२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा घनश्याम भूसालले रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई तत्कालीन कांग्रेस-माओवादी-समाजवादी गठबन्धनको साथ थियो।
करिब ३ महिनाको आन्तरिक परामर्शपछि चुनाव जितिन्छ भन्ने निष्कर्षमा पुगेर नै भूसालले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। तर परिणाम उनको अनुकूल आएन। भूसाल एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भए।
भूसाललाई लागेको थियो, चुनाव त म जितिहाल्छु, जितेपछि तीन टुक्रा (एमाले, माओवादी र एकीकृत समाजवादी) भएको नेकपालाई फेरि जोड्ने भूमिकामा हुन्छु।
चुनाव हार्दा उनको राजनीतिक धरातल यति भासियो, तीन दललाई जोड्ने त के कुरा, आफू उभिने ठाउँसम्म रहेन।
निर्वाचन परिणाम प्रतिकूल भएपछि के गर्ने भन्नेमा भूसाल ठूलो अलमलमा परे। दशकौंपछि पहिलो पटक उनीसँग पार्टी थिएन वा उनी कुनै पार्टीको सदस्य थिएनन्।
त्यस चुनावमा अनुकूल परिणाम नेकपा एकीकृत समाजवादीको पनि आएन। समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड पनि कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्नबाट चुक्यो।
समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि आफ्नो पार्टीको चिन्ताले झ्याप्पै छोप्यो। देशभरिका कार्यकर्ताको मनोबल गिरेको थियो। छोटो समयमै पार्टीको उपादेयता र भविष्यमाथि प्रश्न उठेको थियो। भूसाललाई ल्याउन पाए पार्टी र कार्यकर्तालाई थोरै भए पनि मनोवैज्ञानिक राहत हुन्थ्यो, आफूलाई सहारा हुन्थ्यो भन्ने नेता नेपाललाई लाग्यो।
परिस्थिति यस्तो थियो — भूसाल र नेपाल एकअर्कालाई तत्कालको राहत चाहिएको थियो, दीर्घकालको सहारा चाहिएको थियो।
निर्वाचन परिणामपछिको संक्रमणकाल समाजवादीमा भूसाललाई भित्र्याउने उपयुक्त मौकाका रूपमा नेपालले बुझे। उनले भूसालसँग संवाद गर्न केन्द्रीय सदस्य उमेश शर्मा बजगाईंलाई जिम्मेवारी दिए। एक महिना पर्याप्त छलफल भएपछि अध्यक्ष नेपालका तर्फबाट भूसाललाई औपचारिक रूपमै पार्टी प्रवेशको निम्तो सहित चिठी गयो।
प्रतिउत्तरमा भूसालले सोधे — समाजवादी आन्दोलनमा पार्टी कसरी अघि बढ्छ?
फेरि नेपालले भूसाललाई पत्र पठाए। पार्टी निर्माण र आन्दोलनबारे लामै व्याख्या गरे। अन्तिममा लेखे — तपाईं तुरून्तै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुपर्यो।
भूसाल २०७९ पुस २९ गते नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरे। २०७९ चैत ५ गते उनी सो पार्टीका महासचिव भए। त्यसयता उनले सबभन्दा धेरै समय कहीँ बिताएका छन् भने त्यो उनकै पार्टी कार्यालय आलोकनगरमा हो।
उनका छलफल र चिन्तन पार्टी निर्माणमै केन्द्रित छ, उनी अक्सर आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूको मनस्थिति बुझ्नमै व्यस्त छन्। तर परिणाम उनले चाहेझैं आइरहेको छैन।
उनमा एक किसिमको बेचैनी, छटपटी र हुटहुटी बढिरहेको छ। त्यसमाथि एकीकृत समाजवादीभित्रको 'राजनीति' र 'दाउपेच' ले पनि उनलाई थल्याएको छ। भोलिको बाटो झनै दुरूहपूर्ण बनेको छ।
भूसाल एकीकृत समाजवादीमा गएपछि तुलनात्मक रूपमा उनलाई सहयोग गर्ने अनेरास्ववियु र युवा संघ नेपालका अध्यक्षद्वय थिए। तर उनीहरू दुवै जनाले आ-आफ्नो संगठनमा खुलेर काम गर्न पाएनन्। युवा संघविरूद्ध त समानान्तर कमिटी घोषणा नै भयो। अन्ततः अध्यक्ष नेपालले उनीहरू दुवैलाई अन्तरपार्टी निर्देशनबाटै पदमुक्त गरिदिए, भूसाललाई थाहासम्म दिएनन्। यसमा पनि भूसालले खुलेर विरोध गर्न सकेका छैनन्।
हामीले यही सन्दर्भ जोडेर भूसाललाई प्रश्न गर्यौं — दलहरूका बहुआयामिक रोगबारे तपाईं जसरी निर्मम रूपमा भन्नु हुन्छ, त्यो रोग त तपाईंहरूको पार्टीमा झन् ठूलो छ नि?
