स्थलगत रिपोर्ट
ताप्लेजुङमा अहिले विवाद छ। पाथीभरा भनेर चिनिने 'मुक्कुम्लुङ' डाँडामा केबलकार बनाउन दिने कि नदिने भन्नेबारे स्थानीय नै दुई पक्षमा बाँडिएका छन्।
दुवै पक्षको कुरा सुन्न गत साता हामी त्यहाँ गएका थियौं।
हामी पुग्दा काफ्लेपाटी भनिने माकवरकबाट करिब ५०० मिटर तल केबलकारको 'बटम स्टेसन' निर्माण हुँदै थियो। त्योभन्दा माथि बलु डाँडामा केबलकार विरोधीहरू आन्दोलनरत् थिए। उनीहरूले कोशी प्रदेशका ९ जिल्लामा आह्वान गरेको यातायात बन्द पनि जारी थियो।
यसबीच गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र केबलकार विरोधी संघर्ष समितिबीच मंगलबार ६ बुँदे सहमति भयो। यो सहमतिसँगै माघ १५ देखि जारी यातायात बन्द स्थगन भएको छ। अहिलेलाई माथिल्लो स्टेसनको निर्माण स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ। माघ २७ गते विस्तृत वार्ता गर्ने भनिएको छ।
सहमतिपछि पनि आन्दोलनकारीहरूको माग भने फेरिएको छैन। उनीहरू अहिले पनि भन्दै छन् – मुक्कुम्लुङमा केबलकार बनाउन हुन्न।
केबलकारको विरोध किन भइरहेको छ त? विरोधीहरू केबलकार बनाउन हुँदैन भनेर के तर्क दिँदै छन्?
अर्कातिर, केबलकारको पक्षमा स्थानीयहरू पनि उभिएका छन्। लिम्बू समुदायकै कतिपय व्यक्ति पनि केबलकार बनाउनुपर्छ भनिरहेका छन्? उनीहरू किन केबलकार बन्नुपर्छ भन्ने ठान्छन्?
यो स्टोरीमा हामीले दुवै पक्षका तर्क समेटेका छौं। यसका लागि हामीले एक दर्जनभन्दा बढी स्थानीय, विभिन्न राजनीतिक दलका नेता, अभियन्ता र सरोकारवालाहरूसँग कुराकानी गरेका छौं।
सबभन्दा पहिला केबलकार बन्न हुन्न भन्नेहरूका तर्क सुनौं।
'केबलकारले लिम्बूहरूको आस्था र परम्परा मासिन्छ'
सरकारले २०७५ पुस १६ गते पाथीभरा दर्शन केबलकार कम्पनीलाई केबलकार बनाउन वन क्षेत्रको जग्गा दिने निर्णय गरेको थियो। हामीले फुङलिङमा भेटेको संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू त्यति बेलैदेखि यो परियोजनाविरूद्ध उभिएका हुन्।
उनी लगायतका अभियन्ताहरू विरोधमा उभिनुका मुख्य कारण लिम्बूहरूको परम्परा, पर्यावरण र जीविकोपार्जनसँग जोडिएका छन्।
लिम्बूहरू मुक्कुम्लुङलाई आफ्नो परम्परा र आस्थाको धरोहर मान्छन्। यहाँ केबलकार बनाउँदा त्यो धरोहर ढल्ला भन्ने खगेन्द्र लिम्बूलाई डर छ।
उनका अनुसार मुक्कुम्लुङ नामले लिम्बू संस्कृतिमा विशेष अर्थ राख्छ। स्थानीय भाषामा 'मुक्' को अर्थ शक्तिकेन्द्र र 'लुङ' को अर्थ ढुंगा हो। त्यसैले लिम्बूहरू यसलाई शक्तिको ढुंगा वा शक्तिकी देवी मान्छन्।
मुक्तिबुङ, मुक्तिफोबाङ लगायत नामले पनि चिनिने यी देवीलाई उनीहरू आफ्नो पुर्खा युमासँग जोड्छन्। यहाँ युमाको बास छ भन्ने लिम्बूहरूको विश्वास रहेको उनी बताउँछन्।
'यो ठाउँलाई पाथीभरा भन्ने नाम नै मानापाथी प्रणाली विकास भएपछि दिइएको हो,' उनले भने, 'भूगोलका हिसाबले पाथीजस्तो डाँडा देखेर पाथीभरा नाम राखिएको हुनसक्छ। सेसेलुङ भनिने डाँडालाई पनि मानाभरा भनेर नामाकरण गर्न लागिएको छ।'
मुक्कुम्लुङको महत्त्व लिम्बूहरूको मौखिक ज्ञान मुन्धुममा वर्णन गरिएको खगेन्द्र बताउँछन्।
