँदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशतसम्म भन्सार महसुल लगाउने घोषणा गरेका थिए।
अमेरिका भित्रैको विरोध र क्यानडामा आएको राष्ट्रवादी लहरका कारण ट्रम्पले सो कदम ३० दिनका लागि रोकेका हुन्।
उनले क्यानडाको उत्पादनमा २५ प्रतिशत भन्सार लगाउने कदम रोके पनि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने कुरामा आफू गम्भीर रहेको बताएका हुन्।
ट्रुडोले व्यापारी तथा श्रम नेताहरूसँग बन्द कोठाभित्र शुक्रबार भएको बैठकमा समेत ट्रम्पले साँच्चै क्यानडालाई ५१ औं राज्य बनाउन खोजेको बताएका थिए भनेर विभिन्न पश्चिमा मिडियाले लेखेका छन्। क्यानडाको प्राकृतिक स्रोतमा पहुँच बनाउन ट्रम्पले क्यानडा लिन खोजेको ट्रुडोको ठम्याइ छ।
'उनी हाम्रा प्राकृतिक स्रोतबारे जानकार छन् र यसबाट फाइदा लिन चाहन्छन्,' ट्रुडोले भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)