उनले यसमा असहमति जनाएनन्।
उनको बुझाइमा नेकपा एकीकृत समाजवादी जसरी र जुन परिस्थितिमा बन्यो, त्यसले पनि पार्टीलाई एक हिसाबले जकडेको छ।
भूसालकै शब्दमा भन्दा, यो पार्टी इतिहासलाई अगाडि राखेर वा कुनै गहिरो विचार वा सिद्धान्त तय गरेर बनेको थिएन। एमाले अध्यक्ष केपी ओली विरूद्ध खडा भएकाहरू मध्येको एउटा समूहले निर्माण गरेको पार्टी हो एकीकृत समाजवादी। केबल ओलीको विरूद्ध बनेको भएकाले संसद विघटनको विषय सकिएसँगै दलको एजेन्डा पनि सेलाएको छ। एकीकृत समाजवादी पार्टी किन चाहियो भन्ने प्रश्नको बलियो उत्तर यो दल आफैले भेट्न सकेको छैन।
'इतिहासको हिसाब चुक्ता गर्नेबाट प्रेरित भएर हामीले पार्टी बनाएका थिएनौं। हामी एमालेबाट छानिएर आएका थिएनौं। कति त ओलीको पक्षमा भएकाहरू पनि थिए। एउटा निर्दिष्ट संकल्पबाट प्रशिक्षित जमात आएन,' भूसालले भने, 'नारा लाउँदा आन्दोलनको पुनर्गठन र रूपान्तरण भन्यौं तर कांग्रेस र माओवादीको छहारीमा बस्यौं।'
अहिले त्यो छहारीको उपादेयता सकिएको र दलका लागि नयाँ अवसर आएको उनले दाबी गरे।
'स्थायी कमिटीबाट आन्दोलनद्वारा पार्टी निर्माण भन्ने नीति पारित गरेका छौं,' उनले भने।
सो आन्दोलनको नेतृत्व भूसालले नै गर्ने निर्णय स्थायी कमिटीले गरेको छ। तर त्यसले कुनै लय वा गति समातेको छैन। एकीकृत समाजवादीको पछिल्लो महाधिवेशनयता त चुनौती थपिएको छ।
भूसाल चाहन्थे — गत असारमा भएको महाधिवेशनबाट अध्यक्ष नेपालले पार्टीको नेतृत्व छाडून्।
उनले नेपालसँग यसबारे गम्भीर मन्थन पनि गरे।
'छोराछोरी जति ठूला भए पनि आमाबुबालाई गएर मेरो बिहे गरिदिनू भन्न लजाउँछन्। मेरो पनि त्यस्तै हो। तपाईंको ठाउँमा म नेतृत्व गर्छु भन्न पनि लजाउनैपर्ने भयो। तर अरू पार्टीहरूका लागि पनि सन्देश हुन्छ भनेर मैले तपाईं राष्ट्रिय नेता बन्नुहुन्छ, पार्टीको नेतृत्व छोडिदिनुस् भनेँ,' भूसालले भने।
अध्यक्ष नेपालले सोचेर फेरि छलफल गर्ने जबाफ दिए। तर दुई दिनपछि नै सामाजिक सञ्जालमा नेपाल पक्षका नेताहरूले भूसालको आलोचना गर्न थाले। भूसालले संकेत बुझे र झस्किए।
महाधिवेशन अगाडिको एउटा समय एकीकृत समाजवादीको सचिवालयमा भूसालको पक्षमा राम्रो माहोल बनिसकेको थियो। सचिवालयमा रहेका नेताहरूमध्ये बेदुराम भुसाल र गंगालाल तुलाधर मात्रै नेपालको पक्षमा देखिएका थिए।