'हाम्रो मुन्धुम (मौखिक इतिहास) मा मानव उत्पत्तिदेखि चिहानसम्मको वर्णन छ। पहिलो मानवको चिहान सापचुंगा भन्ने ठाउँमा छ भनिन्छ। भोलि हाम्रो उत्पत्तिबारे पत्ता लगाउनुपर्यो भने त्यहाँ खानतलास गर्न सकिएला,' उनले भने, 'केबलकारजस्ता विकास परियोजनाले हाम्रो आस्थासँग जोडिएका यी स्थल लोप हुन सक्छन्।
मुक्कुम्लुङ संघर्ष समितिका सदस्य सरोज लिम्बूले यो ठाउँको मुन्धुमी मान्यताबारे हामीलाई थप जानकारी दिए।
उनका अनुसार मुन्धुमले घरको प्रमुख देउता पुज्दा पृथ्वीको विभिन्न स्थान घुम्नुपर्छ भन्छ। यसरी घुम्दा मुन्धुममा सबभन्दा पहिला आउने ठाउँ कुम्भकर्णमा रहेको फक्ताङलुङ हो। त्यसपछि मुक्कुम्लुङ्वा, सेवालुङ्वा, सिदिङ्वा र सेसेलुङ भनेर वरिपरिका डाँडा आउँछन्, जसलाई लिम्बूहरूले घुम्नुपर्छ।
'मुक्कुम्लुङ जाँदा हामी तलदेखि माथिसम्म धागो टाँग्दै जान्छौं,' उनले भने, 'यो धागोसँग हाम्रो जन्मदेखि मृत्युसम्मको सम्बन्ध छ। मुन्धुममा वर्णन गरिएको तान बुन्ने ठाउँ, पानी उम्रने ठाउँ र जंगल-रूखहरू पनि यहीँ छन्।'
खस-आर्य समुदायको प्रभावले मुक्कुम्लुङलाई पाथीभरा भन्न थालिएको भनाइ सरोजको पनि छ।
'परबाट हेर्दा पाथीजस्तो डाँडा देखेर पाथीभरा नाम राखियो। सामाजिक र शैक्षिक अवस्था कमजोर भएका लिम्बूहरूले विरोध गर्न सकेनन्,' उनले भने, 'बिस्तारै यही नाम जनजिब्रोमा बस्दै गयो। सरकारले यसैलाई पक्षपोषण गरिरह्यो। २०५८ सालतिर त कालीको मूर्ति नै राखेर पूजा गर्न थालियो। तर हामी ढुंगा र प्रकृति पुजक हौं। मूर्तिमा मान्छेको आकर्षण बढेसँगै हामीले पुज्दै आएका भगवानहरू ओझेल परेका छन्।'
उनले अगाडि भने, 'हाम्रो सिद्धिशक्ति प्राप्त गर्ने ठाउँ त मूर्ति मात्र होइन, सिंगो डाँडा नै हो। हाम्रो लागि सिंगो डाँडा नै थान हो। केबलकारले माथिल्लो भागमा मात्र मान्छेहरूलाई केन्द्रित गराएर हाम्रो आस्था र विश्वास खुम्च्याउने प्रयास गर्दैछ।'
हामीले संघर्ष समितिका संयोजक श्री लिम्खिमसँग पनि कुरा गरेका थियौं। उनी मुन्धुमी सांस्कृतिक केन्द्र बनाउनुपर्ने मुक्कुम्लुङको परम्परा र पहिचान मास्न खोजिएको बताउँछन्।
'मुन्धुमले संस्कृति, माटो, रूखपात र प्रकृतिको कुरा गर्छ। त्यसलाई जगेर्ना गर्नुपर्छ भन्छ। प्रकृति र संस्कृति रह्यो भने मात्र समुदाय रहन्छ। त्यस्तो विकासको के अर्थ, जसले हाम्रो समुदायको पहिचान सक्काउँछ?' उनले भने, 'विकास नै गर्ने हो भने अरू थुप्रै काम छन्। केबलकार बनाउन लागेको ठाउँमा दुई-तीनवटा पानीका मुहान छन्। त्यसलाई कञ्चनजंघाको पानी वा कुनै नामले ब्रान्डिङ गरेर बेच्न सकिन्छ। हामी यसमा सहायता गर्न तयार छौं।'
यसबाहेक यहाँ हरेक वर्ष ठूलो परिमाणमा किवी, सुन्तला कुहिएर जान्छन्। फलफूल प्रशोधन केन्द्र खोल्ने हो भने स्थानीय उत्पादन प्रवर्द्धन हुनुका साथै रोजगार पनि सिर्जना हुने उनी बताउँछन्।
'अहिले पनि कति ठाउँमा बाटोघाटो पुगेको छैन। विकास गर्ने हो भने त्यस्ता कुरामा ध्यान दिऊँ,' लिम्खिमले भने, 'हाम्रो आस्थाको केन्द्र मासिने गरी केबलकार बनाउने हो भने हामी विरोध गरिहाल्छौं।'
उनको यस्तो जबाफपछि हामीले सोध्यौं, 'बाटोघाटो, उद्योग वा अन्य विकास आयोजना सञ्चालन गर्दा पनि त मुक्कुम्लुङ डाँडा खन्नुपर्ला, यहाँका रूखहरू काट्नुपर्ला? त्यसले चाहिँ आस्थामा प्रहार हुँदैन?'
