अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उत्पादनमा आजदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले त्यसको प्रतिकार गरेको छ।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने शनिबार घोषणा गरेका थिए। चीनबाट आउने वस्तुमा १० प्रतिशत भन्सार महसुल थप्ने भनेका थिए।
उनले अन्तिम समयमा क्यानडा र मेक्सिकोको उत्पादनमा लगाउने भनेको २५ प्रतिशत भन्सार महसुल ३० दिनका लागि रोकेका छन्। तर चीनलाई लगाउने भनेको १० प्रतिशत थप भन्सार महसुल दर भने मंगलबार मध्यरात वासिङ्गटनको स्थानीय समय १२ बजेर १ मिनेटदेखि लागू भएको छ।
चिनियाँ सरकारले त्यसको प्रतिकारमा आफ्नो कदमको घोषणा गरेको छ।
आगामी सोमबारदेखि लागू हुने गरी चीनले अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यास उत्पादनहरूमा १५ प्रतिशत भन्सार अनि कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत भन्सार लगाउने जनाएको छ।
त्यस्तै, उच्च गुणस्तरको प्राविधिक वस्तु उत्पादनमा प्रयोग हुने केही महत्वपूर्ण दुर्लभ खनिज पदार्थहरूको अमेरिका निर्यातमा पनि प्रतिबन्ध लगाउने भएको छ। त्यसदेखि बाहेक चिनियाँ बजार नियामकले अमेरिकी कम्पनी गुगलविरूद्ध प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भनेर जाँच सुरू गरेको पनि बताएको छ। चीनमा गुगल ब्लक गरिएको छ। यो कदमले भने उसलाई चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न पनि अप्ठ्यारो पार्नेछ।
ट्रम्पले आजदेखि लागू भएको भन्सार महसुल सुरूआती मात्रै भएको भन्दै आगामी दिनमा भन्सार दर अझै बढाउने संकेत गर्दै आएका छन्।
उनको पहिलो कार्यकालमा लागू भए अनुसार अहिले पनि धेरै चिनियाँ उत्पादनहरूमा १० वा २५ प्रतिशत भन्सार लगाइँदै आएको छ।
मंगलबारदेखि हरेक वर्ष अमेरिकाले चीनबाट किन्ने चार खर्बभन्दा बढी मूल्यका वस्तुहरूमा थप १० प्रतिशत शुल्क थपिएको हो।
सोमबार ट्रम्पले अर्को २४ घण्टाभित्र चिनियाँ नेता सि चिनफिङसँग फोनमा कुरा गर्ने योजना रहेको बताएका थिए। तर विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र भएका देशका सरकार प्रमुखबीच कहिले कुरा हुन्छ भनेर अहिलेसम्म यकिन भएको छैन।
अमेरिकाले लगाएको अतिरिक्त १० प्रतिशत भन्सार दर लागू भएपछि चीनले पनि आफ्नो जबाफी कारबाही घोषणा गरेको छ।
ट्रम्पले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भनेका थिए। चीनलाई भने बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई बेचेको आरोप लगाएका थिए।
क्यानडा र मेक्सिकोले उनको सीमा सुरक्षा र लागूऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भनेपछि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका छन्। तर चीन विरूद्धको कदम भने उनले रोकेनन्। त्यसपछि चीनले पनि आफ्नो जबाफी कदम चालेको हो।
ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आजदेखि लगाउने भनेको २५ प्रतिशत भन्सार किन रोके?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आज देखि लगाउने घोषणा गरेको २५ प्रतिशत भन्सार महसुल ३० दिन नलगाउने भएका छन्।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने शनिबार घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।
उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भनेका थिए।
अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागूऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भने पछि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका हुन्।
यसले व्यापार युद्धमा धकेलिन लागेको उत्तर अमेरिकालाई केही दिनको राहत भएको छ। क्यानडा र मेक्सिको मात्रै नभएर अमेरिकाकै आर्थिक वृद्धिमा ठूलो असर पार्ने र मूल्यवृद्धि गराउने खतरा हालका लागि टरेको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका छिर्नबाट रोक्न १० हजार सैनिक खटाउने भनेपछि ट्रम्पले भन्सार लगाउने कदम रोकेका हुन्। जबाफमा अमेरिकाले पनि मेक्सिकोमा आफ्नो शक्तिशाली हतियार जानबाट रोक्न प्रतिबद्धता जनाएको छ।