जब भूसालले खुलेरै नेतृत्वको दाबी गरे र नेपाललाई नेतृत्व छोडिदिन प्रस्ताव गरे, नेपाल दबाबमा परे। पार्टीभित्रबाट मात्र होइन, बाहिरबाट पनि दबाब आयो। त्यस बेला प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत भूसाललाई बोलाएर एकीकृत समाजवादीको नेतृत्व दाबी नगर्न सुझाए। त्यस बेला नेपाल र भूसालबीच निकै समय दोहोरो कुरासम्म भएन। भूसालले नेपालले गरेको फोन नै उठाउन छोडिदिए। त्यही महाधिवेशनले नेपाललाई अध्यक्ष र भूसाललाई महासचिव बनायो।
त्यसपछि भूसाल र नेपालका एजेन्डाहरू धेरै पटक मिलेनन्। अहिले पनि कतिपय कुरा मिलेका छैनन्।
पछिल्लो समय भूसालले ल्याएको कार्य विभाजन नेपालले लगभग सबै परिवर्तन गरिदिए। महासचिवका हैसियतमा भूसालले मागेको संगठन विभागको नेतृत्व समेत माधव नेपालले दिएनन्। भूसालले देखेको समाजको संकट र त्यसको मोचनको एजेन्डा एकीकृत समाजवादीका धेरैलाई चासो छैन। हिजो एमालेमा रहँदा, त्यहाँ पनि धेरैलाई चासो थिएन। तर भूसाल यो संकटको ठिक ढंगले पहिचान गर्ने र त्योसँग लड्ने कुरामा अहिले पनि दृढ छन्।
'मेरो पुस्ताको राजनीति र इतिहास भनेको संकटकै हो। अहिले संकटहरू खप्टिँदै आएका छन्। गणतन्त्रको जग झन् झन् मक्किँदै गइरहेको छ,' भूसालको निष्कर्ष छ।
एकपछि अर्को राजनीतिक परिवर्तन भए पनि संकटको जग भत्किन सकेको छैन र अहिले झन् अनिश्चित हुँदै गएको छ भन्ने उनको कुरामा एक हदसम्म सहमत हुन सकिएला। त्यसको कारण खोतल्दै जाँदा राजनीतिको जुन दुष्चक्रमा पुगिन्छ, त्यहाँ लामो समयदेखि भूसाल स्वयं पनि छन्।
२०७४ को निर्वाचनपछि उनले एउटा सकारात्मक संकेत देखेका थिए। संविधानका व्यवस्था कार्यान्वयन गर्न कम्युनिस्टहरूले प्राप्त गरेको झन्डै दुई-तिहाई मत आर्थिक विकासको बाटो कोर्न पर्याप्त हुने बुझाइ उनको थियो।
'संविधान बनेपछि गणतन्त्रलाई संस्थागत गर्न इतिहासको हिसाबकिताब चुक्ता गर्नुपर्ने थियो। त्यसका लागि हाम्रो या कांग्रेसको बहुमत आवश्यक हुन्थ्यो,' उनले भने, 'जनताले बुझेका पनि हुन्। हाम्रो बहुमत आयो। तर हामीले भनेझैं भएन। बरू झन् बिग्रियो।'
२०७४ मा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचन लडे। परिणाम उनीहरूको अनुकूल आएपछि दुई पार्टीलाई जोडेर एउटै नेकपा बनाए। तर दुई पार्टीको एकता मूलभूत रूपले तत्कालीन अध्यक्षद्वय ओली र प्रचण्डको सत्ता बाँडफाँटमा केन्द्रित भयो। उनीहरूले इतिहासमा प्राप्त भएको उपलब्धिका निम्ति काम गर्नुपर्छ भनेर सोचेनन्। फलस्वरूप सत्ता बाँडफाँट नै नमिलेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरे र नेकपा फुट्यो। यसै बेला भूसालले गणतन्त्रको उपलब्धिमाथि प्रहार हुन थालेको निर्क्यौल निकाले।