यसमा उनले भने, 'हामीले विकासका काम गर्न सकिन्छ भनेको डाँडाको फेदीमा हो। मुक्कुम्लुङमा त केही गर्न हुँदैन। जस्तो छ, त्यस्तै राख्नुपर्छ। यो डाँडा हाम्रो शक्ति र आस्थाको केन्द्र हो। यसलाई व्यापारिक वा मनोरञ्जन स्थलमा परिणत गर्न हुँदैन। केबलकारले मुक्कुम्लुङलाई व्यापारिक स्थलमा बदल्न खोज्दैछ। मान्छेहरूलाई डाँडामाथि मात्र केन्द्रित गराउन खोज्दैछ। यसले धागो टाँग्दै तलबाट माथि जानुपर्ने हाम्रो पूजा प्रणाली नै प्रभावित हुन्छ।'
तर उनले भनेको पूजा प्रणाली लिम्बूहरूको मात्र हो। पाथीभरामा गैरलिम्बूहरूको पनि गहिरो आस्था छ। त्यहाँ गैरलिम्बू दर्शनार्थी पनि ठूलो संख्यामा आउँछन्। उनीहरूले त्यही विधिअनुसार पूजा गर्दैनन्।
यसबारे सोध्दा लिम्खिमले भने, 'भगवान कसैको निजी हुँदैन, यो हामीलाई पनि थाहा छ। तर मुक्कुम्लुङ भनेको हाम्रो मुन्धुमले व्याख्या गरेको ठाउँ हो। त्यसैले यसलाई संरक्षण गर्नु हाम्रो अधिकार र कर्तव्य हो। यो कर्तव्यबाट हामी तलमाथि हुनेवाला छैनौं।'
परम्परापछि कुरा गरौं पर्यावरणको।
संघर्ष समितिका सदस्य सरोज लिम्बूका अनुसार केबलकार बनाउन १० हजार २ सय ३१ वटा रूख काट्नुपर्छ भनेर सरकारले भनेको छ। यसले यहाँको पर्यावरण र ती रूखसँग जोडिएको संस्कृति मासिने उनी बताउँछन्।
'यहाँका हरेक चिजमा युमाको बास छ। आत्मा मरेपछिको संस्कारमा 'सातो पुर्याउने' भन्ने चलन हुन्छ, जसमा हाम्रा गुरू (फेदाङ्बा साम्बा) ले मुन्धुम वाचन गर्नुपर्छ। त्यसमा धुपीसिंह (धुपी), साम्बाङसिंह (गोब्रे सल्ला), थोपफेल्ला (लालीगुराँस) लगायत विभिन्न रूखको नाम आउँछ। केबलकार बनाउँदा हाम्रा यी सांस्कृतिक महत्त्वका रूखहरू मासिने छन्,' सरोजले भने।
उनले बलु डाँडाबाट माथि मन्दिरसम्म उक्लिँदा हामीलाई त्यस्ता सांस्कृतिक महत्त्वका रूखहरू देखाउँदै तिनको विशेषता बताएका थिए।
अर्का अभियन्ता कृष्ण वनेमले त्यसैमा थपे, 'हामीलाई औषधिका लागि पनि लालीगुराँस टिप्न दिइँदैन। उनीहरू भने हजारौं रूख काट्ने कुरा गर्छन्!'