ट्रम्पको पहिलो कार्यकालमा पनि भन्सारबाट जोगिन मेक्सिकोले अमेरिका सँगको सीमामा १५ हजार सैनिक पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि सामाजिक संजाल एक्समा सोमबार पोस्ट गर्दै भन्सार महसुलमा रोक लागेको बेलामा अमेरिकी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो सरकारले फेन्टनिल नियन्त्रण गर्न एक जना अधिकारी नियुक्त गर्ने र मेक्सिकोका लागु पदार्थ पैठारी गर्ने गिरोहहरूलाई आतंकवादी समूह भनेर सूचीबद्ध गर्ने पनि भनेका छन्।
आज देखि लागु हुने गरी मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने धम्की दिए पछि विश्व बजारमा हलचल भएको थियो। अमेरिकाकै सेयर बजारमा पनि गिरावट आएको थियो। सेयर बजारमा ओरालो लागे आफ्नो लोकप्रियतामा पनि ह्रास आउने भनेर सचेत ट्रम्पले त्यसै कारण आफ्नो कदम रोकेको मानिएको छ।
क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउँदै आएका ट्रम्पको हेपाहा व्यवहार र पछिल्लो अमेरिकी कदमसँगै क्यानडामा अमेरिका विरोधी राष्ट्रवादी लहरको उभार आएको विभिन्न मिडियाले लेखेका थिए।
ट्रम्पलाई जवाफ दिँदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशतसम्म भन्सार महसुल लगाउने घोषणा गरेका थिए।
अमेरिका र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गएपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ट्रुडोले १५५ अर्ब क्यानेडियन डलर (१०७ अर्ब अमेरिकी डलर) बराबरका अमेरिकी सामानहरूमा भन्सार महसुल लगाउने घोषणा गरेका थिए।
मेक्सिकोले पनि ट्रम्पको कदमको कडा जबाफ दिने भनेको थियो।
उनले सनकको भरमा घोषणा गरेको भन्सारको अमेरिका भित्रै व्यापक विरोध भएको थियो।
अमेरिकी लगानीकर्ता, अर्थशास्त्रीहरू र केही रिपब्लिकन सांसदले समेत विरोध गरेका छन्। ट्रम्पको रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले उनको कदमलाई सबभन्दा मूर्खतापूर्ण व्यापार युद्ध भनेर सम्पादकीय लेखेको थियो।
ट्रम्पले क्यानडाबाट कच्चा तेल र अटो पार्ट्सदेखि मेक्सिकोको एभोकाडो र रास्पबेरीसम्म सयौं अर्ब डलरको आयातमा भन्सार लगाउने आक्रामक कदमपछि अमेरिकीहरू वास्तवमा उनको लक्ष्य के हो भनेर अचम्ममा परेका थिए।
केन्टकीका सिनेटर ८३ वर्षीय मिच मेक-कनेलले छिमेकी र व्यापार साझेदार मुलुकहरूको वस्तु आयातमा भन्सार लगाउने ट्रम्पको नीतिको आलोचना गरेका थिए।
'किन सहयोगी मुलुकहरूसँग व्यापार युद्ध गर्नुपर्यो? यसको मूल्य त अमेरिकी नागरिकहरूले नै त चुकाउनुपर्ने हो,' विगतमा लामो समयसम्म सिनेटमा रिपब्लिकन पार्टीका नेता रहेका मेक-कनेलले भनेका थिए।
केन्टकीबाटै निर्वाचित अर्का रिपब्लिकन सिनेटर रान्ड पाउलले भनेका थिए, 'व्यापारमा कर लगाउने मतलब कम व्यापार र उच्च मूल्य हुनेछ।'
नेसनल एसोसिएसन अफ म्यानुफ्याक्चरर्सको प्रमुख जे टिमन्सले यसले अमेरिकी रोजगारीलाई जोखिममा पारेको बताउँदै भनेका थिए, 'यसको प्रभाव गम्भीर हुनेछ।'
एक घर निर्माण गर्ने राष्ट्रिय समूहले भन्सारले आवासीय निर्माणलाई ढिलो पार्ने खतरा ल्याउनेछ भनेको थियो।
अमेरिकी इन्धन उत्पादकहरूले यसले इन्धनको मूल्य वृद्धि हुन सक्छ भनेको थियो।
उता औषधि उत्पादकहरूले यसले औषधिको अभाव बढाउन सक्ने भनेर सचेत गराएका थिए।
अमेरिकी कृषकको पैरवी गर्नेहरूले यसको भार अमेरिकी किसान र ग्रामिण समुदायमा पर्ने बताएका थिए।
ट्रम्पले चुनावी अभियानताका नै सबै देशका उत्पादनमा भन्सार लगाउने बताउँदै आएका थिए। तर प्राय: सबैले त्यसलाई अरू देशसँग वार्तामा बसेपछि मोलमलाई गर्ने रणनीति मानेका थिए। तर उनले अमेरिकाले सबभन्दा धेरै व्यापार गर्ने क्यानडा, मेक्सिको र चीनका उत्पादनमा भन्सार लगाउने घोषणा गरेपछि अमेरिकाभित्रै विरोध हुन थालेको थियो। अमेरिकाले ठूलो परिमाणमा व्यापार गर्ने युरोपियन युनियनका वस्तुमा पनि भन्सार लगाउन सक्ने भनेका थिए।
उनको घोषणापछि व्यापारी, विश्लेषक र अर्थशास्त्रीहरूले यसको विरोध गर्दै केही महिनासम्म कायम राखे यसले अमेरिकी आर्थिक वृद्धि घटाउने र मुद्रास्फीति बढाउने भनेका थिए।
अमेरिकी लगानी बैंक र वित्तीय सेवा प्रदायक गोल्डम्यान स्याक्सका अर्थशास्त्रीहरूले क्यानडा र मेक्सिकोमा लगाइएको भन्सार कायम राखियो भने उपभोक्ता मूल्यमा ०.७% सम्म वृद्धि हुने र आर्थिक वृद्धि दर ०.४% ले घटाउने बताएका थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)