नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको खेल अन्त्य गर्नका लागि धेरै दल होइन बलिया दल आवश्यक रहेको बताएका छन्।
दिल्ली विधान सभा निर्वाचन परिणामपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मुलुकको राजनीति ध्रुविकरणको दिशामा जानु पर्छ भन्ने कुराको विरोध गर्नेहरूका यो परिणाम सन्देश भएको बताएका हुन्।
‘मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्दछ भन्ने कुराको स्पष्ट सन्देश हो दिल्लीका जनताको जनादेश। नेपालको चुनौती बनेको राजनीतिक अस्थिरताको खेल अन्त्य गर्नका लागि धेरै दल होइन बलिया दल आवश्यक छ र त्यसका लागि राजनीतिक ध्रुविकरणको दिशामा जानु पर्दछ भन्ने कुराको समेत विरोध गर्नेहरूका लागि दिल्लीको चुनावले केही न केही शिक्षा अवश्य दिएको होला,’ उनले भनेका छन्।
यद्यपि भारतीय राजनीतिमा केजरीवालले केही नयाँ गर्न खोजेको महासचिव पोखरेलले बताएका छन्।
‘तर विचार, सिद्धान्तबिनाको राजनीतिको आयु लामो हुँदैन भन्ने कुराको हेक्का उनलाई अवश्य भएको हुनुपर्छ,’ पोखरेलले भनेका छन्।