उनका अनुसार गत वैशाख ३१ गते राति यहाँ मेसिन प्रयोग गरेर सयौं रूख काटिएका थिए। संघर्ष समितिका सदस्य तथा अन्य अभियन्ताले प्रहरी सुरक्षा तोडेर रूख कटान रोके। त्यो घटनाको प्रतिरोधमा स्थानीयले जेठ ३१ देखि असार १३ गतेसम्म यहाँ करिब ३० हजार बिरूवा रोपेका थिए।
परम्परा र पर्यावरणसँगै केबलकार निर्माणले साना होटल व्यवसायी र भरियाहरूको जीविकोपार्जनमा असर पुग्ने कतिको चासो छ।
हामीले बलु डाँडामा १९ वर्षीय राजन लिम्बूलाई भेटेका थियौं। उनले १३ वर्षको उमेरदेखि यहाँ भारी बोक्न थालेका हुन्। उनका अनुसार मुक्कुम्लुङमा करिब ६ सय भरिया छन्। फागुन अन्तिमदेखि दर्शनार्थीको चाप बढ्ने हुँदा प्रत्येक भरियाले दैनिक २०-३० हजार रूपैयाँ कमाउने उनी बताउँछन्।
'हामीले कमाउने भनेको त्यही ६ महिना हो। त्यही कमाइले अर्को ६ महिना धान्नुपर्छ। परिवार पाल्ने र बालबच्चा पढाउने त्यसैले हो,' उनले भने, 'केबलकार बन्यो भने हामी भरिया र साना होटलवालाको रोजीरोटी गुम्छ। होटलवालाहरूले त केही जोगाएर राखेका होलान्, तत्काल घाटा परे पनि पछि व्यवसाय चल्न सक्छ। हामी त सिधै सडकमा आउँछौं, विदेश पलायन हुनुको विकल्प रहँदैन।'
हामीले संघर्ष समितिका प्रतिनिधिलाई केबलकार बनेपछि बालबच्चा, वृद्धवृद्धा र असक्तहरूको यात्रा सहज हुने र त्यसले पर्यटन प्रवर्द्धन भई ताप्लेजुङमा रोजगार र आर्थिक गतिविधि बढ्ने सम्भावनाबारे पनि सोधेका थियौं।
सरोज लिम्बूको यसमा आफ्नै तर्क छ।
'असक्तहरूको यात्रा सहज गराउने हो भने ह्विलचेयर गुडाउने ठाउँ बनाउन सकिन्छ। ठाउँ-ठाउँमा शौचालय र स्वास्थ्य शिविर राख्न सकिन्छ। खानेपानी व्यवस्था गर्न सकिन्छ,' उनले भने, 'हिँड्दै जाँदा त कतिलाई लेक लागिरहेको हुन्छ भने केबलकार चढेर एकैचोटि उचाइमा पुग्दा कति ठूलो जोखिम होला?'
संयोजक लिम्खिम पनि पर्यटन प्रवर्द्धन हुन्छ भन्दैमा सिंगो समुदायको आस्था कुल्चन नहुने टिप्पणी गर्छन्।
'कुनै पनि ठाउँसँग त्यहाँ बस्ने मान्छेको जन्म-मृत्यु र पुर्खाको धरोहर गाँसिएको हुन्छ। सभ्यता र संस्कृति जोडिएको हुन्छ। ती सबै बिर्सेर पर्यटन प्रवर्द्धनका नाममा केबलकार चलाउने भए सगरमाथामा पनि केबलकार बनाइदिऊँ! त्यहाँ त झन् संसारभरिबाट पर्यटक आउँछन्,' उनले भने।
मुक्कुम्लुङबाट फर्किँदा हामीले फुङलिङमा नेपाली सेनाका पूर्वमेजर असिम पालुङ्वालाई भेटेका थियौं। उनले लिम्बूहरूको आस्था, परम्परा र पर्यावरणीय असर बिर्सेर केबलकार बनाउनैपर्छ भन्ने 'बालहठ' त्याग्नुपर्ने बताए।
फुङलिङमै भेटिएका किराँत याक्थुङ चोङलुङ संघीय समितिका अध्यक्ष प्रेम येकतेनले पनि केबलकार बनाउने बजेट मुक्कुम्लुङको वातावरण र संस्कृति संरक्षणमा लगानी गर्न सुझाए।
'जो मुक्कुम्लुङको दर्शन गर्न चाहन्छन्, उनीहरू जसरी पनि आउँछन्,' उनले भने, 'लिम्बूहरूमै फुट ल्याउने यस्तो विकास हामीलाई चाहिन्न।'
केबलकार निर्माणलाई लिएर यहाँ पटक-पटक प्रहरी र स्थानीयको झडप हुँदै आएको छ। माघ १२ को झडपमा गोली नै चल्यो।
अभियन्ताहरू सडक सँगसँगै कानुनी लडाइँमा पनि छन्। २०७७ फागुन ३ गते उनीहरूले सर्वोच्चमा रिट हालेका थिए। अहिलेसम्म सुनुवाइ नभएको लिम्खिम बताउँछन्।
