जनता समाजवादी पार्टी नेपालले केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तोकेको छ।
माघ १९, २० र २१ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय मंगलबार परिपत्रकारूपमा मातहतका कमिटीमा पठाउँदै जसपा नेपालले त्यसको जानकारी दिएको हो।
परिपत्रअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी मधेसका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता लालबाबु राउतलाई दिइएको छ। उपप्रमुख लाक्पा शेर्पा बनेका छन्।
पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख सुरेशकुमार मण्डल बनेका छन्। उपप्रमुख अम्बिका काफ्ले तोकिएकी छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा र उपप्रमुख रेणुका सिंह तोकिएका छ्न्।
प्रचार विभाग प्रमुखमा पूर्णबहादुर बस्नेत तोकिएका छन्। उपप्रमुख शम्भु झा बनेका छन्।
महिला विभाग प्रमुख प्रमिला यादव र उपप्रमुख शशी लिङ्देन चयन भएकी छन्।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र उपप्रमुखमा अब्दुल कलाम अन्सारी तोकिएका छन्।
जसपा नेपालले ४७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। पार्टी उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा विशेष टास्क फोर्स गठन गरेको छ। यसले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने मधेसी समुदायलाई पार्टीमा आबद्ध तथा संगठित गर्नेछ।
समितिमा खालिद सिद्धिकी, मनिषकुमार सुमन, शैलेन्द्रप्रसाद साह सदस्य छन्।
त्यस्तै दलित समुदायलाई पार्टीमा आबद्ध गराउन तारा विश्वकर्मा संयोजक, चन्देश्वर सदा र दीपक विश्वकर्मा सदस्य रहेको अर्को टास्क फोर्स गठन गरिएको छ।
जसपा, नेपालले लुम्बिनी प्रदेश प्रमुख अभियन्ताको रूपमा पार्टी महासचिव रामकुमार शर्मालाई जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशको प्रमुख अभियन्ताको जिम्मेवारी बलवीर नेपालीले पाएका छन्।
जसपा नेपालले बाराका आत्माराम साह, उदयपुरका खेमनारायण यादव (राहुल), भक्तपुरका दिलबहादुर लामा, भोजपुरका ध्रुव राईलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ।
परिपत्र