'संसद विघटन र त्यसअघि, पछिको परिस्थितिले गणतन्त्रका सारा सपनामाथि आक्रमण गर्न सुरू गर्यो। जनतामा उकुसमुकुस झन् बढी हुन थाल्यो,' भूसाल भन्छन्, 'यद्यपि त्यसका कारण थिए। त्यो खोज्न फेरि इतिहासमा जानुपर्छ।'
भूसालले आन्दोलनको निकै सुरूदेखिकै कुरा उधिन्न खोजे पनि। तर उनले पछिल्लो पटक संकेत गर्न खोजेको इतिहास त्यति पुरानो भने होइन। २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनमा भूसालले ड्राफ्ट गरेको दस्तावेज पारित भयो। नेतृत्वमा भने त्यो दस्तावेज बोक्ने व्यक्ति निर्वाचित भएनन्, फरक समूहबाट केपी शर्मा ओली आए।
निर्वाचनपछिको उद्घाटन बैठकमा ओलीले भनेका थिए, 'साथीहरूले ल्याएको राजनीतिक दस्तावेज पारित भएको छ, ठीकै त होला नि!'
दस्तावेज ठीक छ कि छैन, ओलीले फर्केर हेरेनन्। पार्टीमा त्यो दस्तावेजको चर्चासम्म पनि भएन।
नवौं महाधिवेशनले पारित गरेको दस्तावेजमा 'कमाएर खान्छु, कमाएको कर तिर्छु, मैले कमाएको कर राज्यले सीमान्तकृत वर्गको हितमा लगाउँछ कि लगाउँदैन भनेर निगरानी गर्छु' भन्ने उल्लेख थियो।
अहिलेकै ठाउँबाट पछाडि फर्केर हेर्दा भूसाललाई लाग्छ — एमाले नेतृत्वले राष्ट्रिय नेता बन्ने अवसर गुमाएको त्यसै बेलादेखि हो।
'एकपटक प्रदीप गिरिले जुन समाजलाई नायक चाहिन्छ, त्यो अभागी समाज हो भनेका थिए। अहिले उनको भनाइ झन् साँचो भएको छ। राष्ट्र भनेको आम रूपमा जनता हो। राष्ट्रले नेता पाएन। नेता गुटले पायो,' भूसालको यो तिक्तता समकालीन राजनीतिका सबै दल र त्यसका नेतृत्वप्रति हो।
अलि धेरै चाहिँ उनले लामो समय काम गरेको एमालेसँगै हो।
भूसाल आधा शताब्दीदेखि निरन्तर राजनीतिमै छन्। कहिले नेता बनाउन र कहिले बन्न उनले अथक प्रयास गरेका छन्। उसो भए उनी चाहिँ किन नेता बन्न सकेनन्, किन सफल हुन सकेनन्?
यो प्रश्नपछि उनी एकछिन मौन रहे। लामो सुस्केरा हाले र भने, 'हामी रोमाञ्चक सपनाका टुहुराहरू भयौं!'
अनि केही बेर सोचेर थपे, 'हामी त खम्पा विद्रोहीजस्तै भयौं। चीनविरूद्ध सिआइए (अमेरिकी जासूसी संस्था) खम्पाहरूलाई कहाँ कहाँबाट जोडेर लडायो। अन्तिममा चीन र अमेरिका मिलेपछि खम्पाहरूको बिल्लीबाठ भयो।'
कुराकानी क्रममा उनी आशावादीभन्दा बढी निराश नै सुनिए। के उनको बुझाइमा सबै परिवर्तनका सबै ढोका बन्द भएका हुन् त?