यी त भए केबलकार बनाउन हुँदैन भन्ने पक्षको कुरा। तर मुक्कुम्लुङ डाँडामा केबलकार चाहिँदैन भन्ने आवाज मात्र सुनिँदैन। वर्षौंदेखि विकासमा पछाडि परेको मुक्कुम्लुङमा केबलकारले आर्थिक समृद्धिको लहर ल्याउँछ भन्ने मत र आशा पनि उत्तिकै बलियो छ।
'केबलकारले लिम्बू संस्कृतिमा असर पर्दैन; पर्यटन फस्टाउँछ, विकास र रोजगार आउँछ'
ताप्लेजुङ जिल्लाको प्रमुख पालिका फुङलिङ नगरपालिकाका मेयर अमीर मादेनको धेरै अघिदेखिको एजेन्डा हो केबलकार ल्याउने।
उनले गएको स्थानीय चुनावमा पनि केबलकारलाई नै प्रमुख एजेन्डा बनाए र जिते। त्यसैले पनि उनी केबलकार बनाउने एजेन्डा स्थानीयहरूबाट अनुमोदन भएको ठान्छन् र बनाउनुपर्छ भन्नेमा मुखर छन्।
चुनाव जितेको केही सातामै उनले केबलकार निर्माणको स्वीकृति नवीकरण गरेका थिए।
केबलकार बनेपछि ३७९४ मिटर उचाइको मुक्कुम्लुङ पुग्न सबैलाई सहज हुने र यसले ताप्लेजुङमा पर्यटक आगमन वृद्धि भई स्थानीय रोजगार र आय बढ्ने उनी बताउँछन्।
'यसले स्थानीय जनजीवनमै सुधार ल्याउँछ,' उनले भने।
अहिले ताप्लेजुङबाट करिब १५ किलोमिटर पर काफ्लेपाटी (माकवरक) सम्म गाडी जान्छ। त्यहाँबाट पाँच किलोमिटर उकालो चढ्नुपर्छ। असहज बाटोका कारण धेरै जना इच्छा र आस्था भएर पनि मुक्कुम्लुङ पुग्न सकेका छैनन्। केबलकार बनेपछि नेपाल र भारतबाट ठूलो संख्यामा पर्यटकहरू दर्शन गर्न आउने हुँदा साना-ठूला धेरै होटल खुल्ने, रोजगार बढ्ने र यो क्षेत्रको आर्थिक विकास हुने उनको भनाइ छ।
केबलकार निर्माणलाई ताप्लेजुङको विकासका रूपमा लिने मादेन 'विकास र धर्मलाई फरक दृष्टिले हेर्नुपर्ने' बताउँछन्।
'यो डाँडा लिम्बूहरूको मुन्धुमसँग जोडिएको सही हो। यसलाई मुन्धुमी स्थल भनिएको पनि त्यही भएर हो। तर मुन्धुमसँग जोडिँदैमा सबै डाँडा लिम्बूहरूको हुँदैन, र त्यहाँ कुनै पनि विकासका गतिविधि गर्नुहुन्न भन्ने पनि होइन। त्यसो हो भने त तमोर, काबेली लगायतका खोलानाला र अरू थुप्रै डाँडाकाँडा मुन्धुममा आउँछन्, मुन्धुममा त्यसबारे वर्णन गरिएका छन्। अरू जिल्लाका डाँडाकाँडा पनि मुन्धुममा उल्लेख होलान्। के त्यसो भए, मुन्धुममा परेका सबै खोला र डाँडाकाँडालाई लिम्बूहरूले आफ्नो भन्दै हिँड्ने, त्यहाँ केही पनि विकास नगर्ने?' उनले भने, 'मुक्कुम्लुङलाई पनि मुन्धुमी स्थल मात्र भन्नु हास्यास्पद तर्क हो।'
ताप्लेजुङबाट बगेर आउने तमोर यो जिल्लाको प्रमुख खोला हो। यहाँ दर्जनभन्दा बढी जलविद्युत आयोजना स्वीकृत भएका छन् र धेरै निर्माण क्रममा छन्। यहाँका जलविद्युत आयोजनाबाट १६०० मेगावाटभन्दा बढी बिजुली उत्पादन हुन्छ। त्यो उत्पादनलाई राष्ट्रिय ग्रिडमा जोड्न ट्रान्समिसन लाइनहरू बनेका छन्।
मेयरले अर्घेल्याइँ गरेर विकासका काममा बाधा हाल्न नहुने भन्दै उनले अगाडि भने, 'म पनि लिम्बू नै हुँ। हामी सभ्यता र प्रकृतिसँग जोडिएका समुदाय हौं। हामीले यी डाँडा, यी हिमाल र खोलानाला सबै हाम्रा हुन्, केही चलाउन हुन्न भन्न थाल्यौं भने विकास कहाँ गर्ने? मुन्धुममा परेको डाँडाको एउटा रूख पनि काट्न दिन्नौं, यहाँ खन्न पनि दिन्नौं भन्ने हो भने हामीले आफ्नो क्षेत्रमा विकासको अवधारणा कसरी ल्याउने? हाम्रो समुदायमा रोजगार कसरी सिर्जना गर्ने? हाम्रो समुदायको आर्थिक उन्नति कसरी गर्ने?’
