नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) की निवर्तमान अध्यक्ष पञ्चा सिंह विद्यार्थीको राष्ट्रिय सम्मेलन हुनु अघिसम्म पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षमै थिइन्।
माओवादी र यसका जनवर्गीय संगठनहरूमा चुनावमार्फत् नेतृत्व छान्ने एजेन्डा उपमहासचिव शर्माले उठाउँदै आएका थिए। सिंहले पनि यही एजेण्डालाई साथ दिइरहेकी थिइन्।
तर गत असोजमा अखिल (क्रान्तिकारी) ले कीर्तिपुरमा राष्ट्रिय सम्मेलन गरे पनि नेतृत्व पाउन सकेन। निवर्तमान अध्यक्ष पञ्चा सिंहले चुनावमार्फत् नै नेतृत्व चयन गर्नुपर्ने अडान राखेकी थिइन्।
यो पनि: अखिल (क्रान्तिकारी) चुनावले माओवादीमा जन्माएको नयाँ समूह
३२ वर्षे उमेर हद लगाउने नलगाउने बहसबीच उमेर हद लगाएर हालै अखिल (क्रान्तिकारी) को चुनावबाट नेतृत्व चयन भयो।
तर यसबीचमा पञ्चा सिंहले भने गुट परिवर्तन गरिन्।
उपमहासचिव शर्मा पक्ष छाडेर उनी उपमहासचिव शक्ति बस्नेततिर लागिन् र उनीहरूले नै हेडक्वार्टरको आधिकारिक उम्मेदवार भन्दै उठाएका विजय सापकोटा अखिल (क्रान्तिकारी) अध्यक्ष निर्वाचित भए।
यो भेउ पाएका उपमहासचिव शर्माले अर्का उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अखिल (क्रान्तिकारी) का अध्यक्षका उम्मेदवारविरूद्ध छुट्टै टिम बनाउन प्रस्ताव नै गरेका थिए। तर शर्माको प्रस्ताव मान्न पुन तयार देखिएनन्, शर्मानिकटले बेग्लै प्यानल खडा गरे।
उपमहासचिव शर्माले माओवादीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने र त्यसका लागि सबै कमिटीका नेताहरू चुनिएर आउनुपर्ने आठौं महाधिवेशनदेखि नै उठाउँदै आएका छन्।
२०७८ को पुसमा भएको आठौं महाधिवेशनमा शर्माले महासचिवमा उम्मेदवारी दिन चाहेका थिए तर महाधिवेशनले अध्यक्षमात्रै टुंगो लगाएर अरू पदाधिकारी पछि छान्ने निर्णय गर्यो। त्यसपछि जनार्दन स्वभाविक रूपमा पछि हटे।
त्यसयता पनि उनले पार्टीमा बारम्बार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यशैली र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाउँदै आएका छन्।
उनले गत साउनमा भएको स्थायी कमिटी बैठकमा फरक प्रतिवेदननै पेस गरे। अध्यक्ष प्रचण्डसँग मतभेद राखिरहेका शर्माले यसपटक विद्यार्थीको निर्वाचनमा पनि प्यानल नै खडा गरे भने शर्मा पक्ष हाबी पनि भयो।
अखिल (क्रान्तिकारी) को अध्यक्षबाहेक पदाधिकारीमा ६० प्रतिशतभन्दा बढी जितेर उपमहासचिव शर्माले 'हेडक्वार्टर'लाई धक्का चर्चा माओवादीभित्र सुनिन्छ। चुनावलगत्तै उनले आफूनिकटका पदाधिकारीको छुट्टै भेला राखेका छन्। गत शुक्रबार काठमाडौंको कलंकीस्थित मेघा ब्यांक्वेटमा शर्माले आफूनिकटका अखिल (क्रान्तिकारी) को भेला गरेका हुन्।
त्यसको अघिल्लो दिन अध्यक्ष प्रचण्डले अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरूलाई खुमलटार बोलाएर बधाई दिएका थिए।
अखिल (क्रान्तिकारी) को चुनावी परिणामले पार्टीभित्र पनि उपमहासचिव शर्माको सामर्थ्य बढेको सन्देश गएको माओवादीका कतिपय नेताहरूको बुझाइ छ।
अखिल (क्रान्तिकारी) को अध्यक्षबाहेक ९ मध्ये ५ उपाध्यक्ष, महासचिव, ९ मध्ये ७ उपमहासचिव र ११ मध्ये ६ सचिव र कोषाध्यक्षमा शर्मा पक्षका उम्मेदवारले जितेका हुन्।
शर्माले शुक्रबार राखेको कार्यक्रममा ६० प्रतिशतभन्दा बढी निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी भएको एक पदाधिकारीले बताए। बधाई तथा शुभकामना दिन शर्माले अनौपचारिक कार्यक्रम राखेको ती पदाधिकारी बताउँछन्।
'हामीले अखिल (क्रान्तिकारी) मा प्यानल नै बनाएर चुनाव लडेकै हौं, त्यही आधारमा बधाई कार्यक्रम राखेका हौं। निर्वाचित अध्यक्षलाई पनि बोलाएका थियौं। उहाँको व्यस्तताका कारण आउनुभएन,' उपमहासचिव जनार्दन पक्षका ती पदाधिकारीले सेतोपाटीसँग भने।
भेलामा उपमहासचिव शर्माले विद्यार्थी संगठनको चुनावले पार्टीमा राम्रो सन्देश गएको बताए।
'अध्यक्षमा परिणाम नआए पनि ओभरल म्यासेज राम्रो गएको छ। उमेर हदबन्दीको विषय यही टिमले उठाएको थियो। त्यो विषयमा त्यतिबेला पनि जित्यो, अहिले पनि जित्यो,' शर्माको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने।
क्रान्तिकारीको चुनावमा 'हेडक्वार्टर' शब्द खुब प्रचार भयो।
उपमहासचिव शर्मानिकट प्यानलबाहेक बाँकी तीनवटै प्यानलले आफूलाई 'हेडक्वार्टर' को समर्थन रहेको प्रचार गरे।
उपदेश यादव, सुदिन पौडेल र विजयप्रकाश सापकोटाले आफू हेडक्वार्ट समर्थित उम्मेदवार रहेको प्रचार गरेका थिए।
विद्यार्थीको चुनावले पार्टी हेडक्वार्टर बदनाम गर्न खोजिएको भन्ने आलोचना पनि सुनिए। यसबारेमा मेघा बैंक्वेटको भेलामा पनि शर्माले चर्चा गरे। 'हेडक्वार्टर भन्ने चर्चा राम्रै भयो। तर हेडक्वार्टर कुनै एउटा गुट होइन, पार्टीको घर हो। घर बन्न सबै पिलर बलियो हुनुपर्छ। त्योमध्येको एउटा बलियो पिलर हाम्रो हो,' शर्माको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने।