अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उत्पादनमा मंगलबारदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले त्यसको प्रभाव कम गर्न आफ्नो मुद्राको अवमूल्यन नगर्ने संकेत देखिएको छ।
चीनले प्रतिकारमा अमेरिकालाई हानि हुने केही कदम चाल्ने घोषणा मंगलबार नै गरिसकेको छ। साथै अमेरिकी भन्सार महसुलको चिनियाँ उत्पादनमा पार्ने नकारात्मक प्रभाव कम पार्न चीनले युआनलाई अमेरिकी डलरको तुलनामा कमजोर पार्ने कदम चाल्छ भनेर धेरैले अनुमान गरेका थिए।
चीनको मुद्रा कमजोर भए अमेरिकाले भन्सार दर बढाए पनि अमेरिकी उपभोक्ताले डलरमा चिनियाँ सामान किन्ने भएकाले पहिलाकै भाउमा पाउने हुनाले चिनियाँ वस्तुको खपतमा असर नपर्ने उनीहरूको जिकिर थियो।
तर चीनले त्यसो गरेन।
चीनको केन्द्रीय बैंकले बुधबार विनिमय दर तोक्दा एक अमेरिकी डलरको भाउ ७.१६९३ तोकेको छ। जनवरी अन्त्यमा पछिल्लो पटकको विनिमय दर ७.१६९८ रहेकोमा नयाँ भाउ पनि त्यस्तै रहेको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट पत्रिकाले लेखेको छ।
बुधबारको विनिमय दर अनुसार युआन बजारले अपेक्षा गरेको भन्दा धेरै बलियो रहेको पोस्टले विज्ञहरूको हवाला दिँदै जनाएको छ।
मध्यविन्दु भनिने केन्द्रीय बैंकले तोकेको विनिमय दरभन्दा दुई प्रतिशत बढी वा कममा मात्रै विदेशी मुद्राको कारोबार गर्न चीनको केन्द्रीय बैंकले अनुमति दिन्छ।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने शनिबार घोषणा गरेका थिए। चीनबाट आउने वस्तुमा १० प्रतिशत भन्सार महसुल थप्ने भनेका थिए।
उनले अन्तिम समयमा क्यानडा र मेक्सिकोको उत्पादनमा लगाउने भनेको २५ प्रतिशत भन्सार महसुल ३० दिनका लागि रोकेका छन्। तर चीनलाई लगाउने भनेको १० प्रतिशत थप भन्सार महसुल दर भने मंगलबार मध्यरात वासिङ्गटनको स्थानीय समय १२ बजेर १ मिनेटदेखि लागू भएको छ।
चिनियाँ सरकारले त्यसको प्रतिकारमा आफ्नो कदमको घोषणा गरेको छ।
आगामी सोमबारदेखि लागू हुने गरी चीनले अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यास उत्पादनहरूमा १५ प्रतिशत भन्सार अनि कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत भन्सार लगाउने जनाएको छ।
त्यस्तै, उच्च गुणस्तरको प्राविधिक वस्तु उत्पादनमा प्रयोग हुने केही महत्वपूर्ण दुर्लभ खनिज पदार्थहरूको अमेरिका निर्यातमा पनि प्रतिबन्ध लगाउने भएको छ। त्यसदेखि बाहेक चिनियाँ बजार नियामकले अमेरिकी कम्पनी गुगलविरूद्ध प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भनेर जाँच सुरू गरेको पनि बताएको छ। चीनमा गुगल ब्लक गरिएको छ। यो कदमले भने उसलाई चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न पनि अप्ठ्यारो पार्नेछ।
ट्रम्पले आजदेखि लागू भएको भन्सार महसुल सुरूआती मात्रै भएको भन्दै आगामी दिनमा भन्सार दर अझै बढाउने संकेत गर्दै आएका छन्।
उनको पहिलो कार्यकालमा लागू भए अनुसार अहिले पनि धेरै चिनियाँ उत्पादनहरूमा १० वा २५ प्रतिशत भन्सार लगाइँदै आएको छ।
मंगलबारदेखि हरेक वर्ष अमेरिकाले चीनबाट किन्ने चार खर्बभन्दा बढी मूल्यका वस्तुहरूमा थप १० प्रतिशत शुल्क थपिएको हो।
सोमबार ट्रम्पले अर्को २४ घण्टाभित्र चिनियाँ नेता सि चिनफिङसँग फोनमा कुरा गर्ने योजना रहेको बताएका थिए। तर विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र भएका देशका सरकार प्रमुखबीच कहिले कुरा हुन्छ भनेर अहिलेसम्म यकिन भएको छैन।
अमेरिकाले लगाएको अतिरिक्त १० प्रतिशत भन्सार दर लागू भएपछि चीनले पनि आफ्नो जबाफी कारबाही घोषणा गरेको छ।
ट्रम्पले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भनेका थिए। चीनलाई भने बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई बेचेको आरोप लगाएका थिए।
क्यानडा र मेक्सिकोले उनको सीमा सुरक्षा र लागूऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भनेपछि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका छन्। तर चीन विरूद्धको कदम भने उनले रोकेनन्। त्यसपछि चीनले पनि आफ्नो जबाफी कदम चालेको हो।
ट्रम्पले चीनले प्रतिकार गरेपछि पनि धम्की दिए जसरी जबाफमा चिनियाँ वस्तुमा भन्सार दर थप बढाएका छैनन्। उनको सरकारले हाल गरिरहेको चीनको व्यापार अभ्यासको समीक्षा अप्रिल १ मा सक्ने छ। समीक्षाले चीनले अमेरिकी बौद्धिक सम्पत्ति चोरेको र ट्रम्पको पहिलो कार्यकालमा सहमति गरेअनुसार अमेरिकाबाट थप वस्तु आयात गर्न पहल नगरेको देखिएमा उनले थप आक्रामक कदम चाल्ने अनुमान गरिएको छ। त्यतिन्जेलसम्ममा चीन र अमेरिकाबीच नयाँ सहमति भयो भने दुई देशबीचको व्यापार युद्ध हाललाई रोकिन सक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
यो पनि:
ट्रम्पले १० प्रतिशत भन्सार लगाएपछि चीनले पनि खोल्यो फायर