उनले सचेत गराए, 'यस्तै सोचिरहने हो भने त हाम्रो ठाउँमा विकास कहिल्यै हुँदैन। हाम्रो समुदायको आर्थिक उन्नति कहिल्यै हुँदैन। हाम्रा युवाहरूले रोजगार नपाएर विदेश पलायन हुनुपर्छ। हाम्रो ताप्लेजुङ विकास र अभावमा पिल्सिएर मसानघाट बन्छ।'
केबलकार दीर्घकालमा ताप्लेजुङको समृद्धिको आधार हुने उनको तर्क छ। यसले पर्यटन व्यवसाय उकास्न मद्दत गर्ने, कैयन प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सिर्जना गर्ने र दिन-प्रतिदिन विदेश गइरहेका युवालाई गाउँमै रोक्ने उनले बताए।
पर्यटनको प्रचुर सम्भावना बोकेको मुक्कुम्लुङमा केबलकार आयो भने छिमेकका पाँचथर, इलाम, झापा, सुनसरी लगायतका पूर्वी जिल्लाहरूको अर्थतन्त्र पनि फस्टाउने उनको भनाइ छ।
'हातमा आएको यति राम्रो परियोजना गुमाउने हो भने हामीले कस्तो परियोजना ल्याएर आफ्नो ठाउँ विकास गर्ने? के ताप्लेजुङलाई सधैं मसानघाट बनाइराख्ने?' मेयर मादेनले प्रश्न गरे, 'ताप्लेजुङ यति दुर्गम ठाउँ हो, यहाँ बाटो पुगेर मात्र केही सुगम देखिएको छ। पछाडि परेको यो जिल्लाको अर्थतन्त्रमा केबलकारले परिवर्तन ल्याउन सक्छ।'
उनले यो पनि भने, 'एउटा केबलकार आउँदैमा संस्कृति मासिन्छ भन्ने होइन।लिम्बू संस्कृति हामीले जारी राख्ने हो। तर यो परियोजनासँगै नयाँ रोजगार सिर्जना हुन्छ। साना-ठूला सबै स्तरका होटल फस्टाउने छन्।'
अहिले पाथीभरा चढ्दा भारी बोक्ने युवाहरूलाई आफ्नो रोजगार गुम्ला भन्ने चिन्ता छ नि भन्ने प्रश्नमा उनले भने, 'भारी बोकेर गुजारा गर्नेहरूले पनि होटल व्यवसायमा रोजगार पाउँछन् वा फरक ढंगको काम गर्ने अरू अवसर पाउँछन्। कुनै पनि विकास परियोजनाले रोजगार खोस्दैन, बरू नयाँ रोजगारको बाटो खोल्छ। भावी सन्ततिलाई फाइदा हुन्छ।'
केबलकार निर्माणपछि अहिलेभन्दा धेरै गुणा बढी दर्शनार्थी आउने हुँदा यहाँको संस्कृति धराशायी हुनुको साटो झन् सुधारिने उनको तर्क छ।
'हामीले सिंगो डाँडा नै भत्काउने भनेको होइन। मन्दिरसम्म हिँड्ने बाटो यथावत् रहन्छ। स्टेसन पनि ८ सय मिटर तल सार्न लगाएका छौं। माथि होटलहरू पनि बन्दैनन्। त्यहाँबाट साधुसन्त हटाउने प्रयास गरिरहेका छौं,' उनले भने, 'पाथीभराको महिमाप्रति यत्रो राजनीति गर्नुपर्ने कुनै कारण म देख्दिनँ। बेकारमा यसले कोशी प्रदेश र हाम्रो लिम्बू दाजुभाइलाई भड्काएर सामाजिक सद्भाव भत्काउने काम हुँदैछ।'
हामीले केबलकार निर्माणमा उत्पन्न विवादबारे प्रमुख राजनीतिक दलहरूका स्थानीय प्रतिनिधिसँग पनि कुरा गरेका थियौं।
माओवादी केन्द्रका ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढा क्षत्री आफ्नो पार्टी केबलकार बन्नुपर्छ भन्ने पक्षमै रहेको तर प्रक्रिया पारदर्शी हुनुपर्ने बताउँछन्।
'अहिलेको मोडालिटी अपारदर्शी भयो। कामहरू पनि त्यस्तै भए। स्थानीयसँग छलफल नगरिएकाले अन्यौल उत्पन्न भयो,' उनले भने, 'हामी त सुरूदेखि केबलकार सरकारले बनाउनुपर्छ भन्नेमा थियौं। सरकारले नबनाउने भएपछि सार्वजनिक-निजी साझेदारीमा भए पनि बनाऔं भन्यौं।'
अहिले केबलकार बनाउन आइसकेको लगानी फिर्ता हुने अवस्था उत्पन्न हुन नदिने पक्षमा रहेको उनले बताए।
