अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा भन्सार महसुल लगाउने घोषणा गरेपछि अमेरिकी लगानीकर्ता, अर्थशास्त्रीहरू र केही रिपब्लिकन सांसद समेत आश्चर्यमा परेका छन्।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाएका छन्। चीनबाट आउने वस्तुमा १० प्रतिशत भन्सार महसुल थप्ने घोषणा गरेका छन्।
उनले मेक्सिको र क्यानडालाई अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले भन्सार लगाएको भनेका छन्।
चीनलाई भने बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई बेचेको आरोप लगाएका छन्। तर उनले लगाएको भन्सार कार्यान्वयनमा नआइकनै विश्व बजारमा हलचल आइसकेको छ।
क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउँदै आएका ट्रम्पको हेपाहा व्यवहार र पछिल्लो अमेरिकी कदमसँगै क्यानडामा अमेरिका विरोधी राष्ट्रवादी लहरको उभार आएको विभिन्न मिडियाले लेखेका छन्।
ट्रम्पलाई जबाफ दिँदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशतसम्म भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
अमेरिका र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गएपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ट्रुडोले १५५ अर्ब क्यानेडियन डलर (१०७ अर्ब अमेरिकी डलर) बराबरका अमेरिकी सामानहरूमा भन्सार महसुल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
मेक्सिको र चीनले पनि ट्रम्पको कदमको कडा जबाफ दिने भएका छन्।
उनले सनकको भरमा घोषणा गरेको भन्सारको अमेरिका भित्रै व्यापक विरोध भएको छ।
अमेरिकी लगानीकर्ता, अर्थशास्त्रीहरू र केही रिपब्लिकन सांसदले समेत विरोध गरेका छन्। ट्रम्पको रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले उनको कदमलाई सबभन्दा मूर्खतापूर्ण व्यापार युद्ध भनेर सम्पादकीय लेखेको छ।
ट्रम्पले क्यानडाबाट कच्चा तेल र अटो पार्ट्सदेखि मेक्सिकोको एभोकाडो र रास्पबेरीसम्म सयौं अर्ब डलरको आयातमा भन्सार लगाउने आक्रामक कदमपछि अमेरिकीहरू वास्तवमा उनको लक्ष्य के हो भनेर अचम्ममा परेका छन्।
केन्टकीका सिनेटर ८३ वर्षीय मिच मेक-कनेलले छिमेकी र व्यापार साझेदार मुलुकहरूको वस्तु आयातमा भन्सार लगाउने ट्रम्पको नीतिको आलोचना गरेका हुन्।
'किन सहयोगी मुलुकहरूसँग व्यापार युद्ध गर्नुपर्यो? यसको मूल्य त अमेरिकी नागरिकहरूले नै त चुकाउनुपर्ने हो,' विगतमा लामो समयसम्म सिनेटमा रिपब्लिकन पार्टीका नेता रहेका मेक-कनेलले भनेका छन्।
केन्टकीबाटै निर्वाचित अर्का रिपब्लिकन सिनेटर रान्ड पाउलले भनेका छन्, 'व्यापारमा कर लगाउने मतलब कम व्यापार र उच्च मूल्य हुनेछ।'
नेसनल एसोसिएसन अफ म्यानुफ्याक्चरर्सको प्रमुख जे टिमन्सले यसले अमेरिकी रोजगारीलाई जोखिममा पारेको बताउँदै भने, 'यसको प्रभाव गम्भीर हुनेछ।'
एक घर निर्माण गर्ने राष्ट्रिय समूहले भन्सारले आवासीय निर्माणलाई ढिलो पार्ने खतरा ल्याउनेछ भनेको छ।
अमेरिकी इन्धन उत्पादकहरूले यसले इन्धनको मूल्य वृद्धि हुन सक्छ भनेको छ।
उता औषधि उत्पादकहरूले यसले औषधिको अभाव बढाउन सक्ने भनेर सचेत गराएका छन्।
अमेरिकी कृषकको पैरवी गर्नेहरूले यसको भार अमेरिकी किसान र ग्रामीण समुदायमा पर्ने बताएका छन्।
ट्रम्पले चुनावी अभियानताका नै सबै देशका उत्पादनमा भन्सार लगाउने बताउँदै आएका थिए। तर प्राय: सबैले त्यसलाई अरू देशसँग वार्तामा बसेपछि मोलमलाई गर्ने रणनीति मानेका थिए। तर उनले अमेरिकाले सबभन्दा धेरै व्यापार गर्ने क्यानडा, मेक्सिको र चीनका उत्पादनमा भन्सार लगाउने घोषणा गरेपछि अमेरिकाभित्रै विरोध हुन थालेको छ। अमेरिकाले ठूलो परिमाणमा व्यापार गर्ने युरोपियन युनियनका वस्तुमा पनि भन्सार लगाउन सक्ने भनेका छन्।
उनको घोषणापछि व्यापारी, विश्लेषक र अर्थशास्त्रीहरूले यसको विरोध गर्दै केही महिनासम्म कायम राखे यसले अमेरिकी आर्थिक वृद्धि घटाउने र मुद्रास्फीति बढाउने भनेका छन्।
अमेरिकी लगानी बैंक र वित्तीय सेवा प्रदायक गोल्डम्यान स्याक्सका अर्थशास्त्रीहरूले क्यानडा र मेक्सिकोमा लगाइएको भन्सार कायम राखियो भने उपभोक्ता मूल्यमा ०.७% सम्म वृद्धि हुने र आर्थिक वृद्धि दर ०.४% ले घटाउने बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)