नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुने भएको छ।
महाधिवेशनका लागि एक हजार पाँच सय जना महाधिवेशन प्रतिनिधि छन्। यीमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनीत हुन्। १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ।
कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरेअनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ। यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ।
पार्टीमा ११ सदस्यीय पदाधिकारी रहनेछन्। एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहन्छन्।
नेसपा (नयाँ शक्ति) ले मनोनीतबाहेक अरू पदमा सकेसम्म प्रतिस्पर्धा गराउने तयारी गरेको छ। प्रवक्ता कृष्ण शर्माले पार्टी संगठनमा पनि प्रत्यक्ष निर्वाचितको अभ्यास गर्न खोजिएको बताए।
‘नेसपा (नयाँ शक्ति) ले विचारमा नयाँ गर्यो, संगठनमा के गर्यो भन्ने प्रश्न पनि आउँछ, संगठनमा पनि अरू पार्टीहरूले कमै अभ्यास गर्ने गरेको प्रत्यक्ष निर्वाचित गर्न लाग्यौं,’ उनले भने।
अध्यक्षमै हुँदैछ प्रतिस्पर्धा
नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदमा बाबुराम भट्टराईलाई पार्टीका अरू नेताहरूले चुनौती दिने भएका छन्। भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने पक्षमा केही नेताहरूले उम्मेदवारी दिन लागेका हुन्।
नेत्र चापागाईं र किरण थापालगायतले अध्यक्ष पदमा उम्मेदवारी दर्ताको तयारी गरेका छन्। नेपाल समाजवादी विद्यार्थी संगठनका पूर्वअध्यक्ष चापागाईंले नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।
‘हामीले सहभागितामूलक लोकतन्त्र, समावेशी, समानुपातिक र प्रत्यक्ष लोकतन्त्र भनेका छौं। यो कुरा पोखरा विधान अधिवेशनबाट पनि पास भएको छ,’ उनले भने, ‘यो पटक मतदानबाट सबै पदमा नेतृत्व फैसला गर्छौं। अघिल्लो पुस्ताले जहाँसम्म वैकल्पिक राजनीतिलाई ल्याउनुभयो, त्यसलाई धन्यवाद दिँदै यसपटक मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु।’
उनले आफ्नो उम्मेदवारी फिर्ता हुने सम्भावना नरहेको पनि बताए। ‘मेरो उम्मेदवारी फिर्ता हुने सम्भावना छैन,’ उनले भने, ‘सोच विचार गरेरै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ।’
नेसपा (नयाँ शक्ति) मा करिब ३० हजारले पार्टी सदस्यता नवीकरण गरेका छन्। २० जना पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्थाअनुसार कतै निर्वाचत त कतै सर्वसम्मत रूपमा प्रतिनिधि आएका छन्।
‘यी महाधिवेशन प्रतिनिधिहरूसँग भोट मागेर हामी निर्वाचित हुने हो,’ उनले भने।
आफूले जितेमा नेसपा (नयाँ शक्ति) लाई थप सक्रिय र सशक्त बनाउने उनले बताए। ‘जितेछु भने पार्टीलाई झन् राम्रो बनाउँछु, हारेछु भने पनि पार्टीमै थप सक्रियतापूर्वक काम गर्नेछु,’ चापागाईंले भने।
अध्यक्ष भट्टराईले नेसपा (नयाँ शक्ति) बाबुराम भट्टराईको पार्टी भनेर चिनिने गरेको भन्दै अरूले पनि नेतृत्व लिनुपर्ने तर्क गर्दै आएका छन्। बाहिर यसो भने पनि भट्टराई एक कार्यकाल पार्टी अध्यक्ष आफै हुने तयारीमा जुटेका छन्।
‘उहाँ (बाबुराम भट्टराई) को आसय नयाँ पुस्ताले पार्टी अध्यक्ष लिए पनि हुन्छ भन्ने छ तर पार्टीभित्रको ठूलो दबाबचाहिँ एक कार्यकाल भट्टराई अध्यक्षबाट हट्न हुन्न, अझै एक कार्यकाल साथ दिएर मात्रै नयाँ पुस्तालाई छाड्नुपर्छ भन्ने छ,’ पार्टीका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले भने।
पार्टी महाधिवेशनमा अध्यक्ष पदमा भट्टराई अरू उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने देखिएको छ। ‘सबै पदाधिकारीमा स्वच्छ प्रतिस्पर्धा नै हुने देखिन्छ,’ उनले भने।
महासचिवमा को-को आकांक्षी?
महासचिव पदमा धेरै नेताहरूले आकांक्षा देखाएका छन्।
अहिलेका प्रवक्ता कृष्ण शर्मा, आर्थिक नीति तथा योजना विभाग प्रमुख जनक शाह, संगठन विभाग प्रमुख सोनामसिंह स्याङ्तान, नेपाल समाजवादी आदिवासी जनजाति महासंघ प्रमुख जिएस गुरूङ, सुशील रिजाललगायत नेताहरू महासचिव पदका आकांक्षी हुन्।
‘सबै पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ, मलाई पनि साथीहरूले महासचिव उठ्नुपर्छ भन्नुभएको छ तर मैले के उठ्ने निर्णय गरिसकेको छैन,’ प्रवक्ता शर्माले भने।
सचिवमा मानुषी पनि!
नेसपा (नयाँ शक्ति) मा तीन जना सचिव रहने व्यवस्था छ। खसआर्य, आदिवासी जनजाति र महिला गरी तीन सचिव रहने व्यवस्था छ।
‘मानुषी यमी भट्टराईले पनि यही पदका लागि भनेर इच्छा गरिसकेको अवस्था छैन, युवा र महिला पनि भएकोले सचिव हुनुपर्छ भन्ने केही साथीहरूको सुझाव उहाँलाई छ,’ एक नेताले भने।
मानुषी अध्यक्ष भट्टराईकी छोरी हुन्। उनी २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ मा तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिइन्। मानुषीले नेसपा (नयाँ शक्ति) मा प्रचार विभागसमेत हेरिराखेकी छन्।
पार्टीकी नेता सिर्जना रिजाल पनि सचिव पदमा उम्मेदवार हुने तयारीमा रहेको ती नेताले बताए।
नेता हिसिया यमीले भने कुनै पनि पदमा उम्मेदवार हुने आकांक्षा राखेकी छैनन्।
पार्टीका उपाध्यक्षलगायत अन्य पदहरूमा भने अझै को-को उम्मेदवार रहने भन्ने अहिलेसम्म चर्चासमेत चलेको छैन।