संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। आज अपराह्न १ः१५ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नेछन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
आज सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछन्।
यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजै प्रतिनिधि सभाको पनि बैठक बस्दैछ। दिउँसे १ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।
प्रतिनिधि सभामा सत्तापक्ष बहुमत छ। तर राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ। जसपा नेपालले अध्यादेशबारे निर्णय गरिसकेको छैन। जसपाको केन्द्रीय कार्यकारिणी बैठकले अध्यादेशबारे अध्ययन गर्न राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलले बिहीबार सुझाव दिने र जसपा नेपालले निर्णय गर्ने पार्टीले बताएको छ।