उनले यो पनि भने, 'अहिले ताप्लेजुङभन्दा बाहिर बसेकाहरूले यो आयोजनाको बढी विरोध गरिरहेको देखिन्छ। यहाँको आर्थिक समस्या र जीवनस्तर यहीँ बसेर भोग्नेलाई मात्र थाहा हुन्छ। स्थानीयवासी जति संवेदनशील अरू हुन सक्दैनन्। तर को कहाँ बस्छ र कसले विरोध गरेको छ भनेर छुट्टयाउन हुँदैन। विरोध भएपछि सबैको कुरा सुन्नुपर्छ।'
नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले मानव जीवन र प्रकृतिमा क्षति नपुग्ने गरी केबलकार निर्माण हुनुपर्ने बताए।
उनका अनुसार नेकपा एमाले, माओवादी लगायतका दलले यसबारे आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको भए पनि कांग्रेस मौन थियो।
'अहिले कांग्रेसले पनि आफ्नो धारणा सार्वजनिक गरिसकेको छ,' उनले भने, 'स्थानीयलाई सहमतिमा ल्याएर र डाँडामुनिको क्षेत्रमा स्टेसन राखेर केबलकार निर्माण गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।'
उनका अनुसार मुक्कुम्लुङ संरक्षण आन्दोलन केबलकार र निर्माण कम्पनीविरूद्ध होइन। यसमा धार्मिक र सांस्कृतिक संरक्षणको मामिला बढी छ। यो समस्याको दीर्घकालीन समाधानका लागि न्यूनतम सहमति गरेर यहाँको सौन्दर्य, प्रकृति र शक्ति क्षयीकरण नहुने गरी केबलकार निर्माण हुनुपर्ने उनी बताउँछन्।
हामीले उनलाई केबलकार निर्माणले मुक्कुम्लुङसँग जोडिएको लिम्बूहरूको आस्था र परम्परा मासिन्छ भन्ने तर्कबारे पनि सोधेका थियौं। धागो टाँग्दै डाँडा उक्लनुपर्ने परम्परा मासिन सक्ने कुरा पनि उठाएका थियौं।
जबाफमा तुम्याहाङले भने, 'आन्दोलनकारी साथीहरूले सुरूमा केबलकारको पूर्ण विरोध गर्नुभएको थिएन। लिम्बूहरूका आराध्यदेवी युमा र तान टाँग्दै हिँड्ने कान्छीथान कटाएर स्टेसन बनाउनुपर्छ भन्ने उहाँहरूको तर्क थियो। त्यसमा सहमति भयो। पछि उहाँहरूले पाथीभरा होइन, मुक्कुम्लुङ भन्ने शब्द राख्नुपर्छ भन्नुभयो। त्यसमा पनि सहमति भयो। पछि अरू-अरू कुरा गरेर आन्दोलनलाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय लडाइँ बनाउनुभयो।'
'सरकारले यो विषय गम्भीरतापूर्वक नलिने हो भने द्वन्द्व सिर्जना हुन्छ,' उनले भने, 'हामी स्थानीय चासोको यथोचित सम्बोधन, सहमति र शान्ति कायम गरेर केबलकार निर्माण गर्नुपर्छ भन्ने पक्षमा छौं।'
नेकपा एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ पनि आफ्नो पार्टी केबलकार बन्नुपर्छ भन्ने पक्षमै रहेको बताउँछन्।
'हाम्रो तर्फबाट कुनै अवरोध छैन। यो विकासको काम हो,' उनले भने, 'जहाँसम्म संस्कृतिमाथि अतिक्रमण भयो भन्ने आवाज छ, त्यो पहिचानवादी साथीहरूले भन्दै हुनुहुन्छ। केबलकार बन्दैमा संस्कृतिमाथि अतिक्रमण भइहाल्छ वा ठूलो स्वरूपमा अतिक्रमण हुन्छ भन्ने मलाई लाग्दैन।'
केबलकार निर्माणमा स्थानीय चासो कत्तिको सम्बोधन भएको छ भनेर हामीले निर्माण ठेक्का पाएको हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदमलाई सोधेका थियौं।
उनले हामीलाई केबलकार निर्माण भइरहेको बटम स्टेसन घुमाउँदै भने, 'स्थानीय चासो सम्बोधन गर्न भनेर नै हामीले मन्दिरबाट करिब ७-८ सय मिटर तल स्टेसन बनाएका छौं।'
उनले अगाडि भने, 'केबलकारमा तीन-चार सय जना स्थानीयले प्रत्यक्ष रोजगार पाउने छन्। थप अप्रत्यक्ष रोजगार र आयको अवस्था आउनेछ। यो स्थानीयका लागि ठूलो लाभ हो। दैनिक हजारौ भक्तजन आउँदा स्थानीयलाई प्रत्यक्ष फाइदा हुनेछ।'
