अखिल (क्रान्तिकारी) का निवर्तमान पदाधिकारीलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले अस्वीकृत गरेको छ।
उपमहासचिव शक्तिबहादुर बस्नेत नेतृत्वको कार्यदलले ३२ वर्षे उमेर हदका कारण अखिल (क्रान्तिकारी) को प्रतिस्पर्धाबाट बाहिरिएका निवर्तमान पदाधिकारीलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको थियो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकमा पेस भएको प्रस्तावमा अधिकांश पदाधिकारी असहमत देखिए।
गत पुस १६ गते अखिल (क्रान्तिकारी) मा उमेर हद लगाउने कि नलगाउने भनेर निर्वाचन भएको थियो। निर्वाचनमा ३२ वर्षे उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो।
त्यसपछि नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएका पदाधिकारीको व्यवस्थापनका लागि माओवादी केन्द्रले उपमहासचिव बस्नेतको नेतृत्वमा हिमाल शर्मा र अखिल (क्रान्तिकारी) की पूर्वअध्यक्ष पञ्चा सिंहको नेतृत्वमा कार्यदल बनाएको थियो।
कार्यदलले निवर्तमान पदाधिकारीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाएर पार्टी काममा क्रियाशील गराउनुपर्ने सुझाव दिएको थियो। तर माओवादी केन्द्रको पदाधिकारी बैठकमा यो विषयमा सहमति जुट्न सकेन।
‘अहिले उनीहरू जिल्ला, प्रदेश लगायत तहमा काम गर्ने अवस्था छँदैछ। तत्काल पार्टी केन्द्रीय कमिटीको वैकिल्पक सदस्य बनाउनु उपयुक्त देखिँदैन भन्ने नै निष्कर्ष रह्यो। कार्यदलले पेस गरेको सुझाव स्वीकृत भएन,’ एक पदाधिकारीले भने।
माघ १२ गते भएको अखिल (क्रान्तिकारी) को निर्वाचनमा निवर्तमान पदाधिकारीहरू काका समूहका नाममा विजयप्रकाश सापकोटालाई समर्थन गरेका थिए। सापकोटा अखिल (क्रान्तिकारी) अध्यक्ष निर्वाचित भएका थिए। उनी उपमहासचिव बस्नेतनिकट हुन्।
अध्यक्षमा उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई, उपमहासचिव वर्षमान पुननिकट सुदिन पौडेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्रतिस्पर्धामा थिए।
आफूनिकट सापकोटालाई अखिल (क्रान्तिकारी) को निर्वाचनमा अध्यक्ष जिताउन सहयोगी भूमिका खेलेका अखिल (क्रान्तिकारी) का निवर्तमान पदाधिकारीलाई पार्टी वैकल्पिक केन्द्रीय सदस्य बनाउने उपमहासचिव बस्नेतको प्रस्ताव पार्टी पदाधिकारी बैठकबाट अस्वीकृत भएको हो।
यो पनि:
अखिल (क्रान्तिकारी) चुनावले माओवादीमा जन्माएको नयाँ समूह
अखिल (क्रान्तिकारी) को चुनावपछि जनार्दन शर्मा उत्साहित, गरे छुट्टै भेला