उनले भने, 'रोमाञ्चक सपनाका टुहुराहरू हौं के हामी। गणतन्त्रको सपना समानताको सपना थियो। जुन सपनाले हामीलाई जन्माएको थियो, त्यो कतै मरेको हो कि जस्तो छ। राजनीतिमा जसले इमानदार प्रयत्नहरू गरे, उनीहरूको नेतृत्व नै समस्याग्रस्त भयो। यसले गर्दा हाम्रा प्रयत्नहरू पूरा भएनन्।'
भूसालले नबुझेका पनि होइनन् — हरेक पिँढीका सबै सपना पूरा हुँदैनन्। त्यसका सीमा हुन्छन्। एउटै पार्टीमा पनि सबैले एकै हिसाबले सोच्दैनन्।
सायद उनको पीडा के हो भने, संघर्ष गर्दा आफूजस्तै देखिने 'कमरेड' सत्तामा पुगेपछि बदलिएको निकै बेहोर्नुपर्यो।
उदाहरणका निम्ति, एमालेको दसौं महाधिवेशन वरिपरि नै जाऔं।
२०७८ असोजमा एमालेले ललितपुरको गोदावरीमा विधान सम्मेलन गर्यो। विधान सम्मेलनको केही समयअघि ओलीसँग असहमत रहेका दस जना नेताले उनीसँग सहमति गरेर एमालेमै बस्ने निधो गरे। आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको र एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षसहित उनीहरूले सहमति गरेका थिए। तर लगत्तै भएको विधान सम्मेलनमा दस जनामध्ये कसैलाई पनि कुनै पनि किसिमको भूमिका भएन।
त्यसपछिको स्थायी कमिटीको बैठकमा एमालेका तत्कालीन उपमहासचिव भूसालले 'हामी आएका छौं तर कहीँ कसैलाई ठाउँ दिनुभयो' भनेर अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए। उनको प्रश्नमा नेता र अहिलेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले पनि सही थापेका थिए।
लगत्तैको बैठकमा अध्यक्ष ओलीले दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजक उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई बनाए। संयोजक भने रामबहादुर थापा 'बादल' थिए। त्यसपछिको अर्को बैठकमा पाण्डेले भूसालले उठाउँदै आएको 'दलाल पुँजीवाद' को घनघोर विरोध गरे। पाण्डे एमालेमा तुलनात्मक रूपमा खुला बजारका पक्षधर हुन्।
भूसालले एमालेमा आफ्ना कुरा राख्न र प्रश्न गर्न छाडेनन्। उनी बोल्दै गए, दस भाइमध्ये अरूका प्रश्नहरू भने क्रमशः मुर्झाउँदै गए। २०७८ मंसिरमा भएको १० औं महाधिवेशनसम्म पुग्दा त भूसाल र उनका अति मिल्ने साथी योगेश भट्टराईको पनि बाटो अलग भइसकेको थियो।
२०७९ को स्थानीय तह निर्वाचनमा एमालेले राम्रो गर्न सकेन। यसरी एमाले घट्नुको कारक अध्यक्ष ओली नै हो भनेर भूसाल बोले। त्यसपछि एमालेमा उनको टेक्ने भुइँ र समाउने हाँगो पाउन कठिन भयो।
'मेहनतका हिसाबले आफूसँग हुँदा एकथरी रहेका साथीहरू सत्तामा पुगेपछि अर्कैथरी भएर निस्किए। नेतृत्व पनि गिरोह पाल्नका लागि चलखेल गर्न थाल्यो। सबैको ध्यान पैसामै हुन थाल्यो। मैले भनेको दलाल पुँजीवाद यही त हो नि,' भूसालले भने।
यसकै कारण पनि नेताहरूलाई कार्यकर्ताले अविश्वासका साथ हेर्न थालेका छन्। भूसाल यसबारे पनि चिन्तित छन्।
