लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ।
दिल्ली विधानसभा चुनावको मतगणनाले यसपालि भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याउने निश्चित भएको छ।
अपराह्नसम्मको गणनामा भाजपाले ३० सिट जितेर २० सिटमा अग्रता लिइरहेको छ। आम आदमी पार्टीले १५ सिट जितेर ५ सिटमा अग्रता लिइरहेको छ।
७० सदस्यीय दिल्ली विधानसभामा बहुमतका लागि कम्तिमा ३६ सिट जित्नुपर्छ। अहिलेसम्मको गणनाबाट भाजपाले आरामदायी बहुमत ल्याउने निश्चित भइसकेको छ।
यसपालि आम आदमी पार्टीका चर्चित नेताहरूले चुनाव हारे। आपका केन्द्रीय संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवाल नै पराजित हुन पुगे।
२०२० को चुनावमा ४६ हजार ७५८ मत पाएका केजरीवालले योपटक २५ हजार ९२५ मत पाए। ३० हजार २४ मत ल्याएर परवेशसिंह वर्माले चुनाव जिते।
केजरीवाललाई पराजित गरेपछि परवेश वर्माको चर्चा चुलिएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार परवेश वर्मा सन् २०१३ मा पहिलोपटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित भएका थिए। त्यतिबेला मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई पराजित गरेका थिए।
विधानसभा छाडेर उनी २०१४ मा उनले लोकसभा चुनाव लडे र विजयी भए। चुनाव जितेपछि लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे।
२०१९ को लोकसभा चुनावमा त उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड नै बनाए। त्यतिबेला उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरेका थिए।
यसपालि उनी लोकसभा छाडेर विधानसभा झरेका हुन्। उनी प्रभावशाली राजनीतिक घराना पृष्टभूमिका हुन्। उनका बुवा साहिब सिंह वर्मा भाजपाका सिनियरमध्येका नेता हुन् भने दिल्लीका पूर्वमुख्यमन्त्री पनि हुन्।
उनका काका अजद सिंह उत्तरी दिल्लीका मेयर थिए भने २०१३ मै दिल्ली बिधानसभाको चुनाव पनि लडेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार यसपालि केजरीवालविरूद्ध उम्मेदवारी दिएका परवेश वर्मा कुनै समय केजरीवाललाई 'आतंककारी' भन्थे। २०२० को विधानसभा चुनाव प्रचारको क्रममा वर्माले केजरीवाललाई 'आतंककारी' भनेपछि त्यतिबेला निर्वाचन आयोगले उनलाई २४ घन्टाका लागि प्रतिबन्ध लगाएको थियो।
केजरीवाललाई पराजित गरेपछि दिल्लीको भावी मुख्यमन्त्रीका रूपमा पनि वर्मालाई हेरिएको छ। प्रभावशाली राजनीति पृष्ठभूमी र पूर्वमुख्यमन्त्रीलाई नै पराजित गरेका कारण अबको मुख्यमन्त्रीमा उनको दाबी बलियो हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो पनिः
चुनाव हारेपछि के भने केजरीवालले?