धागो टाँग्दै तलबाट माथि हिँड्नुपर्ने लिम्बू संस्कृतिलाई पनि केबलकार निर्माणले कुनै असर नपार्ने उनी बताउँछन्।
'मन्दिरसम्म जान प्रयोग गरिने हिँड्ने बाटोलाई केबलकारले छुँदा पनि छुँदैन,' उनले भने, 'हिँड्ने बाटो र केबलकार बन्ने ठाउँ छुट्टाछुट्टै हो। जो हिँडेर जान चाहनुहुन्छ, उहाँहरूले अहिलेको पैदलमार्ग नै प्रयोग गर्न सक्नुहुन्छ, केबलकार चढ्नैपर्छ भन्ने छैन।'
नेपाल उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारायण थापा केबलकार निर्माणले पाथीभराको पर्यटन र समग्र आर्थिक विकास हुने बताउँछन्।
'हरेक नयाँ परियोजना सुरू हुँदा शंका-उपशंका उत्पन्न हुन्छन् नै। तर कालान्तरमा त्यसले स्थानीय अर्थतन्त्र र जीवनस्तरमा ठूलो परिवर्तन ल्याउँछ। विगतका धेरै उदाहरणले यसलाई पुष्टि गर्छन्,' उनले भने, 'पाथीभरामा केबलकार निर्माणले पनि धेरैभन्दा धेरै पर्यटक र श्रद्धालुहरू ल्याउन सकिन्छ। यसले यहाँको आर्थिक गतिविधि अहिलेभन्दा धेरै गुणा बढाउनेछ। हामी त ताप्लेजुङमा अरू पनि यस्ता बृहत् परियोजनाहरू भित्र्याउनुपर्छ भन्ने पक्षमा छौं।'
केबलकार निर्माणले यहाँको आस्था र संस्कृतिमाथि अतिक्रमण हुने तर्कबारे सोध्दा थापाले भने, 'केबलकार बने पनि नबने पनि मन्दिरको महत्त्व र आस्था उस्तै हो। यसले संस्कृति कसरी अतिक्रमण गर्छ? बरू आस्था हुँदाहुँदै असहज बाटोले दर्शन गर्न नसकेका हजारौं मानिस केबलकार बनेपछि सजिलै जान सक्छन्। वृद्ध, असक्तहरूले पनि दर्शन गर्न पाउँछन्। झापा, मोरङ, सुनसरीका मान्छे त छोटो विदामा पनि पाथीभरा पुगौं भनेर आउन सक्छन्। जति धेरै मान्छे आए, यसको महत्त्व उति बढ्ने होइन र?'
हामीले केबलकार निर्माणपछि साना होटल व्यवसाय धराशायी हुन्छन् भन्ने भनाइबारे केही स्थानीय व्यवसायीसँग पनि कुरा गरेका थियौं।
काफ्लेपाटीका होटल व्यवसायी जनक कार्कीले सुरूमा त यसमा आफ्नो धारणा राख्न हिच्किचाए। पक्षमा बोल्ने कि विपक्षमा भनेर अनकनाए।
'मेरो होटलमा दिनहुँ समर्थक र विरोधीहरूको जमघट हुन्छ। कोही केबलकार आए राम्रो हुन्छ भन्छन्, कोही बर्बाद हुन्छ भन्छन्। मलाई पनि कहिले राम्रै हुन्छ जस्तो लाग्छ, कहिले हुँदैन जस्तो लाग्छ,' उनले भने, 'तैपनि यसो विचार गर्दा केबलकारसँगै तल होटलहरू पनि खुल्छन् रे, त्यसले मेरोमा ग्राहक कम होलान् कि भन्ने चिन्ता छ। फेरि यसो सोच्छु, केबलकार बनेपछि भक्तजन बढ्छ्न, सबै जना ठूला र महँगा होटलमा त कहाँ जान्छन् र, मेरोमा पनि त ग्राहक बढ्ला नि भन्ने आस लाग्छ।'
उनका अनुसार चैत-वैशाखतिर यहाँ एकै दिनमा १५ हजारसम्म भक्तजन आउँछन्। यहाँका होटल पूरै भरिने भएकाले ताप्लेजुङ बजार, पाँचथर, इलामसम्म बास बस्छन्। यो संख्या केबलकार निर्माणपछि झन् बढ्नेछ। त्यसको लाभ साना होटल व्यवसायीलाई पनि हुनसक्नेमा उनी आशावादी सुनिन्छन्।
यो परियोजनामा करिब साढे तीन अर्ब रूपैयाँ लगानी हुने अनुमान छ। केबलकारको लम्बाइ २.७ किलोमिटर हुनेछ।
समर्थक र विरोधी दुवै पक्षका यी तर्क माघ २७ गते हुने भनिएको विस्तृत वार्तामा उठ्लान् नै। त्यही वार्ताले दुवै पक्षका तर्कमा मिहिन छलफल गर्दै ताप्लेजुङको हितमा केन्द्रित भएर सहमतिमा निर्णय लिनुपर्ने मेयर अमीर मादेन बताउँछन्।
***