'नेतृत्वले हामीलाई ढाँट्दैन, झुट बोल्दैन भन्ने हुनुपर्थ्यो। तर त्यसो हुन सकेन। पार्टीहरूको नेतृत्व गिरोहको नेतृत्वमा परिणत भए। अनि जनता र कार्यकर्ताले विश्वास गर्न छाडे,' भूसाल भन्छन्, 'यो आजको गणतन्त्रको भयंकर ठूलो समस्या हो।'
उनले आफूलाई यस्तै कुराहरूले ऐँठन परिरहने र उकुसमुकुस हुने बताए।
यसअघिका आन्दोलनहरूले व्यवस्था बदल्दै ल्याएको र यीमध्येको राम्रो व्यवस्था गणतन्त्रको अभ्यास रहेको भूसालको भनाइ छ। तर दलहरू आफै रूपान्तरित नहुँदा र उनीहरूले समाज परिवर्तनको नेतृत्व गर्न नसक्दा समाज नै उकुसमुकुसमा परेको उनको तर्क छ।
'पार्टीहरूलाई नै रूपान्तरण गर्ने पहलकदमी कहीँ न कहीँबाट ढिलो-चाँडो सुरू हुन्छ हुन्छ। यस्तो हस्तक्षेप नहुँदासम्म हामी यो उकुसमुकुसमै बाँच्नुपर्छ,' भूसाल केही आशावादी देखिए।
हुन त उनले आफ्नै पार्टी एकीकृत समाजवादीमा त्यस्तो रूपान्तरणको नेतृत्व गर्न सकेका छैनन्। स्थापनाकालको पृष्ठभूमिका कारण होला, उक्त पार्टीमा उनको धेरै कुरा सुनिएको छैन, उनले धेरै कुरा गर्न सकेका छैनन्।
एमालेको फुट र समाजवादीको स्थापनासम्मको सकसमा भूसाल स्वयं पनि कताकता अलमलिए, बरालिए। उनी आज दलभित्र कम प्रभावी हुनुमा त्यसको पनि प्रभाव परेको छ।
तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गरेपछि उनको निर्णयलाई अस्वीकार गर्ने पक्षहरू एक जुट भए। एमालेभित्र संसद विघटनको प्रखर विरोध गर्नेमा भूसाल अग्रपंक्तिमा थिए। संसद पुनर्स्थापनाका लागि कांग्रेस, माओवादीसहित नेपालको नेतृत्वमा एमालेका विद्रोही सांसदहरू एक ठाउँ उभिने परिस्थिति निर्माणका लागि पनि भूसालले सक्रिय रूपमा काम गरेका थिए।
संसद पुनर्स्थापनासँगै नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भयो। नेपालसँगै रहेर संसद विघटनविरूद्ध एमालेमा संघर्ष गरेका भूसालसहितका दस जना प्रभावशाली नेता एकीकृत समाजवादीमा गएनन्। त्यसले यो दललाई सुरूमै कमजोर बनायो। त्यसपछि पनि सो पार्टी कहिले कांग्रेस र कहिले माओवादी केन्द्रको छायामा रह्यो। एकीकृत समाजवादीले आफूलाई स्वतन्त्र पार्टीका रूपमा उभ्याउनै सकेन।
'संविधानलाई अवरूद्ध गर्ने बाटोबाट जोगाउन हामीले बलिदानी दियौं। त्यसको फाइदा कांग्रेसले लियो। एक ढोकाबाट ओलीलाई रोक्यौं, अर्कोबाट कांग्रेस झन् ठूलो भएर आयो,' भूसालले भने, 'अहिले बल्ल ओलीजीको प्रतिगमन विरूद्ध लाग्दा जुन उत्तरदायित्व थपिएको थियो, त्यसबाट हामी मुक्त भएका छौं।'
उनकै शब्दमा — त्यो प्रतिगमनको दायित्वबाट उनीहरू मुक्त भए पनि अगाडिको बाटो समाउन भने एकीकृत समाजवादी वा भूसाल स्वयंले सकेका छैनन्।
गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकमा भूसालले अबको कार्यभारसहितको राजनीतिक दस्तावेज पेस गरे। उक्त प्रस्ताव सर्वसम्मत पारित भयो। बैठकमा सबै नेताहरूले अबको बाटो यही हो भनेर प्रंशसा समेत गरे।
दस्तावेजको प्रशंसा गर्नेमध्येका एक नेतालाई त्यसै दिन राति अध्यक्ष नेपालले फोन गरेर सोधे — त्यो डकुमेन्टमा त्यति धेरै प्रशंसा गर्नुपर्ने के छ त्यस्तो?
नेपालको कुरा सुनेर उनकै पक्षका ती नेता समेत छक्क परे।
यो एउटा सानो उदाहरण मात्रै हो। समयचक्रले भूसाललाई अहिले दिउँसै ऐँठन हुने परिस्थितिमा ल्याएर उभ्याएको छ।
यस्तोमा भूसाल कसरी अघि बढ्लान्? यसको जबाफ स्वयं भूसालले पनि फेला पारेका छैनन्।
समाजवादीले अहिले उनलाई मूल्यांकन तथा आन्दोलन कमिटीको संयोजन गर्ने जिम्मेवारी दिएको छ। उनले यही जिम्मेवारीलाई सदुपयोग गर्ने सोचेका छन्। आन्दोलन र संघर्ष गरेरै दलहरू स्थापित हुन्छन् र भएका छन् भन्ने उनको बुझाइ छ। त्यसैले पनि जनताको पक्षबाट आन्दोलन गर्नुपर्छ र यो आन्दोलनकै समय हो भन्ने उनलाई लाग्छ।
'सत्ताको नालायकी र सडकको अराजक पपुलिस्ट प्रवृत्तिभन्दा फरक भएर हामी जान्छौं। सुरूमा हामीलाई मान्छेहरूले पत्याउने छैनन्। खिसिट्युरी गर्नेछन् भन्ने लाग्छ,' उनले भने, 'हामीलाई सुरूमा धेरैले उडाउनेछन्। तर दुई महिना हामी निरन्तर लाग्यौं भने यिनीहरूले नाटक त ठूलै रहेछ भन्लान् नि!'
तर आन्दोलन सजिलो कुरा होइन। यसको प्रभावकारी निरन्तरता झनै कठिन छ।
एकीकृत समाजवादी पार्टी र यसको नेतृत्व कुनै नयाँहरूको जमघट होइन। त्यस पार्टीमा भएका लगभग सबैजसोको नाडी जनताले छामिसकेका छन्। उनीहरूसँग जनताको कति अपेक्षा छ, अनि कतिले समाजवादीको आन्दोलनलाई चासोका साथ हेर्छन्, त्यसमा ठूलो प्रश्न छ। त्यसैले एजेन्डा स्थापित गर्न अतिरिक्त मेहनत गर्नुपर्छ भन्ने भूसालको भनाइ छ।
'पञ्चायत विरूद्धको हाम्रो आन्दोलनमा जनताको केही शंका थिएन। दल वा नेतृत्वमाथि शंका थिएन। गणतन्त्रसम्म आउँदासम्म केही शंका भयो,' भूसालको निष्कर्ष छ, 'अहिले भने आफ्नै कार्यकर्ताले अविश्वासका साथ हेर्ने चरण आएको छ। त्यही भएर हामीसँग वा जोसँग इतिहासको लिगेसी छ भन्छौं, ऊसँग अहिले अतिरिक्त भार पनि छ।'
पार्टीभित्रैका अनेक अप्ठ्यारामाझ के भूसाल अघि बढ्न सक्छन्, उनको दल अघि बढ्न सक्छ — उनको मनमा पनि शंका त पक्कै होला।
'अहिले हामीले चाहेको जस्तै राजनीति भइरहेको छैन भन्ने मेरो निष्कर्ष छ। मनोवैज्ञानिक हिसाबले यो ऐँठनजस्तो नै छ,' भूसालले भने, '५० वर्ष अविभाजित व्यक्तित्वका साथ आफूहरूमाथि जनताको शंका होइन, अपार विश्वासका साथ लडेका सबै मान्छेलाई आजको समयमा मलाई जस्तै ऐँठन भएको त होला नि भनेर सोच्छु।'
उनले अन्तिममा कुराकानीको बिट मारे, 'यो युग अहिलेको पिँढीका क्रान्तिकारीहरूको ऐँठनको युग हो भन्ने लाग्छ।'